भिजिट भिषामा रोजगार विभाग र श्रम मन्त्रालयको सरोकार हुन्नः महानिर्देशक भट्टराई
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले भिजिट भिसामा जानेहरु श्रम मन्त्रालय तथा मातहतको विभागहरुको सरोकारको विषय नरहेको बताएका छन्।
शुक्रबार विभाग पुगेका सन्चारकर्मीहरुसँग कुराकानी गर्दै महानिर्देशक भट्टराईले भिजिट भिसा लिएर विदेश जानेसँग श्रम मन्त्रालय तथा मातहतका कुनै पनि निकायसँग कुनै पनि सरोकार नरहेको बताएका हुन्।
उनले भने, ‘भिजिट भिसा लिएर जानेहरुसँग हाम्रो मन्त्रालय र विभागहरुको कुनै पनि सरोकार छैन। त्यो विषय विशुद्ध अध्यागमनको क्षेत्राधिकारभित्र पर्दछ। हामीले केवल श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेहरुको हकमा मात्रै हाम्रो सरोकार रहन्छ।’
महानिर्देशक भट्टराईले श्रम स्वीकृति लिएर जाने कामदारहरुले विभागबाट श्रम स्वीकृति लिन निकै सास्ती भोग्नु परेको अवस्थामा हाल आएर त्यसलाई छिटोछरितो र समस्या रहित श्रम स्वीकृति प्रदान गर्न विभागले तदारुकताका साथ काम अगाडि बढाएको बताए।
‘वैदेशिक रोजगारका लागि जाने श्रमिकले एप्लाई गरेकै दिन श्रमस्वीकृति प्रदान गर्ने व्यवस्था गरेका छौँ। अझै चुस्तदुरुस्त बनाउन प्रयासरत छौँ। यसले श्रम स्वीकृतिका लागि काम गरीरहेका विचौलियाहरुको चेन ब्रेक गर्नेछ। हामी व्यापक सुधारका लागि काम गरी रहेका छौँ’, उनको भनाई छ।
संचारकर्मीले कोरिया जानेहरुको विषयमा सोधिइएको एक अर्को प्रसंगमा महानिर्देशक भटटराईले कोरियाका लागि इ ९ र इ ७ भिसा फरक फरक भएको बताउँदै यसको विषयमा कोरिया जाने कामदारबीच कुनै पनि दुविधा गर्न नहुने बताए।
उनले भने, ‘अहिले कतिपयलाई कोरियाका लागि इ ९ र इ ७ भिसा बारेमा चिन्ता गरेको देखिएको छ। यसमा दुविधा हुनुहुँदैन, यि दुई क्याटोगरीका भिसाहरु फरक किसिमका हुन्। दुवै क्याटोगरीमा जान मिल्छ। बरु, उल्टै बढीले कोरिया जाने अवसर प्राप्त गर्नेछ। इ ९ भिसा कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित र जारी गर्नेछ भने इ७ भिसा कोरिया सरकारकै न्याय मन्त्रालयद्धारा जारी गरिने भिसा तथा सम्बन्धित छन्। भखैरै कोरियाबाट आएका प्रतिनिधिसँग हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ।’
महानिर्देशक भट्टराईले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै थालिएका सुधारका संकेत सबैले महसुस गरिने विश्वास व्यक्त गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment