‘नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’
काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित भइरहेको बताएका छन्।
युवा तथा खेलकुद मन्त्रालयको आयोजना र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा राष्ट्रिय खेल सङ्घका पदाधिकारीसँगको अन्तरक्रियामा मन्त्री चौधरीले मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको प्रशिक्षणमा रहेका खेलाडीको सुविधा वृद्धिमा पहल गरिनेसमेत बताए। उनले निजी क्षेत्रसँग सहकार्य गरी खेलकुदलाई अगाडि बढाउने बताउँदै सुशासन, पारदर्शीता र सुदृढीकरणमा जोड दिए।
त्यसैगरी, राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यक्रममा सहभागीको सुझाव सकारात्मक रहेको बताए। खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालले खेलकुदका समस्या समाधानका लागि समयसमयमा यस्तो कार्यक्रम जरुरी भएको बताए।
कार्यक्रममा खेलकुद मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीले कानुनी, प्रशासनिक, आर्थिक र विविध पक्षमा कार्यपत्र प्रस्तुत गरेका थिए। राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सानुराजा केसीले राष्ट्रिय खेल संघका आर्थिक स्रोत, अन्तर्राष्ट्रिय संघ÷महासंघबाट प्राप्त सहयोग, प्रायोजन, टिकट बिक्री, प्रशिक्षण शुल्क, खेलाडी ग्रेडिङ र लाइसेन्स विवरण, भौतिक संरचना तथा बजेटबारे कार्यपत्र पेस गरेका थिए।
एकदिने उक्त कार्यक्रममा सहभागीले दसौँ राष्ट्रिय खेलकुद, खेलाडीले पाउने पुरस्कार, कर्मचारीको दरबन्दी, खेल सामग्री, अन्तरराष्ट्रिय एक्सपोजर, लेखापरीक्षण, पेस्की, बेरुजु, प्रशिक्षणस्थल, बजेट, खेल सामग्रीलगायत विषयमा आआफ्नो धारणा राखेका थिए।







डिसी नेपाल








Facebook Comment