राज्य, निजी क्षेत्र र समाजको साझा संकल्पबाट मात्रै समृद्ध नेपाल सम्भव: राष्ट्रपति पौडेल

डिसी नेपाल
२२ असोज २०८३ ११:४४
8
Shares

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपालको निर्माण कुनै एक क्षेत्र वा सरकारको मात्रै प्रयासबाट सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्रै हासिल गर्न सकिने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरूसँगको भेटमा राष्ट्रपति पौडेलले समृद्धिको संकल्पलाई व्यावहारिक रूप दिन निजी क्षेत्र थप जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने अपेक्षा व्यक्त गरे।

“नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै निरन्तर सफलता र प्रगतिको कामना गर्दछु,” उनले भने।

राष्ट्रपति पौडेलले नेपालको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबिचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

महासंघको सांगठनिक विस्तार र यसमा आबद्ध १४ लाखभन्दा बढी व्यवसायीको प्रगति नै समग्र देशको प्रगति भएको बताउँदै उनले आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा निजी क्षेत्रको भूमिका अतुलनीय रहेको बताए।

“सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्छ भने निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्नुपर्छ,” राष्ट्रपति पौडेलले भने, “यी दुई पक्षबिचको विश्वास र सहकार्यले नै आर्थिक समृद्धिको बलियो आधार निर्माण गर्न सक्छ।”

अबको प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।

जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रका सम्भावनालाई परिणाममुखी ढङ्गले उपयोग गर्नुपर्ने बताउँदै उनले विशेष गरी देशको युवा जनशक्तिलाई स्वदेशमै अवसर र उद्यमका सम्भावना सिर्जना गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे।

डिजिटल रूपान्तरण र विश्वव्यापी प्रतिस्पर्धाको वर्तमान युगमा महासंघले आफ्नो राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँग जोड्दै नेपाली उत्पादन, सेवा र उद्यमलाई विश्व बजारमा पुर्‍याउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे।

साथै, हालै नेपालले सामना गर्नुपरेको ठूलो प्राकृतिक विपद्का बेला उद्धार तथा राहतका लागि महासंघले देखाएको तत्परता र सहयोगको समेत राष्ट्रपति पौडेलले सराहना गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *