शाहरुख खानको ट्वीटप्रति पाकिस्तानी सेनाका प्रवक्ताको तीखो टिप्पणी

डिसी नेपाल
८ भदौ २०७६ १०:५४

बीबीसी । भारतीय अभिनेता शाहरुख खानको कम्पनीले नेटफ्लिक्सका लागि उत्पादन गरेको एउटा टेलिभिजन शृङ्खलाबारे पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूर र शाहरुखका प्रशंसकमाझ ट्विटरमा चर्काचर्की परेको छ।

पाकिस्तानका ट्विटर प्रयोगकर्ताहरूले पनि यसमा टिप्पणी गरेका छन्। शाहरुख खानको कम्पनीले नेटफ्लिक्सका लागि ‘बार्ड अफ ब्लड’ नामक शृङ्खला तयार पारेको छ। यो शृङ्खला सेप्टेम्बर २७ मा प्रसारित हुनेछ। बिहीवार शाहरुख खानले आफ्नो ट्विटर अकाउन्टमार्फत् यसको ट्रेलर सार्वजनिक गरेका थिए।

ट्रेलर सार्वजनिक गर्दै शाहरुख खानले नयाँ शृङ्खला प्रस्तुत गरिएको भन्दै यसमा जासुसी, प्रतिशोध, प्रेम र कर्तव्यको रोमाञ्चक कथा रहेको उल्लेख गरे। यसबाट दर्शकहरू रमाउने आशा पनि उनले व्यक्त गरे।

शाहरुखले उक्त ट्वीट गरेको भोलिपल्ट पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले उक्त शृङ्खलाबारे प्रतिक्रिया दिए। सो ट्रेलरमा आधारित उनको प्रतिक्रिया थियो – शाहरुख खान बलिउड रोग ले ग्रसित छन्। बार्ड अफ ब्लड’को ट्रेलरमा तीन भारतीय जासुसको कथा चित्रण गरिएको छ।

उनीहरूले एउटा उद्धार अभियानका निम्ति पाकिस्तानको बलोचिस्तान प्रान्त पुग्छन्। ट्रेलरमा यसलाई आत्मघाती अभियानको रूपमा पनि चित्रित गरिएको छ। आसिफ गफूरले ट्वीटमा शाहरुखलाई सत्य हेर्न सल्लाह दिएका छन्।

आफ्नो व्यक्तिगत ट्विटर ह्यान्डलमार्फत् ट्वीट गर्दै उनले लेखेका छन्, ‘शाहरुख खान बलिउड रोगमै रहिरहून्। सत्यका लागि र (भारतीय जासुस निकाय) का जासुस कुलभूषण जाधव, विङ कमान्डर अभिनन्दन र २७ फेब्रुअरी २०१९ को स्थिति हेर्नुहोस्।’

‘यसो गर्नुको साटो तपाईँ जम्मू–कश्मीरमा भइरहेको अत्याचार र नाजीवादप्रति आसक्त आरएसएसको विरोधमा आवाज उठाएर शान्ति तथा मानवतालाई प्रोत्साहित गर्न सक्नुहुन्थ्यो।’

गफूरको उक्त ट्वीटबारे कैयौँ ट्विटर प्रयोगकर्ताले उनीसँग प्रश्न पनि गरेका छन्। पाकिस्तानका ट्विटर प्रयोगकर्ताले भनेको उनको समर्थन गरिरहेका छन्। शाहरुख खानले चाहिँ आसिफ गफूरको ट्वीटको कुनै जबाफ दिएका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *