अब्दल्ला हाम्डोक सुडानका नयाँ प्रधानमन्त्री नियुक्त

डिसी नेपाल
५ भदौ २०७६ १२:१७

खार्तुम । खार्तुम । सुडानको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका अब्दल्ला हाम्डोकले बुधबार सपथ लिएका छन्। प्रधानमन्त्री हाम्डोकले सार्वभौम परिषदका अध्यक्ष एवं सुडानी सेनापति अब्देल फताह अल–बुरहान समक्ष सपथ लिएका हुन् । मुलुकका प्रधान न्यायाधीश समेतको समुपस्थितिमा राजधानी खार्तुमको राष्ट्रपति कार्यालयमा सपथ ग्रहण समारोह सम्पन्न भएको थियो।

हाम्डोकले विपक्षी फ्रिडम एन्ड चेन्ज एलायन्सबाट छनौट गरिने २० जनालाई मन्त्रिपरिषदमा समावेश गर्नेछन् । नयाँ मन्त्रीहरुले आगामी अगस्ट २८ मा सपथ लिनेछन्। यसअघि अल–बुरहानले संविधान बमोजिम सार्वभौम परिषदको अध्यक्षको सपथ लिएका थिए । सुडानको संक्रमणकालीन सैनिक परिषद (टिएमसी) र विद्रोही फ्रिडम एन्ड चेन्ज एलायन्सबीच हालै सम्पन्न सम्झौता बमोजिम सार्वभौम परिषद ११ सदस्यीय हुनेछ।

उक्त परिषदमा टिएमसीका पाँच जना सैनिक, पाँच जना विद्रोहीका सदस्यहरु र दुबै पक्षको परामर्शमा एक जना सदस्य रहनेछन्। सार्वभौम परिषदको गठन लगत्तै टिएमसी विघटन भएको छ । गत अप्रिल ११ मा पूर्व राष्ट्रपति ओमार अल–बासिर सत्ताच्यूत भएसँगै सेनापतिको अध्यक्षतामा गठित टिएमसीले संक्रमणकालीन व्यवस्थापन गरिरहेको थियो।

खार्तुम विश्वविद्यालयबाट बिएस्सी र बेलायतको म्यान्चेस्टरबाट स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएका हाम्डोकले सन् १९८० को दशकमा अर्थ मन्त्रालयमा वरिष्ट अधिकारीका रुपमा कार्य गरिसकेका छन् । सन् १९९० को दशकमा हाम्डोकले निजी कम्पनीका साथै जिम्बाब्बेमा अन्तर्राष्ट्रिय श्रम संगठनका तर्फबाट वरिष्ट अधिकारीका रुपमा काम गरेका थिए ।

उनीसँग आइभरीकोष्टमा अफ्रिकी विकास बैंकमा धेरै वर्ष काम गरेको अनुभव छ। सन् २०१८ सेप्टेम्बरमा हाम्डोकलाई पूर्व राष्ट्रपति ओमार अल–बासिरले अर्थमन्त्रीका रुपमा प्रस्ताव गरे तर उनले बासिरको प्रस्तावलाई अस्वीकार गरेका थिए । रासस/सिन्हवा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *