निषेधित क्षेत्रमा प्रदर्शन गरे कारबाही गर्ने राप्रपालाई गृह मन्त्रालयको चेतावनी

डिसी नेपाल
६ वैशाख २०८२ २०:५३
612
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निषेधित क्षेत्र तोड्ने बताएपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ। आइतबार बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्दै निषेधित क्षेत्र तोड्नेगरी अघि बढ्ने राप्रपाको धारणापछि गृह मन्त्रालयले निषेधित क्षेत्र तोडे कानुन बमोजिम कारबाही गर्ने जनाएको हो।

गृह मन्त्रालयका सहसचिव, प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेकाे छ, ‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने ब्यहोरा सूचित गरिन्छ। समाजमा हिंसा फैलाउने कुनै पनि अराजक , उत्तेजक र गैर कानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ।’

राप्रपाको बिहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट वैशाख ७ गतेको प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने निर्णय भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *