सुदूरपश्चिममा बोलिने भाषा सम्बन्धी एक दिने गोष्ठी सम्पन्न
काठमाडौं । सुदूरपश्चिम महालक्ष्मी समाज इमाडोल, ललितपुरद्वारा आयोजित ‘सुदूरपश्चिममा बोलिने भाषा सम्बन्धी एक दिने गोष्ठी‘ सम्पन्न भएको छ।
शनिबार ललितपुरको इमाडोलमा भाषा गोष्ठी आयोजना गरिएको हो। गोष्ठीमा डोट्याली भाषाको भाषिक स्थिति सम्बन्धी कार्यपत्र यज्ञराज जोशी, बझाङ्गी भाषाको परिचय सम्बन्धी लोक बहादुर सिंह, अछामी भाषाको विगत र वर्तमान डा. खगेन्द्र घोडासैनी, डडेल्धुरेली भाषा: परिचय, संरक्षणको आवश्यकता र सम्भावना डा. मोजन प्रसाद भट्ट र मानसी भाषाको अतीत र वर्तमान डा. पदमराज कलौनीले गरी ६ वटा कार्यपत्र प्रस्तुत भएका थिए।
भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा भाषा आयोगका सदस्य डा. पुष्कर राज भट्ट अतिथि थिए।
नेपालको भाषिक विविधतालाई मनन चिन्तन र यथार्थतालाई हेरी भाषिक र सांस्कृतिक उपसमिति बनाउनु पर्ने आवश्यकताका बारेमा ठाकुरले धारणा राखेका थिए।
समाजका सह-सचिव कर्ण बहादुर कुँवरले स्वागत मन्तव्य राखेको गोष्ठीको सभापतित्व समाजका अध्यक्ष डा. पदमराज कलौनीले गरेका थिए।
गोष्ठीको सहजकर्ता समाजका सदस्य गणेश प्रसाद भट्टले गरेका थिए भने समाजका सचिव त्रिलोक सिंह रावलले धन्यवाद ज्ञापन गरेका थिए।
गोष्ठीमा भाषविद् डा. बद्री प्रसाद शर्मा बिनाडी, पाटन संयक्त क्याम्पस उपप्राध्यापक विष्णु ज्ञावली, पाटन क्याम्पसकै शान्ति भट्ट, सुदूरपश्चिम विश्वविद्यालय भाषा साहित्य तथा संस्कृति अध्ययन केन्द्र, कञ्चनपुरका निर्देशक प्रा. डा. हरिशचन्द्र भट्ट, गोरखापत्रको नयाँ नेपालमा पृष्ठमा लेखिने बझाङी भाषाका पृष्ठ उप-संयोजक मीन बहादुर सिंहलगायतको उपस्थिति थियो।

समारोहमा प्रमुख अतिथि ठाकुरले बोजेपोखरी मन्दिरका मूलपुजारी रामचन्द्र ओझा, पुजारी डिल्ली राज ओझा, पुजारी शिवदास महर्जन, समाजसेवी सानुकाजी महर्जन र राजन कुमार बिष्टलाई दोसल्ला ओडाएर सम्मान-पत्र प्रदान गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment