‘सबै पक्षलाई वार्ता र संवादमा जुट्न अपिल’
काठमाडौं। युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन सबै पक्ष तयार रहन आग्रह गरेका छन्। ‘पहिचानका लागि युवा’ संस्थाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाथीभरा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्ता र संवादमार्फत समाधान गर्न आग्रह गरेको हो।
उनीहरुले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान तयार रहेको समेत बताए। संस्थाका अध्यक्ष कृष्ण चोङवाङले आफूहरू विकास विरोधी नरहेको र समस्या समाधानका लागि सरकारसँग खुला ढंगले वार्ता गर्न तयार रहेको बताए।
सबै आन्दोलनरत समूहहरू समेटी सरकारले वार्तालाई गम्भीरतापूर्वक अघि नबढाएको गुनासो गर्दै उनले विभिन्न तरिकाबाट वार्ताको पहल भइरहे पनि निष्कर्षमा पुग्न नसकेको उल्लेख गरे। समस्या समाधानका लागि सबैको ध्यानाकर्षण गर्न काठमाडौंमा पत्रकार सम्मेलन गरिएको अध्यक्ष चोङवाङको भनाइ थियो।
केबलकार निर्माण बन्द गर्ने मात्र एजेन्डाले पहिचानका मुद्दा बलियो नहुने उल्लेख गर्दै उनले पहिचान संरक्षणका लागि जनस्तरमा रहेका सबै संघ–संस्थासँग वार्ता र संवाद हुनुपर्नेमा जोड दिए।
लिम्बुवान ब्रदरहुडका अध्यक्ष मिक्तोक लिम्बूले पाथीभरा लिम्बुको पहिचानसँग जोडिएको धरोहर रहेकाले केबलकार निर्माण गर्दा पहिचानको सम्वद्र्धनको ग्यारेन्टी हुनुपर्ने उल्लेख गरे। उनले विश्वका अधिकांश राजनीतिक आन्दोलनहरू वार्ता र संवादबाटै समाधान भएको उदाहरण दिँदै केबलकार निर्माणको विषय पनि संवादमार्फत हल हुनुपर्ने बताए।
पहिचानका लागि युवाका केन्द्रीय संयोजक बिराज आङदम्बे लिम्बूले स्थानीय पहिचान र विकाससँग जोडिएका विषयमा सबै पक्षमा गम्भीरता देखिनु पर्नेमा जोड दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment