बाढी र पहिरोको उच्च जोखिम : जोमसोम–बेनी सडक रात्रिकालीन समयमा बन्द

डिसी नेपाल
१९ साउन २०८३ २०:३६

मुक्तिनाथ (मुस्ताङ) । जल तथा मौसम विज्ञान विभागले कालीगण्डकी नदी तथा मुस्ताङका खोलानालामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरेसँगै जोमसोम–बेनी राष्ट्रिय राजमार्गमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

मौसम विभागको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेको सुरक्षा समितिको बैठकले मंगलबार र बुधबार दुई दिन रात्रिकालीन समयमा राजमार्ग बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिए।

म्याग्दी जिल्लासँगको समन्वयमा साँझ ७ देखि बिहान ५ बजेसम्म मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने थासाङ गाउँपालिका–४ घाँसाबाट सवारीसाधन प्रवेश तथा बाहिरिन पूर्ण रूपमा रोक लगाइएको छ। मौसमको अवस्था हेरेर प्रतिबन्धको अवधि थप गर्न सकिने सुरक्षा समितिले जनाएको छ।

आइतबारदेखि नै रात्रिकालीन समयमा कडाइ गरिएको छ भने अटेर गरेर सीमा पार गर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

७६ किलोमिटर लामो जोमसोम–बेनी सडक खण्डमध्ये करिब २२ किलोमिटर क्षेत्र बाढीपहिरोको उच्च जोखिममा रहेको छ। यसका साथै, अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्ला पास पार गरी मनाङ हुँदै मुस्ताङ आउने पर्यटकको सुरक्षालाई समेत ध्यानमा राख्दै स्थानीय तहहरूसँग समन्वय भइरहेको प्रशासनले बताएको छ। रात्रिकालीन समयको यो कडाइले विगतमा बाढीपहिरोका कारण हुने ठूलो मानवीय क्षति तथा दुर्घटनाहरूमा कमी आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *