कहाँ अड्कियो समाजवादी र राजपाको एकता प्रक्रिया?

डिसी नेपाल
१७ भदौ २०७६ १२:५४

काठमाडौं। सत्तारुढ समाजवादी पार्टी र प्रतिपक्ष राष्ट्रिय जनता पार्टी (राजपा) बीचको एकता प्रक्रिया अन्योलमा परेको छ। यी दुई दलबीच एकताका विषयमा अनौपचारिक छलफल भइरहेपनि सकारात्मक हुन नसकेको नेताहरुले बताएका छन्।

दुई नम्बर प्रदेशमा संयुक्त सरकार चलाएका यी दुई दलबीच एकता गर्न समाजवादी पार्टीले रुची देखाएको थियो। सुरुमा समाजवादी पार्टीले एकताका लागि राजपालाई पत्र पठाएको थियो। समाजवादी पार्टीको पत्र पाएपछि उत्साहित भएको राजपाले नेता राजेन्द्र महतो संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।

पत्रमार्फत सवाल जवाफ गर्दै केही अनौपचारिक भेटघाटमा मात्रै एकताको कुरा सीमित भएको छ।  सुरुमा एकताका लागि राजपाले समाजवादी पार्टीलाई सरकारबाट बाहिरिनु पर्ने सर्त राखेको थियो। जसलाई समाजवादी पार्टीले सकारात्मक रुपमा लिन सकेन। समाजवादी पार्टीले सरकारबाट बाहिरिनु पर्ने राजपको सर्तलाई एकता नचाहेको रुपमा बुझेको छ।

एक वर्षभन्दा बढी समयदेखि एकताका लागि प्रयासरत यी दुई दलबीच विभिन्न चरणमा छलफल पनि भएका थिए। केही समयअघि मात्रै नयाँ शक्ति र संघीय समाजवादी फोरम एक भएपछि निर्णायक रूपमा कुनै छलफल हुन सकेको छैन।

पछिल्लो पटक भदौ १२ गते समाजवादी पार्टीले एकताका लागि राजपालाई प्रस्ताव पेश गरेको थियो । स्रोत भन्छ, ‘पार्टीका अध्यक्ष उपेन्द्र यादवले पठाएको प्रस्तावमा महन्थ ठाकुर मानार्थ अध्यक्ष, डा. बाबुराम भट्टराई पहिलो वरीयताको अध्यक्ष र आफू दोस्रो वरीयताको अध्यक्ष रहने भनिएको थियो । तर, त्यसमा राजपाले कुनै प्रतिक्रिया दिएन।’

राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले एकता प्रक्रियालाई अगाडि बढाउन राजपाले वार्ता टोली गठन गरेको र वार्ता टोलीले नै एकताका विषयमा छलफल गरिरहेको डिसी नेपाललाई बताएका थिए। राजपाको जारी अध्यक्ष मण्डलको बैठकमा पनि दुई दलबीचको एकताका विषयमा छलफल भइरहेको छ।

राजपामा एकतापछि अध्यक्षमण्डलमा रहेका नेताहरूको व्यवस्थापनमा समस्या हुने देखिएपछि एकता टर्दै आएको बताइन्छ। राजपामा महाधिवेशनअघि एकता गर्नुपर्नेमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजेन्द्र महतो र महेन्द्र राय यादव सहमत छन् भने राजकिशोर यादव र अनिल झा महाधिवेशनपछि एकता गर्नुपर्ने पक्षमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *