नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा चार जना पक्राउ

डिसी नेपाल
४ भदौ २०८२ २३:३८
144
Shares

बागमती। नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नक्कली सुनसहित हेटौँडा उपमहानगरपालिका– ११ सुकुम्वासी टोलमा कोठा भाडामा लिई बस्दै आएका मकवानपुरगढी गाउँपालिका– २ निवासी ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका– ८ निवासी ४५वर्षीय सूर्यबहादुर नेगी, सोही ठाउँका ४४ वर्षीय सेतेलाल गोङवा र नुवाकोट किस्पाङ गाउँपालिका– १ भाल्चे निवासी ४१ वर्षीय नाम्केल तामाङलाई पक्राउ गरेको हो।

उनीहरुको कोठाभित्र खानतलासी गर्ने क्रममा झोलाभित्र राखिएको अवस्थामा पम्प लेखिएको सुन जस्तो देखिने पहेँलो धातु ५० थान फेला परेको र आवश्यक परीक्षणका लागि मकवानपुर सुनचाँदी व्यवसायी संघलाई पत्राचार गर्दा जसमध्ये ४९ थान नक्कली रहेको र एक थान १० ग्राम सक्कली सुन भएको पुष्टि भएकाले चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

बरामद् सक्कली सुनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ। बाँकी ४९ थान सुन जस्तो देखिने नक्कली पहेँलो धातुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। पक्राउ परेका चारै जनामाथि ठगी उद्योग कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *