पोखराले एनपीएलको दोस्रो संस्करणमा कुशल भुर्तेलसहित सात खेलाडी निरन्तरता दिने

डिसी नेपाल
१५ असार २०८२ १९:५४
204
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो सिजनका निम्ति पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सातजनालाई रिटेन गरेको छ।

पोखरा एभेन्जर्सले आइतबार विज्ञप्ती जारी गर्दै भुर्तेलसहित सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, दिनेश खरेल र तृतराज दासलाई आगामी संस्करणमा पनि निरन्तरता दिने जनाएको हो। भुर्तेल अलराउन्डर हुन् भने ढकाल, चन्द र खत्री बलर हुन्। रिटेन हुने ठगुन्ना, खरेल र दास ब्याट्सम्यान हुन्।

त्यस्तै पोखराले पहिलो संस्करणमा खेलेका दिलिप नाथ, नारायण जोशी, सुनम गौतम, अमृत गुरुङ र सुदिप अर्याललाई रिलिज गरेको छ।

एनपीएलको सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीका अनुसार दोस्रो सिजनलाई भव्य बनाउन पोखराले आफ्नो टिममा चर्चित विदेशी क्रिकेटर ल्याउने तयारी गरेको छ।

‘हामी प्रख्यात विदेशी क्रिकेटरहरुसँग संवाद गरिरहेका छौँ। टिमलाई बलियो बनाउन हामी प्रख्यात क्रिकेटर ल्याउने छौँ। यसले एनपीएलको पनि गरिमा बढाउने विश्वास छ,’ त्रिपाठीले भने।
नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरमा एनपीएलको दोस्रो संस्करण नोभेम्बरमा हुने उल्लेख छ। यद्यपी हालसम्म औपचारिक रुपमा निश्चित मिति भने सार्वजनिक गरिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.