भारतका पूर्वमन्त्री चिदम्बरमलाई पाँच दिन थुनामा राखिने

डिसी नेपाल
६ भदौ २०७६ ८:०७

नयाँ दिल्ली । भारतको केन्द्रीय अन्वेषण विभागको विषेश अदालतले पुर्व केन्द्रीय वित्त मन्त्री पि चिदम्बरमलाई थुनामा राख्न अनुमति दिएको छ । उनलाई यही अगस्ट २६ तारिखसम्म अन्वेषण विभाग (सिविआई)को थुनुवा कक्षमा राख्न बिहीबार अनुमति दिइएको हो ।

चिदम्बरम्लाई दुरसञ्चार सेवासम्वन्धी एउटा परियोजनामा अनियमितता गरेको आरोप लगाइएको छ । उनलाई बुधबार नयाँ दिल्लीस्थित आफ्नै निवासबाट सिविआईको टोलीले गिरफ्तार गरेको हो ।

अदालतले चिदम्बरमलाई हरेक दिन ३० मिनेट परिवारजन र वकिलहरूले भेट्न पाउने व्यवस्था गर्न पनि अनुमति दिइएको छ । सिविआईका न्यायधिवक्ता जनरल तुशार मेहताले चिदम्बरमलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए ।

उनको माग अनुसार अदालतले पाँच दिने म्याद दिएको हो । दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको एक दिनपछि उनलाई पक्राउ गरिएको हो ।

चिदम्बरमका वकिलहरूले भने उनिमाथी राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचारको आरोप लगाएको दावी गरेका छन् । दुई पटकसम्म भारतको अर्थमन्त्री भइसकेका चिदम्बरम अहिले विपक्षी काङ्ग्रेस पार्टीको वरिष्ठ नेता हुन् भने सन् १९८४ देखि सांसद र एक पटक गृहमन्त्री पनि भएका थिए ।

सन् २००७ मा अर्थमन्त्री हुँदा घुस खाएर विदेशी लगानीलाई बाटो खोलिदिएको आरोप पनि उनलाई लगाइएको छ । अनुसन्धानकर्ताहरुले उनका छोरा कार्ती चिदम्बरममाथि पनि अनुसन्धान गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *