टप एन्ड टी–२० सिरिजमा नेपाल र होबार्ट हरिकेन्स भिड्दै
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल र बिग ब्यास लिगको अनुभवी टोली होबार्ट हरिकेन्स एक आपसमा भिड्दै छन्।
लगातार तीन हार बेहोरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज पहिलो जितको खोजीमा चौथो खेल खेल्दैछ। डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाली टोली रहेको छ भने हरिकेन्सको कप्तानी बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइटले सम्हाल्नेछन्।
जारी प्रतियोगितामा नेपालले यसअघिका तीनवटै खेलमा हार बेहोरेको छ। नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रन, दोस्रोमा बंगलादेश ‘ए’ सँग ३२ रन र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो।
नेपालको प्रतिद्वन्द्वी होबार्टको प्रदर्शन पनि मिश्रित रहेको छ। ३ खेल खेलेको होबार्टले १ खेलमा जित निकालेको छ भने दुई खेलमा पराजित भएको छ। पहिलो खेलमा एसीटीलाई हराएको होबार्ट त्यसपछि मेलबर्न स्टार्स र एनटी स्ट्राइकसँग पराजित भएको थियो।
११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६–६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। हाल अंकविहीन रहँदै पुछारबाट दोस्रो स्थानमा रहेको नेपाललाई सेमिफाइनलको आशा जीवित राख्न पनि आजको खेल जित्नै पर्ने दबाब छ। यो खेलपछि नेपालले बुधबार मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका रहेको छ।







डिसी नेपाल







Facebook Comment