कविता : आज प्रेत पूजा छ

दिनेश घिमिरे
३१ साउन २०८२ ७:४३
1.1k
Shares

मध्य रातलाई बाँधेर आकासलाई साँक्षी राखी
अपनत्वको मैजारोमा आफ्नै प्रेतहरूलाई सम्झेर
आफैंलाई असरल्ल भएका सम्बन्धहरू मध्येको
कालो सम्बन्धहरूमा समर्पित आज प्रेत पूजा छ।

मघ्यरातमा प्रेत हावासँगै आवाज ओकल्छन्
छमछमी उल्टो दिशामा हिँड्दै गिज्याउँछन्
अनर्गल गन्धरसको अभ्यासले मान्छे बिग्रीसके
यसैले बहकिएको हावा बाँधेर आज प्रेत पूजा छ।

पातालमा लुक्छन् प्रेतको उत्सृखल आत्माहरू
मध्यरातमा घर समाजमा बिकृति बनाइरहन्छन्
अनेकन अस्वभाविक बिचारहरु बनाइरहन्छन्
यसैले असंगतिहरू बाँधेर आज प्रेत पूजा छ।

बिश्वास छैन आफैंमा शंकैशंका छन् सबमा
डरैडरका बज्दछन् धुनहरू अबिश्वासको आडमा
शून्य छन् विवेकहरू कालो आकास बनाइरहेछ
यसैले कालो आकास बाँधेर आज प्रेत पूजा छ।

मानव जीवन अस्तित्वमा मानव बनाउनु छ
आफैंलाई बेचेर लिलामी पूजामा जित्नु छ
सम्बन्धहरूको पसिनामा बिश्वास खोज्नु छ
जीवित आकांक्षाहरूमा बिश्वास बनाउनु छ
यसैले समकालीन समय बाँधेर आज प्रेत पूजा छ।।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *