कुलिङ अफ पिरियड प्रकरणमा रामहरि खतिवडा भन्छन् ‘म दोषी भए प्रतिनिधि सभाका सबै सदस्य दोषी हुन्’
काठमाडौं। संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटिबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदनमा विधेयकको मस्यौदामा संशोधन गरेर प्रतिनिधि सभामा पेश गर्न जिम्मेवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सदस्यहरु नैतिक रुपमा जिम्मेवार रहेको निष्कर्ष निकालेपछि राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले यसको प्रतिवाद गरेका छन्।
नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था समितिका सभापति खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहित संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार पारेपछि खतिवडाले यसमा आफू नैतिक जिम्मेवार हुने भए सिंगो प्रतिनिधि सभा समेत नैतिक रुपमा जिम्मेवार हुने तर्क गरेका छन्।
‘प्रतिवेदनमा भएको त्रुटि हेरेर सच्याउनुपर्नेमा असावधानीवश नसच्याएकै आधारमा मलाई दोषी ठहर गरिन्छ भने यो गल्ती त सिंगो प्रतिनिधि सभाबाट समेत भएको छ’ उनले डिसीनेपालसँग भने ‘त्रुटि भएको प्रतिवेदन हेर्दै नहेरी पारित गर्दा प्रतिनिधि सभाका सबै सदस्यबाट समेत कमजोरी भएको छ, त्यसैले प्रतिनिधि सभा समेत नैतिक रुपमा जिम्मेवार हुन्छ।’
उनले आफूले प्रतिवेदन तयार गरेर प्रतिनिधि सभामा पठाएको र सभापतिको हैसियतमा त्यसमा हस्ताक्षर गरेको हुँदा त्यसको नैतिक जिम्मेवारी लिन तयार रहेको बताउँदै भने ‘सभापति मै हो, मबाट भएको कमजोरीको जिम्मा मैले लिन्छु तर असावधानीवश त्रुटि मबाट मात्र भएको होइन त्यसैले एक पक्षमाथि मात्रै दोष थोपरिनु उचित होइन।’
प्रतिवेदन प्रतिनिधि सभामा पेश हुन बाँकी नै रहेकोले प्रतिवेदन हेरेपछि थप निर्णय गर्ने खतिवडाले बताएका छन्।
‘मैले प्रतिवेदन हेरेको छैन त्यसैले त्यहाँ के लेखिएको छ भन्ने प्रस्ट थाहा छैन’ उनले भने ‘प्रतिवेदन हेरेपछि पार्टी नेतृत्वसँग समेत सल्लाह गरेर अगाडि के गर्ने भन्ने निर्णय हुनेछ ।’ उनले आफू सुरुदेखि नै कुलिङ अफ पिरियड राख्ने पक्षमा भएको बताउँदै यो काम आफूले नियतवश नगरेको बताए ।
संसदीय समितिले समिति सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरा नैतिक जिम्मेवार हुने ठहर गर्दै प्रतिवेदनमा उनीहरुको नाम नै किटान गरेको स्रोतले बताएको छ।
यसबाहेक समितिका अन्य पदाधिकारी र उच्च पदस्थ कर्मचारीहरु पनि नैतिक जिम्मेवार हुने भनिएको छ तर अरुको नाम किटान गरिएको छैन। समितिबाट प्रतिनिधि सभामा गएको प्रतिवेदनमा सभापति खतिवडा र सचिव दुराको दस्ताक्षर भएकोले उनीहरुको नाम किटान गरिएको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment