घरेलु महिला कामदारलाई रोक लगाउने विषयमा सोच्नुपर्ने अवस्था आयो : मन्त्री राणा

डिसी नेपाल
३० जेठ २०८२ १२:४५
100
Shares

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पहिलाको अवस्थामा घरेलु महिला कामदारहरुलाई रोक लगाउनु ठिक भएपनि अहिले यसबारे फेरि सोच्नुपर्ने आवश्यक्ता औंल्याएकी छन्।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा भएको छलफलमा उनले नीति निर्माताले नागरिकहरुको रक्षाको उद्देश्यले रोक लगाएपनि गैरकानूनी रुपमा जाने कदमले झनै खतरा बढेको जस्तो लागेको भन्दै यसमा फेरि सोच्नुपर्ने बताइन्।

उनले भनिन्, ‘खाडी मुलुकको नेपाली राजदूतहरुसँग एउटा बैठक भएको थियो र त्यो बेला उहाँहरुले घरेलु महिला कामदारहरुलाई बाहिर नपठाउने भनेर रोक लगाइएको कुरा राख्नु भएको थियो। पहिलाको अवस्थामा रोक लगाउनु ठिक पनि थियो होला तर अहिले मानव अधिकारको कुरामा धेरै प्रगती भएको अवस्थामा यसबारे फेरि सोच्नुपर्छ। नीति निर्माताले राम्रो उद्देश्यले नागरिकहरुको रक्षा गर्नुपर्छ भन्ने उद्देश्यले लिएको कदमले झनै खतरा बढेको हो की भन्ने जस्तो कुरा आएको छ।’

उनले रोक लगाए पनि गैर कानूनी रुपमा धेरै कामदारहरु बाहिर जाने हुँदा उनीहरुलाई कानूनी दायरामा नल्याउँदा घर आउन पनि समस्या हुने गरेको बताइन। कुवेतमा मात्र ४८ हजार नेपाली महिलाहरु काम गरिरहेको पनि उनले जानकारी दिइन्।

यस्तै, उनले गैर कानूनी रुपमा काम गर्न जाँदा महिलाहरुलाई उद्धार गरेर ल्याउनको लागि खर्च पनि नहुने अवस्था रहेको भन्दै यसपालीको बजेटमा नेपाल सरकारसँग खर्चको माग गरेको र श्रम मन्त्रीसँग पनि कुरा राखेको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.