स्वास्थ्य मन्त्रालयको निर्देशन- अनिवार्य एम्बुलेन्स सञ्चालन अनुमति लिनु

डिसी नेपाल
११ असार २०८२ १४:४४
36
Shares

काठमाडौं । देशभर सञ्चालनमा रहेका धेरैजसो एम्बुलेन्स हालसम्म पनि अनुमति नलिई सञ्चालन भैरहेको पाइएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति लिएर मात्र सेवा प्रदान गर्न निर्देशन दिएको छ।

स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईअन्तर्गतको राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिको २०८२ जेठ ३० गते बसेको बैठकले अब अनुमति बिना सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई अनिवार्य सञ्चालन अनुमति लिन निर्देश दिएको हो।

‘अबदेखि एम्बुलेन्स सेवा प्रदान गर्न चाहेमा जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति सँग समन्वयमा रही सेवा दिनुपर्नेछ। साथै, सेवा दिने क्रममा सम्पूर्ण मापदण्डहरू पालना गरेको हुनुपर्नेछ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।

अनुमति प्राप्त गर्नका लागि जीपीएस प्रणाली जडान गरिएको हुनु पर्ने, प्रेषण केन्द्र प्रणालीमा अनिवार्य आबद्धता, राजश्व छुट लिएको जिल्लामै सेवा दिइरहेको हुनु पर्ने र फोरह्विल सवारी हुनु पर्ने मापदण्ड रहेका छन्।

त्यसैगरी निर्देशिकाअनुसार वर्ग, रङ, उपकरण तथा चालकको तालिम पूरा भएको हुनु पर्ने र राजश्व छुटको सिफारिस गर्दा पनि राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १३ (ञ) बमोजिम प्रदेश सिफारिस पत्रमा यसअगाडि छुट लिएको/नलिएको स्पष्ट खुलाउनुपर्ने उल्लेख छ।

स्वास्थ्य मन्त्रालयले सबै एम्बुलेन्स सञ्चालक, सम्बन्धित निकाय तथा सेवा प्रदायकहरूलाई यथाशीघ्र आवश्यक अनुमति लिई कानुनी रूपमा सेवा संचालन गर्न अनुरोधसमेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.