लघुकथा : सुन्दरता

खेमराज पोखरेल
१० जेठ २०८२ ७:१०

उनको नाम दीर्घनाथ थियो तर गाउँघरका सबै सोझासाझा गाउँलेको सम्पत्तिलाई अजिङ्गरले जस्तै स्वात्त निल्ने भएकाले उनी अजिङ्गरे मुखिया भनी कुख्यात थिए।

अजिङ्गरे मुखियाको जेठो छोरो अमेरिका भासिएर आएको हुनाले भुइँ न भाँडामा थियो। ऊसँग धेरै स्वदेशी तथा विदेशी महिला भोगेको अनुभव थियो।

रूपकलाको सुन्दरताको बयान तिन सहरमा व्यापक थियो। महिलाहरू उनका पछाडि नानाभाँतीका कुरा काट्थे र सुन्दरताप्रति आरिस गर्थे। पुरुषहरू मुख मिठ्याउँथे।

व्यापारी तथा भद्र भलादमी पनि शरीरभरि अत्तर छरेर पैसाको मुठो खल्तीमा हाल्दै उनको घरको बाटो लाग्थे। उनलाई भेट्थे वा रित्तै फर्कन्थे कसैलाई थाहा थिएन। उनी सुन्दरताको मिथक जस्तै भइसकेकी थिइन्। गाउँका लुठाहरूले उसलाई रूपकलाको सुन्दरताबारे सुनाइसकेका थिए।

साहुको छोरो निकै हौसियो ‘आई लाइक बिउटिफुल गर्ल, ल केटा हो देखाइ हाल त।’

सित्तैँमा चिया, चमेना र बिजुली पानी खान पाएका लुठाहरूले उसलाई रूपकलाको घरसम्मै पु¥याइ दिए। ऊ एक्लै रूपकलाको घरको गेट खोली भित्र पस्यो र आफ्नो परिचय दिन थाल्यो ‘म मुखिया दीर्घनाथ बरालको जेठो छोरो क्या, अमेरिकाबाट भर्खर नेपाल आएको, चिनिनौ नानी तिमीले, अहो ! तिमी त कति राम्री ?’

‘ए चिनेँ चिनेँ, यत्तिका वर्ष विदेश बसेपछि, ठम्याउनै कति गारो भयो’ रूपकलाले औपचारिकता पुरा गरिन्।

ऊ रूपकलालाई हेरेको हेर्यै भयो। सुन्दरताको उत्कृष्ट आर्य र मङ्गोल मिश्रित नमुना। सामान्य कुराकानीपछि उसले प्रस्ताव राखि हाल्यो ‘हेर नानी, म अमेरिकाबाट म्यारिज गर्नका लागि भनेर नेपाल आएको, मलाई तिमी मन पर्‍यो, म प्रपोज गर्छु, नाइँ न भन ल, ओ के।’

‘तपाईं त्यत्रो ठूलो धनी घरानियाँ, फेरि अमेरिकामा बस्ने मान्छेले किन म जस्ती सामान्य नेपाली केटी बिहे गर्ने ?’

‘ओ नो, आइ लाइक बिउटी एन्ड सिम्प्लिसिटी’ उसले आकाशका तारा झार्ने र विवाह गर्न नपाए मर्नेसम्मको कुरा बतायो। रूपकलाले सर्त तेर्साइन् ‘मलाई सोच्न एकहप्ता समय दिनुस्, तपाईँ एकहप्तापछि आउनू’ उनले झाडा पखाला लाग्ने औषधि खाइन्।

हप्ता दिनपछि सकेसम्मको चिटिक्क परेर साहुको छोरो रूपकलाको कोठामै आयो। उनका केसराशी अस्तव्यस्त थिए, अनुहारबाट कान्ति हराइसकेको थियो। इन्तु न चिन्तु भएर ओछ्यान परेकी थिइन्।

‘ओ माइ गड, के भयो मेरी स्विट हर्ट, ह्वाट ह्यापेन ? कहाँ गयो तिम्रो सुन्दरता ?’

रूपकलाले सकिनसकी औँलाले तामाको सिँगारिएको गाग्रो देखाइन् र भनिन् ‘तपाईँले विवाह गर्न खोज्नु भएको सुन्दरता त्यहाँ छ, बिर्को खोल्नुस्’।

उसले गाग्रोको बिर्को खोल्यो। गाग्रोभित्र रूपकलाका दुर्गन्धी झाडापखाला सङ्ग्रह गरिएका थिए भने गाग्रोको बाहिरबाट दामी परफ्युम छरेर राम्रा सुगन्धित फूलहरूले सिँगारिएको थियो। रूपकलाभित्र बलिरहेको सुन्दर ज्योति चाहिँ उसले पत्तै पाएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.