छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ तिनथानास्थित सडकमा बा.८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बा. प्र.०२-०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएर शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरूसिङगे बजारस्थित सडकमा हाल नम्बरको नखुलेको मोटरसाइकलको ठक्करबाट पहिचान नखुलेकी अन्दाजी ३० वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ।
सिराहाको सिरहा नगरपालिका-१७ स्थित सडकमा बीआर ३२ वाई ३९९१ नम्बरको कारको ठक्करबाट साइकलयात्री भारत जयनगर थाना बेलापूर्वी पंचायत-७ बस्ने ४० वर्षीय प्रमेश्वर यादवको शुक्रबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चितवनको राप्ती नगरपालिका-२ गढ्यौलीस्थित सडकमा ना. ६४ प २९४२ नम्बरको मोटरसाइकलले साकललाई ठक्कर दिदाँ साइकलमा सवार सोही नगरपालिका-२ बस्ने १५ वर्षीय सोहन तामाङको बिहीबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र साइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment