भारतीय आँपका कारण नेपाली व्यवसायीलाई चिन्ता, स्वदेशी उत्पादनको प्रर्वद्धन गर्न माग
काठमाडौं। फलफुलहरुको ‘राजा’को उपमा पाएको आँप यतिबेला नेपाली बजारमा छ्यापछ्याप्ती छ।
तर विषादी मिसिएको विदेशी आँपका कारण नेपाली उत्पादन प्रभावित हुँदै आइरहेको छ। नेपालमा उत्पादित आँपमा बिषादीको मात्रा कम गराउनेतर्फ लाग्नुपर्नेमा व्यवसायीहरुले बताउने गरेका छन्।
शुक्रबारदेखि काठमाडौंको लाजिम्पाटमा सुरु भएको आँप महोत्सवमा सहभागी व्यवसायीहरुले विषादीरहित आँप उत्पादनमा जोड दिएका छन्। विषादीरहित आँपको प्रर्वद्धनमा जोड दिनपनि उनीहरुको आग्रह छ।
भारतबाट आयातित विषादी मिसिएको आँपका कारण विषादीरहित आँप सेवन गर्न पनि व्यवसायीहरुको आग्रह छ।
‘म्याङ्गाे फेष्ट २०२५’का निर्देशक भुवन केसीले नेपाली बजारमा ४० प्रतिशत आँप भारतबाट भित्रिएका विषादीयुक्त आँपको सट्टामा स्वदेशी आँप चिनेर खरिद गर्न आग्रह गरे।
‘प्रदर्शनमा २० प्रजातिका आँप राखेका छौं। जसमध्ये सबैभन्दा महंगा जापानबाट आयात गरिएको ‘ताईयो नो टोमागो’ जातको आँप राखिएको छ। नेपालमा जतिपनि आँप छ त्यसको ४० प्रतिशत आँप भारतबाट नै आयात हुने गरेको छ। भारतीय आँपलाई हटाएर लोकल आँपको चर्चा सबैले गरिदिनुपर्छ। महोत्सवमार्फत पनि स्वदेशी आँपका विषयमा बोलिदिनुपर्छ,’ उनले भने।
प्रदर्शनीमा ‘ताईयो नो टोमागो’ जातको जापानी आँप पनि प्रदर्शन गरिएको छ। जसको मूल्य प्रतिकिलो ३ देखि ४ लाख रुपैयाँसम्म पर्ने उनले सुनाए। नेपालका रैथाने दशहरी, जरदा, किसानबोग, कलकतियालगायतका आँपहरु प्रर्वद्धनमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ। अहिले नोपालमा १२० प्रजातिका आँपहरु पाइन्छ। नेपाली आँपमा बिषादी कम प्रयोग गरिएको हुन्छ भने भारतबाट ल्याइएको आँपमा भने धेरै विषादी प्रयोग गरिएको व्यवसायीको भनाइ छ।
नेपालमा सुरुमा बिउ राख्दा विषादी प्रयोग गरिएतापनि आँप पकाउनका लागि भने विषादी प्रयोग नहुने उनीहरुको भनाइ छ। बजारमा धेरैजसो भारतीय आँप नै पाइने भएककाले त्यस्ता आँपलाई हटाएर लोकल आँपको चर्चा गर्नुपर्नेमा व्यवसायीहरुको जोड छ।
एग्री नेपालकी फाउण्डर सुनिता नेम्हाफुकीले सरकारले विषादी रहित आँप उत्पादनमा किसानहरुलाई प्रोत्साहित गर्नुपर्ने बताइन्। काठमाडौंमा महोत्सव गर्नुको औचित्य भनेको श्रमिक र किसानहरुको सम्मानका लागि भएको उनले बताइन्।
त्यसैगरी उष्ण प्रदेशीय वागबानी केन्द्र नवलपुरका प्रमुख राम कुमार यादवले आँप पकाउन विषादी प्रयोग गर्ने गरिएकाले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए। नेपालमा ७० बढी जातको आँप पाइने भएकाले सोही अनुसारको विरुवा उत्पादन गरिरहेको जानकारी दिए।
बागवानी केन्द्रमा १२० बिगा भन्दा बढी जग्गामा इन्डियन, पाकिस्तानी, अमेरिकनलगायत थुप्रै जातका आँपहरु पाउने गरिएकको जानकारी पनि दिए।
विगतको तुलनामा यस बर्ष आँपको मुल्य बढेको अभाव सुरु भएको पनि
कृषक कल्पना तिमल्सिनाका अनुसार अहिलेको रासायनिक मलको प्रयोग र भारतीय आँपका कारण मानिसको स्वस्थ्यमा असर परेकाले सचेत भएर काम गर्न सुझाए।
नेपाली आँपहरुलाई बजारीकरण गर्ने मानिसहरु नरहेकाले यसमा ध्उान दिनुपर्ने उनको बुझाइ छ।
उनले भनिन्,‘अहिलेको रासायनिक मलको प्रयोग र भारतीय आँपका कारण मानिसको स्वस्थ्यमा परेको असरले गर्दा नेपाली आँपहरुलाई ठाँउठाँउमा बजारीकरण गर्न आवश्यक रहेको छ।’ उनले आँपको पकेट एरिया विकास गर्न, आँप खेतीमा किसानहरुलाई प्रोत्साहन गर्न र अर्गानिक उत्पादन बढाउनुपर्नेमा जोड दिइन्।
सरकारी तथ्यांक अनुसार देशभर ४२ हजार ७ सय ७३ हेक्टर क्षेत्रफलमा आँप खेती हुन्छ। जसबाट वार्षिक पाँच लाख १३ हजार ५५ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ।
यसमध्ये मधेश प्रदेशमा मात्रै २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको छ। जहाँबाट वार्षिक तीन लाख ९५ हजार ७९४ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ।







डिसी नेपाल







Facebook Comment