महिला कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाने

डिसी नेपाल
२ साउन २०८२ १६:३५
28
Shares

काठमाडौं । दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको हरियाणा जाने भएको छ।

टोली १४ खेलाडीसहित १८ सदस्यीय रहेको छ। प्रतियोगिता अगष्ट ३ देखि १० तारिखसम्म हरियाणाको मोरमाजरामा हुनेछ।

खेलाडीमा मानमति विष्ट (कप्तान), जयन्ती बडु (उपकप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन्।

प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन्।

प्रतियोगिताअघि नेपाली टोलीले मोरमाजरामै १२ दिनको अवधिमा प्रशिक्षणका साथै स्थानिय ५ क्लबसंग अभ्यास खेल पनि खेल्ने छ।

एसियाका ४७ राष्ट्र मध्येबाट विश्व वरीयतामा तेश्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै प्रतियोगितामा सहभागी हुन लागेको हो। प्रतियोगितामा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्ड सहभागी हुनेछन्।

विश्वकपको दोश्रो संस्करण १३ वर्षपछि हुन लागेको हो। पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा भएको थियो।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव घिसिङले महिला खेलाडीको ग्राफ उकालो लाग्दै गएको बताउदै एसियाली प्रतियोगितामा पनि पदक जित्दै महिला कबड्डी टोली दक्षिण एसियामा मात्र सीमित छ भन्ने भ्रमलाई चिर्न सफल भएको बताए।

निर्देशक विष्टले देशका लागि केही गर्छु भन्ने भावनाका साथ प्रतिस्पर्धा गर्न बताउदै पदक जितेर आउन शुभकामना दिए।

प्रशिक्षक भट्ट र कप्तान मानमतिले ८ महिनाको बन्द प्रशिक्षणले तयारी राम्रो भएको बताउदै पदक जित्नेमा आशावादी रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.