बेपत्ता गाडी अझै भटिएन
हेटौँडा । हेटौँडाको गैरीगाउँमा जमिन भासिएर एक गाडी बेपत्ता भएपछि त्यसको खोजीमा खानी तथा भूगर्भ विभागका विज्ञहरूले स्थलगत अध्ययन थालेका छन्।
गत शुक्रबार ना ४ च ४८३३ नम्बरको गाडी घाँस काट्ने मेसिनसहित रोकिराखिएको अवस्थामा अचानक जमिन भासिँदा बेपत्ता भएको थियो। यता, गाडीको अत्तोपत्तो नलागेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद् टोली ल्याएर अनुसन्धान अघि बढाएको छ।
मङ्गलबार बिहान ९ बजेबाट खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा अध्ययन कार्य आरम्भ भएको हो। टोलीमा भूगर्भविद् कृष्ण पाण्डे, मणी खनालसहित चार जना विशेषज्ञ समावेश छन्। उनीहरूले दिनभरि अध्ययन गर्दै बेलुका ७ बजेसम्म विभिन्न वैज्ञानिक प्रविधिको प्रयोग गरेर घटनास्थलको विश्लेषण गरेका छन्।
अध्ययन टोलीले विशेष रूपमा ‘प्रोटोन म्याग्नेटो मिटर’ र ‘पावर अगर’ नामक प्रविधिको प्रयोग गरेको छ। म्याग्नेटो मिटर चुम्बकीय क्षेत्रका आधारमा फलामजन्य वस्तुहरू पहिचान गर्न प्रयोग गरिन्छ, भने पावर अगर विधि जमिनमा सानो सुरुङ खनेर भित्री बनावट पत्ता लगाउने ड्रिलिङ प्रणाली हो। प्रारम्भिक अध्ययनमा भूगर्भविद्ले जमिनको सतह, माटोको प्रकृति, भूगर्भिक बनावट, जमिनको शक्ति र दलदल हुने सम्भाव्यता समेत परीक्षण गरेका थिए।
भूगर्भविद् अधिकारीका अनुसार सो क्षेत्रको भूगर्भिक बनावट अत्यन्तै कमजोर र तरलतायुक्त पाइएको छ। जमिनको माथिल्लो सतहमा केही मात्रामा कडा माटो भए पनि तल्लो तहमा बालुवा र दलदल मिश्रित माटो रहेको स्पष्ट गरिएको छ। त्यस्तै, पाँच मिटर तलैदेखि बालुवायुक्त तह फेला परेको छ, जुन भूगर्भिक दृष्टिले जोखिमयुक्त मानिन्छ।
त्यहाँको माटोमा प्रेसर उत्पन्न हुँदा जमिन तरल हुने अवस्था सिर्जना भएको अनुसन्धानमा खुलेको छ। वैज्ञानिक भाषामा यस्ता क्षेत्रलाई “सेयर स्ट्रेन्थ” शून्य हुने स्थान मानिन्छ, जसमा कुनै पनि प्रकारको गतिशील लोड या दबाब परेमा माटो ठोस नहुन सक्छ र तरल अवस्थामा परिणत हुन सक्छ। यही प्रकृतिका कारण गाडी जमिनमा भासिएको हुनसक्ने भूगर्भविद्को अनुमान छ।
गाडीको सटीक लोकेसन पत्ता लगाउन म्याग्नेटो मिटरमार्फत अनुसन्धान गर्दा खाल्डो परेको स्थानभन्दा केही पूर्वतर्फ चुम्बकीय आकर्षण तीव्र पाइएको थियो। उक्त क्षेत्रफलमा फलामजन्य वस्तु रहेको अनुमान गरिएको छ।
म्याग्नेटो मिटर प्रत्यक्ष रूपमा गाडी देखाउने उपकरण नभए पनि यसले फलामको उपस्थिति संकेत गर्न सक्छ। त्यसैले, अनुसन्धानलाई थप पुष्टि गर्न तीन स्थानमा पावर अगर प्रविधिबाट ड्रिलिङ गरिएको थियो। तीमध्ये दुई स्थानमा करिब ५.४० र ५.६० मिटरको गहिराइमा कडा फलामजन्य वस्तु भेटिएको भूगर्भविद्को भनाइ छ।







डिसी नेपाल








Facebook Comment