राप्रपा प्रवक्ताको प्रश्न- कता हिँडेको सरकार इन्भटर किन्नलाई?

डिसी नेपाल
१३ चैत २०८१ १२:५३
420
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारप्रति कडा टिप्पणी गरेका छन्। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा विरोध गर्दै आएका शाहीले कता हिँडेको सरकार इन्भटर किन्नलाई भन्दै व्यंगे गरेका हुन्।

‘कता हिँडेको सरकार? इन्भटर किन्नलाई। लोडसेडिङ गर्नलाई। अन्धाकार ल्याउनलाई। सालोलाई पालो दिनलाई। कुलमान हटाउँदै जनता रुवाउँदै,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गर्दै विपक्षी दलले विरोध जनाएपछि आजको प्रतिनिधिसभा बैठकसमेत अवरुद्ध भएको छ।

बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै कुलमानलाई हटाइएको भन्दै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए। उनीहरुले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीको जवाफ माग गरेका छन्।

माओवादी सांसद शक्ति बस्नेतले राष्ट्रको सेवामा लागेको कर्मचारीलाई सरकारले हटाएको भन्दै अपत्ति जनाए। उनले तत्काल कुलमानलाई हटाउने निर्णय फिर्ता लिनुपर्ने माग गर्दै प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गरे।

बस्नेतले संख्याको बलमा जनताका आशा गुमाउन सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाएको आरोप लगाए। घिसिङलाई हटाएको बिषयमा सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने उनले बताए।

बिपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बसेर सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। सभामुखले आग्रह गर्दा पनि बिपक्षी दलले निरन्तर उठेर विरोध जनाएपछि उनले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्ले कुलमानलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.