चिपको अभूतपूर्व मागले दक्षिण कोरियाको निर्यातमा तीव्र वृद्धि, अगस्टमा ६८.७ प्रतिशतले बढ्यो

डिसी नेपाल
१६ भदौ २०८३ ११:५०

सोल।  विश्व बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधारको विस्तारसँगै सेमिकन्डक्टर (मेमोरी चिप) को मागमा भएको अभूतपूर्व वृद्धिका कारण दक्षिण कोरियाको अगस्ट महिनाको निर्यात ६८.७ प्रतिशतले बढेको छ।

दक्षिण कोरियाको व्यापार, उद्योग तथा स्रोत मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अगस्टमा निर्यात गत वर्षको सोही महिनाको तुलनामा ६८.७ प्रतिशतले बढेर ९८.२५ अर्ब अमेरिकी डलर पुगेको छ। यो दक्षिण कोरियाको इतिहासकै तेस्रो उच्च निर्यात प्रदर्शन हो। योसँगै लगातार तेस्रो महिना देशको मासिक निर्यात ९० अर्ब डलरभन्दा माथि कायम रहेको छ।

यस अवधिमा दैनिक औसत निर्यात ७२.५ प्रतिशतले बढेर ४.४७ अर्ब डलर पुगेको छ, जुन लगातार चौथो महिना ४ अर्ब डलरभन्दा माथि रहेको हो। यस्तै, अगस्टमा आयात २२.५ प्रतिशतले बढेर ६३.५१ अर्ब डलर पुगेको छ भने व्यापार बचत ३४.७५ अर्ब डलर कायम भएको छ। दक्षिण कोरियाको व्यापार बचत लगातार तेस्रो महिना ३० अर्ब डलरभन्दा माथि रहेको छ।

दक्षिण कोरियाका २० प्रमुख निर्यात वस्तुमध्ये १४ वटाको निर्यातमा वृद्धि देखिएको छ। तीमध्ये सेमिकन्डक्टरको निर्यात सबैभन्दा उल्लेखनीय रूपमा २०९ प्रतिशतले बढेर ४६.६५ अर्ब डलर पुगेको छ।

यो सेमिकन्डक्टर निर्यातको हालसम्मकै उच्च स्तर हो। गुगल र अमेजनजस्ता विश्वका प्रमुख प्रविधि कम्पनीहरूले एआई पूर्वाधारमा लगानी बढाउँदा मेमोरी चिपको मूल्य वृद्धि भएकाले निर्यातले नयाँ उचाइ लिएको मन्त्रालयले जनाएको छ।

क्षेत्रगत रूपमा अमेरिकातर्फको निर्यात ८९.३ प्रतिशतले बढेर १६.५० अर्ब डलर पुगेको छ। चिप, स्टिल, कम्प्युटर तथा पेट्रोलियम पदार्थको बलियो मागले अमेरिकातर्फको निर्यात बढाएको हो।

त्यसैगरी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) तर्फको निर्यात ७५.४ प्रतिशतले बढेर १९.०९ अर्ब डलर र युरोपेली सङ्घतर्फको निर्यात १४.६ प्रतिशतले बढेर ६.६२ अर्ब डलर पुगेको छ।

आयाततर्फ कच्चा तेल, प्राकृतिक ग्यास र कोइलासहित तीन प्रमुख ऊर्जा स्रोतको आयात १५.३ प्रतिशतले बढेर १२.६८ अर्ब डलर पुगेको छ। सेमिकन्डक्टर उत्पादन उपकरणको उच्च मागका कारण गैरऊर्जा वस्तुको आयातसमेत २४.४ प्रतिशतले बढेर ५०.८३ अर्ब डलर पुगेको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *