निबन्ध

झरीपछिको प्रकृति

ज्ञानेन्द्र विवश
६ वैशाख २०८२ ७:३५
40
Shares

सुक्खा खडेरी र झरीपछिको सुन्दर प्रकृति आफैंमा मनोरम छटा–छविले सुशोभित भएको हुन्छ। बल्ल पानी प्यासले तृप्त हुन पाउँदा मानिसको के कुरा पशुपक्षीले समेत हर्षको उत्सव मनाउन थाल्दोरहेछ। यति भएपछि सर्वत्र खुशीको वातावरण मगमग हुनेरहेछ।

कहिलेकाहीँ प्रकृति साह्रै निष्ठुरी बन्छ। पानीको अभावमा प्याक्प्याक्ती प्राणीको बेहाल हेर्दै चुपचाप हुन्छ। कहिले लगातारको वर्षाद्ले बेहाल पार्न अग्रसर रहन्छ। लाग्छ, कहिलेकाहीँ धर्ती यति मौन हुन्छ, मानौँ उसले कुनै गहिरो दुःख बोकिरहेछ। आकाश निलो हुन्छ, तर त्यो नीलोपन सुनसान लाग्छ।

वन-बगैँचाको पात आइलिएको हुन्छ, माटो चर्किएको हुन्छ, धाँजा फाटेको हुन्छ। जनावरहरू प्यासले व्याकुल बनिरहेका हुन्छन्।

यही हो सुक्खा खडेरीको छाया, जहाँ जीवनको गति शिथिल हुन्छ र आशाहरू धूलोसँगै उड्न थाल्छन्। यस्तैमा कतै, कसैबाट जानीनजानी बनमा डढेलो सल्किन्छ। एकैछिनमा प्रकृति डढेर धुवाँमा परिणत हुन्छ।

एकातिर खडेरी, अर्कोतिर डढेलो प्रकोपको चोट अनायासै प्रकृतिको पर्यावरण असन्तुलित हुन थाल्छ। तुँवालोले प्रकृतिलाई छोप्छ। त्यसपछि नजिकैका बोटविरुवाका पातसमेत राम्ररी नियाल्न सकिँदैन। आँखा धमिलिन्छ।

तर सिर्जनशीलता त यही मौनतामा जन्मन्छ। जब धर्तीले पानीको पुकार गर्छ। जसरी आमाले आफ्नो सन्तानको लागि प्रार्थना गर्छन्। त्यसैबेला आकाशको काखमा बादल बटुलिन थाल्छन्। एक दिन अचानक, जब पहिलो थोपा झर्छ, तब धर्ती रोएझैँ देखिन्छ। त्यो रुवाइलाई दुःखको नभएर पुनर्जन्मको संकेत मान्नु पर्छ।

झरी सुरु हुन्छ। झन्झन आवाजमा बज्छ वर्षा। लयमा बग्छ नदी। भर्खर पालुवा फेर्दै गरेका रुखका पातहरू नाच्न थाल्छन्। चराहरू बल्ल निर्भयपूर्वक नित्य झरीमा पखेटा फटकार्दै रमाउँन् थाल्छन्। माटोको गन्ध सुँघ्न खोज्दा मान्छेको मन एकाएक कवितामय हुन्छ। मानौँ बाल्यकालको कुनामा हराइरहेको कुनै आत्मीय सम्झना भेट्टिएझैँ लाग्छ।

झरीपछिको प्रकृति साँच्चै अचम्मको हुन्छ। घामले सुकेका पातहरू फेरि हरिया हुन्छन्। ओइलिएका फूलहरू पुनः मुस्कुराउँन थाल्छन्। खोल्साहरू गुनगुनाउन थाल्छन्। गाउँको साना बोट-बिरुवाले समेत श्वास फेर्ने अवसर पाउँछन्। यो एउटा अद्भुत पुनर्जागरण हो। जहाँ मृत्युतुल्य मौनता पश्चात् जीवनको संगीत पुनः सुरु हुन्छ।

मान्छे पनि त त्यस्तै हो। कहिलेकाहीँ मनको आकाश खडेरीले ढाक्छ, भावना सिथिल बन्छ र आत्मा चिसिन्छ। तर त्यो स्थिति सधैं रहँदैन। जीवनमा पनि झरी आउँछ।

कहिलेकाहीँ एक शब्द, कहिलेकाहीँ एउटा स्पर्श, कहिलेकाहीँ केवल मौन उपस्थिति रूपी झरी। त्यसपछि फेरि मन हरियाली बन्छ। मनले गुनगुनाउँछ। त्यसबेला आँखाले सौन्दर्य देख्न थाल्छ। आँखाको परेलीमा झरीपछिको निख्खुर सफा प्रकृति देख्न पाइन्छ।

यसरी हेर्दा, सुक्खा खडेरी र झरीको सम्बन्ध केवल प्रकृति मात्र होइन, जीवनको रूपक पनि हो। खडेरी बिना झरीको महत्व हुन्न। दुःख बिना सुखको स्वाद थाहा हुँदैन। प्रकृति हाम्रो गुरु हो। हामीलाई समयको प्रतीक्षा गर्न, धैर्य राख्न र अन्ततः आशा राख्न सिकाउने।

झरीपछि देखिने त्यो इन्द्रेणी, त्यो बादलको टुक्रामा टाँगिएको सपनाजस्तो देखिने छायाचित्र। त्यो त केवल आकाशको होइन, हाम्रो आत्माको पनि उत्सव हो। जीवन फेरि हाँस्छ र प्रकृति फेरि गुनगुनाउँछ। चलायमान र चञ्चल हुन थाल्छ। खुशीका अनेकौं सौगातहरू बाँडिन थाल्छ। पानी परेपछि मौसम खुल्छ महिनौदेखि लागेको तुँवालो पनि हट्छ। यसरी तुँवालो हटेपछिको मौसम साँच्चै नै सुन्दर र शान्त हुन्छ।

हुन पनि त्यस्तै भयो। वैशाख ४ गते बिहीबार अपरान्नपछि काठमाडौँमा मुसलधारे पानी प¥यो। असिनासमेत बर्सिदा काठमाडौँका कतिपय ठाउँ डुबानमा परे। महिनौदेखि नपरेको पानीको काकाकुलले वनस्पति र मानिसले राहत पाए। तर होचो ठाउँका घर खेतहरू नराम्ररी डुबानमा परे। शुक्रबार बिहानको मौसम गत दिनहरूको भन्दा निकै सफा देखियो। झुलुक्क हिमालको दर्शन पनि मिल्यो।

वास्तवमा पर्यावरण असन्तुलनले हाम्रो वातावरण दिनदिनै प्रदूषित हुँदै गइरहेको छ। यसले गर्दा आँखा पोल्ने, घाँटी खसखसाउने, जिउ चिल्याउने, टाउको दुख्नेलगायतका अनेकौं स्वास्थ्य समस्या देखापरिरहेका छन्। बिहिबारको पानीले देशका विभिन्न ठाउँलाई पनि सिञ्चित गरेको छ। डुबानको कुरा एकातिर छ भने बर्षातले बोटवनस्पतिमा पनि सकारात्मक प्रभाव पारेको हुनुपर्छ।

यसरी दर्के पानीले धर्तीलाई धोएर सफा पारेको थियो। बिहान बिउँझिदा चारैतिरको दृश्य नवीन र ताजा थियो। हिजोसम्म धुम्मिएको आकाश खुलेको थियो। सूर्यका किरणहरूले भर्खरै नुहाएको धर्तीलाई सुनौलो रङमा रङ्गाउँदै थिए। तुवाँलो हटेर गएको थियो, जसले टाढाका पहाडहरूलाई स्पष्ट रूपमा देखाइरहेको थियो। मानौं तिनीहरूले नयाँ जीवन पाएका थिए।

पानीका थोपाहरू अझै पनि रुखका पातहरू र फूलहरूमा चम्किरहेका थिए, हिराका कणहरू जस्तै। हावामा शीतलता र ताजगी भरिएको थियो। यसले मेरो मनलाई पनि शान्त र प्रफुल्लित बनायो। चराचुरूङ्गीहरू नयाँ उत्साहका साथ चिरबिर गरिरहेका थिए। मानौं वर्षापछि पाएको स्वच्छ वातावरणको स्वागत उनीहरूले गरिरहेका थिए।

बगैँचामा फूलहरू अझ बढी रङ्गीन र जीवन्त देखिएका थिए। पानीले तिनीहरूलाई पोषण दिएको थियो। तिनीहरूको सुगन्ध हावामा मिसिएर एक अद्भुत वातावरण सिर्जना गरिरहेको थियो। जमीन भिजेको बासना र फूलहरूको मीठो सुगन्धले मेरो मनलाई आनन्दित तुल्याइरह्यो।

वास्तवमा पानी परेपछिको मौसम प्रकृतिले हामीलाई दिएको यो एउटा सुन्दर उपहार हो। तुँवालो जस्तै हाम्रा समस्याहरू पनि एकदिन हट्छन् र जीवन फेरि उज्यालो र स्पष्ट हुन्छ भनने आशा अनि विश्वास प्रकृतिले दिन्छ।

यो बिहानीले मलाई नयाँ आशा र सकारात्मकपनले भरिदियो। मलाई लाग्यो कि म पनि यो सफा आकाश र ताजा हावा जस्तै नयाँ सुरुवात गर्न सक्छु। पानी परेर तुवाँलो हटेपछिको यो सुन्दर मौसमले मेरो मनमा शान्ति र आनन्दको सञ्चार गरायो।

कुहिरोले घुम्टो उघारेपछि छोपिएका कुरा देखिन्छ, देखिनुपर्छ। त्यसैले बिस्तारै, रहस्यमय पर्दा जस्तै कुहिरो फाट्दै गयो। केही क्षण अघिसम्म धमिलो र अस्पष्ट देखिएको पहाड, बनजंगल, बाटा र घररू अब स्पष्ट हुँदै थियो।

मानौं प्रकृतिले आफ्नो सुन्दर अनुहार देखाउन लाग्दै थियो। कुहिरोको घुम्टो उघ्रिँदा शीतका थोपाहरूले भिजेका पातहरूमा सूर्यको पहिलो किरण पर्‍यो र सारा दृश्य सुनौलो भयो।

त्यो बिहान, कुहिरोले ढाकेको संसार एउटा रहस्यमय सपनाजस्तो थियो। वरिपरि शान्त, मौन र एक प्रकारको अलौकिक वातावरण थियो। पातहरूबाट झरिरहेका शीतका टपटप आवाजहरूले मात्र शान्ति भंग गरिरहेजस्तो लाग्थ्यो। तर जब सूर्य उदाउन थाल्यो र कुहिरो पातलो हुँदै गयो, तब लुकेका रङहरू बिस्तारै प्रकट हुन थाले। त्यहाँ सौन्दर्यका प्रिय दृश्यहरू प्रकट हुन थाले।

जंगलका रुखहरू, जो केही क्षण अघिसम्म भूतजस्ता देखिन्थे, अब स्पष्ट रूपमा हरिया देखिन थाले। रङ्गीन फूलहरू, जो कुहिरोको पर्दाभित्र लुकेका थिए, अब आफ्नो सुन्दरता प्रदर्शन गर्दै थिए। चराचुरूङ्गीहरू, जो शान्त थिए। अब चिरबिर गर्दै आफ्नो आगमनको सङ्केत दिँदै थिए।

कुहिरोको घुम्टो उघ्रिएपछि देखिएको त्यो दृश्य साँच्चै मनमोहक थियो। मानौं कसैले एउटा कालो र सेतो चित्रमा अचानक रङ भरिदिएको हो। चारैतिर जीवन र ऊर्जा भरिएको महसुस भयो। त्यो क्षणले कहिलेकाहीँ पर्खनुपर्छ, अँध्यारोपछि उज्यालो अवश्य आउँछ भन्ने सन्देश दियो। त्यसपछि लुकेका सुन्दरताहरू प्रकट भए ।

कुहिरोले घुम्टो उघारेपछिको त्यो बिहानीले मनमा शान्ति र आनन्द भरिदियो। यो प्रकृतिले दिएको एउटा सुन्दर उपहार थियो। यसले हामीलाई जीवनका साना तर महत्वपूर्ण कुराहरूको महत्व बुझायो। अन्त्यपछि नयाँ सुरुवात हुन्छ, जस्तै कुहिरो हटेपछि सुन्दर बिहानी उदाउँछ। घुम्टो खोलेपछिको मौसम साँच्चै सुन्दर भयो।

कहिलेकाहीँ प्रकृति पनि कुनै नववधूजस्तै लाग्छ। घुम्टो ओढेकी, भित्र कताकता मुस्कुराइरहेकी, आँखाभरिको सपना लुकाइरहेकीजस्तो। बिहानैदेखि आकाशमा ओढिएको कुहिरोको चोली, चिसो तुँवालोको लुगा र क्षितिजमा झुण्डिएको नीलो मौनताले मनमा कुनै रहस्यको सरगर्मी ल्याउँछ। साथै मन बेचैन हुन्छ। यसले एक प्रकारले अल्छीलाग्दो दिनको झल्को दिन्छ।

यद्यपि यस्तो मौनता कहिल्यै रित्तो हुँदैन। त्यो मौनताभित्र केही न केही जन्मिँदै हुन्छ। जस्तो कि अभिव्यक्तिको एउटा मौसम। सिर्जनात्मक परिवेश यौटा अलग्ग आयाम।

घामको पहिलो किरणले कुहिरोको कपालमा औँला चलाउँदा, तुँवालो चुपचाप आफ्नो घुम्टो फुकाल्न थाल्छ। एकाएक पहाडका धुलाम्मे गाला देखिन्छन्। नाङ्गो हाँसोसहितका टाकुरा देखिन्छन्।

बारीका हरियालीहरू देखिन्छन्। नदी झलक्क देखिन्छ। त्यसबेला लाग्छ– प्रकृतिले लाज हटाउँदै आफूलाई खोल्दै छ, हामीलाई अँगाल्दै छ। निर्वस्त्र सौन्दर्यसँग मनलाई साक्षात्कार गराउँदै छ।

यसरी तुँवालो र कुहिरोको ओढ्ने फुकाएर प्रकृतिले आफूलाई देखाउँछ। त्यही बेला मौसमले पनि आफ्नो मन खोलेको अनुभूति हुन्छ। त्यो समय मान्छेका मनभित्र पनि उज्यालो पस्छ। दिनको लय फेरिन्छ, हावाले भाका फेर्छ। मनभित्र कतै थन्किएको सिर्जना फेरि प्रस्फुटन हुन थाल्छ। रङहरू झन् गाढा लाग्न थाल्छन्।

यो मौसम प्राकृतिक परिवर्तन मात्र होइन, यो त एक बोध हो। कविताभित्र लुकेको एउटा मार्मिक हरफजस्तै यो मौसम पनि एक संकेत हो। भित्र लुकेको सुन्दरतालाई नदेखी हतार नगर्नू। कुहिरोको धर्तीमा पनि फक्रिन्छ फूल, तुँवालोले छोपेका आँखामा पनि हुन्छ भविष्यको उज्यालो। लामो खडेरीपछिको वर्षाद् यौटा सुन्दर चित्र हो।

अन्ततः, घुम्टो खोलेपछि मौसम पनि फेरिन्छ। हामी पनि विस्तारै आफूभित्र उज्यालो भर्ने मौसम बन्न थाल्छौं। झरीपछिको प्रकृति जस्तै सुन्दर बन्न लालायित हुन्छौं।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.