बूढीगंगा नगरपालिकाको बजेट सिलिङप्रति जनप्रतिनिधिकै असन्तुष्टि, अनावश्यक शीर्षकमा विनियोजन गरेको आरोप

डिसी नेपाल
१० असार २०८२ १७:५६
1.4k
Shares

कुल्देवमाडौं । बाजुराको बूढीगंगा नगरपालिकाकै जनप्रतिनिधिहरूले आर्थिक वर्ष २०८२/८३ को बजेट सिलिङप्रति असन्तुष्टि जनाएका छन्।

मेयर रामबहादुर बानियाँले जनतामा आसा सञ्चार हुने भन्दा पनि आफ्नो स्वार्थ केन्द्रित बजेट ल्याउन खोजेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्। एक विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरूले आफ्नो घोषणा पत्र, विगतमा जनतासामू गरेका वाचासमेत विर्सिएर हचुवाका भरमा बजेट ल्याउन खोजिएको आरोप लगाएका छन्।

‘बजेट सिलिङ हेर्दा जनताले स्वामित्व ग्रहण गर्ने खालको बजेट आउन सक्ने देखिएन। एमालेका कार्यकर्ताको भरणपोषण हुने खालको बजेट ल्याउन खोजिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

विगतमा कायम भएको भूगोल र जनसंख्यासहितलाई आधार मानी शूत्रका आधारमा उपलब्ध हुनुपर्नेमा मनोमानी तवरले बजेट सिलिङ भएकाले तत्काल सुधार गर्न माग गरिएको छ।

नगर गौरव आयोजना भनी विगतमा कार्यक्रम राखिएका तीन वटा सडक हाल संघीय सरकारको कार्यक्रममा राखिएकाले नगरपालिकाले पनि सडकमा नै पुन: रकम छुट्याएको र उक्त कार्यक्रम आर्थिक अनियमितता तथा दोहोरो स्रोत दुरुपयोग गर्ने मनसायले प्रेरित रहेको उनीहरूको आरोप छ।

‘विगत दुई आर्थिक वर्षदेखि ब्रहतोल बाह्रबीसमा खेल मैदान निर्माण भइरहेकोमा सोही स्थानमा अर्को जग्गा खरिदको शीर्षकमा लाखौं रकम छुट्याइएकोमा पुन: ५० लाख छुट्याएर जग्गा खरिद गर्ख खोज्नुले आर्थिक दुरुपयोग गर्न खोजेको प्रस्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ।

करार सेवाका कर्मचारीको तलबमा ठूलो रकम खर्च भइरहेको बताइएको छ। ‘करिब ४ करोड हाराहारीमा करार सेवाका कर्मचारीको तलबमा खर्च भइरहेको छ। यसले विकास निर्माणका काममा बाधा पुर्‍याएको छ। नगरलाई आवश्यक जनशक्ति लोकसेवा आयोगबाट माग गरि कर्मचारी पुर्ति गर्नुपर्नेमा मनोमानी कार्यकर्तालाई करारमा भर्ति गरि अनावश्यक आर्थिक भार थुपार्ने काम भएको छ। इन्धनमा ३० लाख, भ्रमणमा २० लाख र परामर्श ३० लाखका जस्ता अनुत्पादक क्षेत्रमा समेत लाखौं बजेट विनियोजन गर्न खोज्नुले भ्रष्ट मानसिकता प्रष्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ।

यस्तो भजुल खर्चले जनताको नैसर्गिक अधिकार शिक्षा, स्वास्थ्य, सडकलगायत क्षेत्रको विकासमा बाधा पुग्ने उनीहरूको ठहर छ। तसर्थ यस्ता विषयमा विनियोजन गर्न खोजिएको बजेटलाई सुधार गरि विकास क्षेत्रमा बढाउन माग गरिएको छ।

वडा नम्बर ४ का अध्यक्ष मिनबहादुर शाह, ७ नम्बर वडाध्यक्ष भवनसिंह केसी, ८ नम्बर वडाध्यक्ष रमेशबहादुर रावल र १२ जना नगरसभा सदस्यहरूले बजेट सिलिङप्रति असन्तुष्टि जनाउँदै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.