प्रधानमन्त्री कप क्रिकेटः कोशी ९१ रनमै समेटिँदा कर्णालीको फराकिलो जित

डिसी नेपाल
५ चैत २०८१ १७:३१
104
Shares

भैरहवा (रूपन्देही)। कर्णाली प्रदेशले कोशी प्रदेशलाई १२७ रनको अन्तरले पराजित गरेको छ। विशाल लक्ष्य पछ्याएको कोशीका सुरुआती ब्याट्सम्यानहरूले केही टिकेर खेल्न खोजे पनि उनीहरू पेभेलियन फर्केसँगै कोशीको ब्याटिङ ‘लाइनअप’ ध्वस्त हुन पुग्यो। दुई सय १९ रनको लक्ष्यसहित मैदान पसेको कोशी ३५ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ९१ रनमै अलआउट हुन पुग्यो। कोशीका लागि सबैभन्दा बढी २५ रन चिराग साहले बनाए।

यस्तै, साकिब हकले १३ रन र अंकित सुवेदीले १० रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोडन् सकेनन्। कोशीलाई सस्तोमै समेट्न सुनिल धमला र दीपेन्द्र रावतले तीन/तीन विकेट बाँडे। यस्तै, दिवन पुन दुई विकेट र अनुज चुनाराले एक विकेट लिए।

यसअघि रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा टस जितर ब्याटिङ रोजेको कर्णालीले नौ विकेट गुमाउँदै २१८ रन बनाएको थियो। कर्णालीका लागि अर्जुन घर्तीले ९५ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै अविजित ८८ रन बनाए। यस्तै, हिमांशु शाहीले ४६, निश्चल रावलले २० र प्रकाश जैसीले १८ रन बनाए।

बलिङमा कोशी प्रदेशका विपिन महतोले तीन विकेट लिए भने दीपेश कँडेल र प्रकाश कार्कीले समान दुई/दुई विकेट लिए। श्रवण किस्कु र सुजन थपलियाको नाममा एक/एक विकेट रह्यो।

यससँगै कर्णाली प्रदेशले अंकतालिकामा थप दुई अंक जोडेको छ। पाँच खेल खेलेको कर्णाली प्रदेश तीनमा हार र दुईमा जित निकाल्दै चार अंक ल्याएको छभने छ खेल खेलेको कोशी पाँचमा पराजित, एकमा जितका साथ दुई अंक ल्याएर प्रतियोगिताको अंकतालिकामा पुछारमा पुगेको छ। अंकतालिकामा शीर्ष दुई स्थानमा रहने दुई टोलीबीच फाइनल खेल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *