उत्तर कोरिया र चीनलाई रोक्न जापानको ठूलो तयारी, रक्षामा मात्र ५० अर्ब डलर बजेट
टोकियो। जापानको रक्षा मन्त्रालयले शुक्रबार हालसम्मकै सबैभन्दा बढी रक्षा बजेट सार्वजनिक गरेको छ। उत्तर कोरिया र चीनबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी जापानले लडाकू विमान र क्षेप्यास्त्र प्रणाली समेत खरिद गर्न ५० अर्ब अमेरिकी डलरको बजेट विनियोजन गरेको छ।
जापानको यो प्रतिरक्षा बजेट गत वर्षको भन्दा करिब १.२ प्रतिशत बढी हो। तर जापानले विगत आठ वर्षदेखि लगातार रक्षा बजेटमा वृद्धि गरिरहेको छ।
जापानले अमेरिकासँग छ वटा अत्याधुनिक एफ३५–बी लडाकू विमानको खरिदका साथै सामरिक महत्वका युद्धपोतको सुदृढीकरणमा खर्च गर्नेछ।
उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण र आणविक कार्यक्रम अघि सारेको भन्दै प्रधानमन्त्री शिन्जो आबेले जापानको सैन्य क्षमता बढाएका हुन्। साथै चीन र रुसले जापानी समुद्र आसपास सैनिक गतिविधि बढाएका कारण पनि जापानले आफ्नो प्रतिरक्षा बजेट वृद्धि गरेको हो।
प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष जापानको सैनिक क्षमता सुदृढ गर्न पटकपटक प्रस्ताव गरेका छन्। दक्षिण कोरियाले जापानसँग सैनिक गुप्तचर सूचना आदानप्रदान गर्ने पुरानो सम्झौता खारेज गरेपनि यसले जापानी सैन्य सुदृढीकरणलाई कुनै असर नगर्ने जापानी अधिकारीहरुले बताएका छन्।
जापानको रक्षा मन्त्रालयले पछिल्लो अवस्थामा जापानी सैनिक क्षमतालाई अन्तरिक्ष, साइबर र विद्युत–चुम्बकीय समेतका क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment