पूर्णरुपले अवरुद्ध राजमार्ग सुचारु गर्न सांसद गैरेको माग
काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरेले पूर्णरुपले अवरुद्ध भएका राजमार्ग सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ग्रामिण क्षेत्रका सडक अवरुद्ध हुँदा स्थानीय जनजीवन कष्ठकर भइरहेको भन्दै सरकारको प्रयत्नलाई रुपान्तरण गर्नुपर्ने बताए।
‘पश्चिम पाल्पाको जुठापौवा, बलङगढीखण्डमा बाटो भासिएर स्थानीय जनजीवन कष्ठकर भैरहेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गतका आरुभञ्ज्याङ राम्दीखण्ड त्यहाँका सम्पूर्ण ग्रामिण क्षेत्रका सडकहरु समेत पहिरोले बन्द भएको छ। नागरिकहरुको यात्रा अवरुद्ध हुँदा त्यसलाई सुचारु गर्न सरकारको प्रयत्नलाई सार्थक रुपमा रुपान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भने।
उनले सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबाखण्डमा ठूलो पहिरो जाँदा लगभग १९/२० घण्टादेखि यात्रु अप्ठेरोमा परेको भन्दै सुचारुको लागि ध्यानाकर्षण गराएका छन्।
उनले भने, ‘सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबाखण्डमा ठुलो पहिरो जाँदा १९/२० घण्टा देखी सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुहरु र त्यो क्षेत्रबाट अन्य क्षेत्रमा जाने यात्रुहरुको यात्रा पूर्णरुपले अवरुद्ध भएको छ। यात्रुहरु बाटोमा विचल्ली हुने परिस्थीति बन्यो, त्यहाँबाट नुवाकोट दोभानको वैकल्पित बाटो सञ्चालन गर्न तिनाउ गाउँपालिका, सरकार, सुरक्षाकर्मी लगायतले प्रयत्न गरिरहनु भएको छ तर सफल हुन सकेको छैन।’







डिसी नेपाल








Facebook Comment