अमेरिकी रक्षा मन्त्रीद्वारा ओसामाका छोरा हाम्जा मारिएको पुष्टि

डिसी नेपाल
५ भदौ २०७६ २१:५३

वाशिंगट (एजेन्सी) । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अल क्वाइदाका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जा विन लादेन मारिएको पुष्टि गरेको छ। अमेरिकी रक्षामन्त्री मार्क इस्परले हाम्जा मारिएको पुष्टि गरेका हुन्।

फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा मन्त्री इस्परले हाम्जा मारिएको पुष्टि गरेका हुन्। तर, उनले हाम्जा कहाँ कसरी मारिए भन्ने विषयमा पूरा विवरण भने दिन नसक्ने बताएका छन्। यसअघि अगस्टमा अमेरिकी प्रतिवेदनहरुमा हाम्जा मारिएको दावी गरिएको थियो। तर, राष्ट्रपति डोनल्ड ट्रम्पलगायत उच्च अधिकारीले भने यो विषयलाई अस्वीरकार पनि गरेका थिएनन् र स्वीकार पनि गरेका थिएनन्। एक प्रश्नमा राष्ट्रपति टम्पले ‘यो विषयमा बोल्दैन’ भनेका थिए।

हाम्जा ओसामाका २० सन्तान मध्ये १५ औं सन्तान रहेको बताइन्छ । उनी करिब ३० वर्षका थिए। र उनी आसोमाकी तेस्रो श्रीमतीका छोरा थिए। हाम्जा बाबुको स्थानमा अल क्वाइदाको प्रमुख बन्ने तरखरमा थिए । उनले बेला बेलामा अमेरिकामाथि आक्रमण गर्न अडियो र भिडियो सन्देशहरु दिने गरेका थिए। जिहादीहरु हाम्जालाई जिहादका राजकुमार भन्ने गर्थे।

ओसामा २०११ मा अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा परी मारिएका थिए। उनी पाकिस्तानको एबोटाबादमा लुकेर बसेको अवस्थामा अमेरिकी सेनाको गोप्य अप्रेशनमा मारिएका थिए। २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्यूयोर्कस्थित ट्वीन टावरमा विमान अपहरण गरि ठोक्काइएको थियो।

सो आक्रमणमा कम्तिमा ३००० जना मारिएका थिए। त्यसपछि अमेरिकाले अल क्वाइदाविरुद्ध कारबाही थालेको थियो। ओसामालाई शरण दिएको आरोपमा अमेरिकाले अफगानिस्तानको तालिबान सरकारमाथि आक्रमण गरेको थियो। त्यो बेला शुरु भएको अफगान युद्ध हालसम्म जारी छ । अफगान युद्ध अमेरिकाका लागि सेफ ल्याण्डिंग गर्न गाह्रो भइरहेको छ। हाल अमेरिका र तालिबानबीच कतारमा वार्ता भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *