अन्नपूर्णमा स्थलगत भुक्तानी शिविर
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिलाई योजनाको भुक्तानी दिन थालेको छ।
गाउँपालिकाको कार्यालय पोखरेबगर आउन अपायक पर्ने उपभोक्ता समितिलाई घुम्ति शिविरमार्फत वडा कार्यालयमा पुगेर भुक्तानीसम्बन्धी सेवा दिएको हो। गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनको नेतृत्वमा रहेको अनुगमन समिति, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेल र लेखा अधिकृत नवीन पौडेल सहितको टोलीले बिहीबार वडा नं १ दोवामा घुम्ती शिविर मार्फत योजनाको स्थलगत भुक्तानीसम्बन्धी सेवा दिएको जनाइएको छ।
‘गाउँपालिका कार्यालय आउनजान अपायक पर्ने उपभोक्ता समितिको सहजताका लागि हामीनै वडामा पुगेर स्थलगत अनुगमन, प्राविधिक मूल्याङ्कन र भुक्तानीसम्बन्धी सेवा दिन थालेका हौ,’ उनले भने, ‘वडाका जनप्रतिनिधिमार्फत आवश्यक कागजात र प्रतिवेदन तयार पारेपछि गाउँपालिकाबाट वडामै पुगेर भुक्तानी दिने नयाँ अभ्यास गरिएको हो।’
हालसम्म चार वटा उपभोक्ता समितिले वडाबाटै भुक्तानी पाइसकेका छन्। एउटा उपभोक्ता समितिको बिल नमिलेपछि कागजात मिलाएर गाउँपालिकामा आउन सुझाव दिएको उपाध्यक्ष तिलिजाले बताए।
गाउँपालिकाले यसअघि वडा कार्यालयमा पुगेर योजना सम्झौता र उपभोक्ता समितिलाई अभिमुखीकरण गर्दै आएको थियो। वडामै भुक्तानीसम्बन्धी सेवा पाउँदा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई पालिकाको केन्द्रमा पुग्ने झञ्जट हट्नुका साथै खर्च र समयको बचत भएको अन्नपूर्ण–१ का वडा अध्यक्ष दिलीपकुमार गर्बुजाले बताए।
अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा ११३ वटा पूर्वाधारसम्बन्धी योजना सञ्चालन गरेको छ। त्रियासी वटा योजनाका उपभोक्ता समितिले भुक्तानी लगिसकेका छन् भने ३१ वटाको बाँकी छ। ठेक्का तथा कोटेशनमार्फत सञ्चालित १८ वटा योजनामध्य आठ वटाको भुक्तानी भएको र १० वटा बाँकी रहेको जनाइएको छ।







डिसी नेपाल







Facebook Comment