कश्मिरमा सन्दिप थापा र राजीव थापा मारिएपछिको चासोः भारतले कसरी खटाउँछ गोर्खालीलाई ?

डिसी नेपाल
११ भदौ २०७६ १५:०७
4
Shares

काठमाडौं (बीबीसी)। भारतले तीन साताअघि जम्मू-कश्मीरलाई दिइएको विशेषाधिकार हटाउने निर्णय गरेसँगै भारत-पाकिस्तान सीमा क्षेत्रको नियन्त्रणरेखा आसपासमा दोहोरो गोली हानाहानका घटना हुने गरेका छन्। त्यस्तै गोली हानाहानमा परेर गएको तीन सातामा भारतीय सेनामा कार्यरत दुई गोर्खा सैनिकहरूले ज्यान गुमाइसकेको खबर आएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार ज्यान गुमाउनेमा उत्तराखण्डको देहरादूनका लेस नायक सन्दीप थापा र पश्चिम बङ्गालको जलपाइगुडीका नायक राजीव थापा छन्। उनीहरूको मृत्युलाई भारतीय सेनाको नर्दन कमान्डले पनि ट्विटरमार्फत् पुष्टि गरेको छ। उनीहरू दुवै जना नेपालीभाषी भारतीय नागरिक हुन्। उनीहरूले काम गरेको गोर्खा राइफल्समा धेरै नेपाली नागरिक पनि कार्यरत छन्।

सन्दीपको अगस्ट १७ र राजीवको अगस्ट २३ मा पाकिस्तानी सेनाको गोली लागेर निधन भएको हो। दुवै जना जम्मू-कश्मीरको रजौँरी जिल्लास्थित नौवसेरा सेक्टरमा खटाइएको बताइएको थियो। भारत र पाकिस्तानबीचको तनाव कम हुन नसकिरहेका बेला कतिपयले भारतले संवेदनशील क्षेत्रमा नेपाली नागरिकहरू समेत रहेको गोर्खा राइफल्सलाई अग्रपङ्क्तिमा लड्न पठाउने गरेको भन्दै चिन्ता व्यक्त गर्ने गरेका छन्।

यसै सन्दर्भमा बीबीसी संवाददाता विष्णु पोखरेलले भारतीय सेनाको कुमाउँ रेजिमेन्टमा ३४ वर्ष काम गरेका अवकाशप्राप्त कर्नेल धनबहादुर थापासँग भारतीय सेनामा गोर्खा फौजलाई कसरी खटाइन्छ भन्नेबारे कुराकानी गरेका छन्।

प्रस्तुत छ, थापाको धारणा:

हामीलाई गोर्खाहरूको मृत्यु भएकोमा चिन्ता लाग्नु स्वाभाविक हो। तर संवेदनशील क्षेत्रमा खटिएका अन्य सैनिकहरूको पनि मृत्यु भइरहेको हुन्छ। संवेदनशील ठाउँ भनेको द्वन्द्वग्रस्त क्षेत्र हो। नेपालमा धेरैले त्यस्ता क्षेत्रमा गोर्खालाई मात्रै खटाउँछ भन्ने ठानिन्छ। त्यो बिल्कुलै सही हैन। खासमा हाम्रो मानसिकता नै कस्तो छ भने भारतको विरोध गर्ने नाममा यस्ता कुराहरू उठ्ने गर्छन्। त्यो यथार्थको नजिक हुँदैन।

जम्मू-कश्मीर मात्र होइन अन्य क्षेत्रमा पनि गोर्खा र अन्यको भूमिकामा कुनै तरिकाले भिन्न छैन। भारतीय सेनामा धेरै रेजिमेन्टहरू छन्। जस्तै: गोर्खा, बिहार, कुमाउँ, गढवाल, मद्रास आदि। यी सबै रेजिमेन्टमा कार्यरत सेनाहरू संवेदनशील क्षेत्र र सीमा क्षेत्रमा जानैपर्छ। जसरी सीमा क्षेत्रमा जानुपर्छ त्यस्तै उनीहरू शान्ति क्षेत्रमा पनि आउनुपर्छ। लडाइँ भयो भन्दैमा गोर्खालाई अघि सार्ने भन्ने हुँदैन। त्यसबेला लडाइँ हुने क्षेत्रमा जुन रेजिमेन्ट खटिएको हुन्छ उसैको पहिलो जिम्मेवारी हुन्छ।

हरेक रेजिमेन्टको आफ्नो-आफ्नो पालो आउँछ। करिब दुई/अढाइ वर्ष शान्तिपूर्ण क्षेत्रमा बसेपछि संवेदनशील क्षेत्रमा खटिनुपर्ने पालो पर्छ। त्यहाँ पनि त्यस्तै दुई/अढाइ वर्ष बस्नुपर्ने हुन्छ। शान्तिपूर्ण क्षेत्रलाई सैन्य भाषामा ‘पीश स्टेशन’ अनि संवेदनशील क्षेत्रलाई ‘फील्ड’ भनिन्छ। त्यस्ता ‘फील्ड’हरूलाई पनि विभिन्न वर्गमा वर्गीकरण गरिएको छ। त्यसैका आधारमा सेनालाई आलोपालो खटाउने गरिन्छ।

अहिलेको अवस्थामा जम्मू-कश्मीर सबैभन्दा बढी संवेदनशील क्षेत्र हो। त्यहाँ बढी खतरा हुन्छ। तर त्यसो भन्दैमा त्यहाँ गोर्खालाई मात्र खटाइएको छ भन्ने होइन। कतिपयले नेपालीहरू पहाडमा बसोबास गर्ने भएकाले कश्मीरमा गोर्खालाई खटाइएको हो पनि भनिरहेका छन्। यो पनि एकदमै गलत धारणा हो। पहाडी हुँदैमा कसैलाई खटाउने र मैदानको हुँदैमा कसैलाई नखटाउने भन्ने हुँदैन। त्यसको उदाहरण त कारगिल युद्ध नै छ नि! त्यहाँ ‘१/११-जीआर’ले मात्र युद्ध लडेको होइन।

कारगिलमा नागा, बिहार र मद्रास रेजिमेन्टले पनि लडेका थिए। गोर्खालीलाई मात्र खटाउने भए उनीहरू कसरी त्यहाँ युद्धमा पुगे त? अरूले भने जस्तो पहाडी क्षेत्रमा गोर्खालाई मात्र पठाउन थालियो भने त भारतीय सेनामा कार्यरत अरूले त्यसको विरोध गरिहाल्छन् नि! फेरि भारतीय सेनामा गोर्खा मात्र पनि छैनन्। भारतीय सेनामा हाल करिब ५० हजार गोर्खा कार्यरत छन्।

त्यसमा ६० प्रतिशत नेपाली नागरिक र ४० प्रतिशत जति भारतीय नागरिक भइसकेका नेपालीभाषी छन्। हल्ला भएजस्तो विभेद भारतीय सेनामा छैन। हामीले उस्तै तलब, राशन र अन्य सुविधा पाएर काम गरिरहेका छौँ। खटाउने क्रममा पनि विभेद हुँदैन। अहिले नेपालमा गोर्खा भर्ती बन्द गर्नुपर्छ भन्ने बहस पनि चलेको छ। म आफैँमा पनि राष्ट्रियताको भावना छ। म पनि गोर्खा भर्ती कायम राख्नुपर्छ भन्ने पक्षमा छैन।

तर के अहिले भारतीय सेनामा कार्यरत ४० हजार नेपाली स्वदेश फर्कँदा उनीहरूले उस्तै काम पाउँछन्? अनि विदेशमा काम गर्ने नेपालीले पठाउने पैसाको भरमा चलेको अर्थतन्त्रमा कस्तो असर पर्छ? त्यसबारे पनि विचार गर्नुपर्छ। खासमा स्वदेशमा नै रोजगारीको व्यवस्था भए बाहिर जाने अवस्था आउँदैन। त्यो अवस्था सिर्जना गर्ने काम हामीले नगरी त्यत्तिकै विरोध गर्नु मात्र उपयुक्त होइन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *