अनुभूति : सम्झनामा बा
मेरो प्यारो बन्दीपुर तनहुँ जिल्लाको तत्कालिन सदरमुकाम हुनाले ठुलो वाणिज्य केन्द्र थियो। यो बजार सभ्य, शिक्षित मात्र थिएन क्षमतावान पनि थियो।
यसको परिचय यत्तिमा मात्र सिमित थिएन। २००७ सालको प्रजातान्त्रित आन्दोलनको अग्र मोर्चामा बन्दीपुर लडेको थियो। सर्वप्रथमत: राणा शासन विरूद्ध को त्यो क्रान्तिमा बन्दीपुर बजारको युद्ध भूमिमा सेनाको गोलीबाट एकै दिन सहादत प्राप्त गरेका आदरणिय सहिदहरू धर्मध्वज गुरूङ, उत्तर कुमार श्रेष्ठ, सन्त बहादुर राना, खडग बहादुर गोदार, चन्द्र बहादुर सार्की र धर्मराज श्रेष्ठमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु। सम्मान जाहेर गर्दछु। यसरी बन्दीपुरले राष्ट्रिय राजनीतिमा निभाएको भूमिका नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिएको छ।
यस्तो उज्यालो बर्तमानमा बाँचिरहेको र हाँसिरहेको वन्दीपुरमाथि बि. सं. २०२५ सालमा बैरीको कुदृष्टि पर्याे। तत्कालीन सरकारले बन्दीपुरेहरूलाई गोलीले दागेर नै किन नहोस् सदरमुकाम बन्दीपुरबाट अन्यत्र सार्याे र खण्डहर बनायो।
बन्दीपुरको कला र संस्कृति ओझेलमा पर्याे। त्यहाँका पुरातात्विक धरोहरहरू र ऐतिहासिक कलात्मक भवनहरू भुत बंगलामा परिणत भए। त्यो दारूण अवस्थामा बन्दीपुरमा पेशा, ब्यबसाय केही नचल्ने भयो।
बन्दीपुरे दाजुभाइ र दिदीबहिनीहरूले सुनौलो भविष्यको लागि मुटु गाँठो पार्दै र रोदनको छाल कण्ढमा नै रोकेर जन्मभूमि छाड्न विवस भए।ओईलाएको गुलाफ जस्तो कान्तिहीन भै यत्रतत्र लागे।
यसरी जन्मभूमि मात्र छाडेनन् त्यो भूमि छाड्न पर्दाको रोदन, दुख, क्षोभ, आक्रोश र शोकलाई शक्तिमा बदल्ने प्रण गरे, कसम खाए। फलस्वरूप संसारको जुनसुकै भागमा रहे पनि मनमा जन्मभूमि सजाए।
छातीमा सदा बन्दीपुरको नक्सा टाँसे। जन्मभूमि र पितृभूमिको रुपमा रहेको बन्दीपुरमा निरन्तर माया खन्याए। मौरीको गोलो बनी कर्तब्यको बिगुल फुके, स्नेह र सहयोगको नमुना देखाए। फलत: खण्डहर बन्दीपुरलाई नेपालकै पहिलो गन्तब्यस्थल ‘पाहाडकी रानी’ बनाउन सफल भए। यो कर्ममा कृयाशील मेरा बन्दीपुरे दाजुभाइ, दिदीबहिनीहरूलाई म परदेश बसेकी चेली नमन गर्दछु र संमान जाहेर गर्दै अभिनन्दन गर्दछु।
यस्तो विपुल इतिहास बोकेको र बिषेशत: नेवार जातिको बाहुल्यता रहेको शिक्षित र सक्षम बन्दीपुर बजारभित्रकै भैँसेखार टोलको ब्राह्मण बस्तीमा जन्मेको हुँ म। त्यो बस्ती सबै कुराहरूले संपन्न नै थियो तर नारी चेतना, शिक्षा र जागरणको सर्तमा उदासीन थियो।
बत्तिमुनीको अँध्यारोको रुपमा देखिन्थ्यो। मैले थाहा पाउँदासंम छोरीहरूलाई पाठशालाको उज्यालो संसारमा पठाउने चलन त्यो समाजको आकाशमा उदाएको थिएन। शिक्षामा छोराहरूको मात्र पहुँच र अधिकार थियो।
शिक्षाको बन्द कोठा छोरीहरूको लागि कहिल्यै खुल्दैनथ्यो। रुढीबादी चिन्तनमा लपेटिएका बुढाबुढी भन्थे- “पढेका त तीन बल्ड्याङ लडेका”। केटाहरूलाई चिठ्ठी लेख्छन्, छोरी पढाउन हुँदैन भनेर मेरी आमालाई भाँड्न खोज्नेहरूको पनि कमी थिएन।
तर मेरा बा-आमा, समयको गतिलाई बुझ्ने दुई दूरदर्शी आँखा हुनुहुन्थ्यो। उहाँहरूको हृदयमा छोरीहरूलाई झन् शिक्षाको ज्योतिले आलोकित पार्नु पर्छ भन्ने बलियो विश्वास थियो।त्यसो त मेरी आमाले गौरी, मुना मदन,रामायणजस्ता कृतिहरू लयबद्ध वाचन गर्ने क्षमता राख्नु हुन्थ्यो।
त्यसैले म छोरीलाई पनि विद्यालय जान पाउने पहिलो शौभाग्य मिल्यो।बि. सं. २०२८ मा एकैचोटी म ४ कक्षामा भर्ना भएँ। छोरा सरह शिक्षाको अवसर पाएँ मैले।
यो आलेख पितृ दिवसको अर्थात बाको मुख हेर्ने दिनको सन्दर्भमा लेख्न गैरहेकी छु। हरेक परिवारमा बाको महत्त्व सर्बोच्च हुन्छ र त भनिन्छ- बा घरको धुरी खाँबो हुन्, अनुशासन हुन्, संरक्षक हुन्, पथ प्रदर्शक..आदि आदि हुन्।
बास्तवमा प्रत्येक पारिवारिक बगैँचाका सुगन्ध नै बा हुन्। बा त्यस्तो बिम्ब हो सन्तानको सपना साकार पार्न आफ्ना कैयौँ सपना तुहाउँछन्। बाले सन्तानको दु:खलाई ‘चोभारको डाँडो’ मानेका हुन्छन्। निरन्तरको परिश्रमबाट त्यो डाँडो काटछन् र सन्तानको सुखको बस्ति बसाल्छन्। यस अर्थमा बा ‘मन्जुश्री’ हुन्।
संसारभरका यस्ता प्रिय र आदरणीय बाहरूप्रति आजको यो पावन अवसरमा म विशेष सम्मान ब्यक्त गर्दछु, नमन गर्दछु।साथै जीवित बाहरूको सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दै स्वर्गवासी बाहरूमा हार्दिक श्रद्धान्जलि अर्पण गर्दछु।
यस आलेखमा मैले आफ्ना बाका सन्दर्भका केही घटनाहरू उल्लेख गरेकी छु। त्यसलाई प्रतिनिधी घटना ठानी सम्पूर्ण बाहरूको प्रसङ्गमा, संमानमा बुझिदिनु हुनसमेत निवेदन गर्दछु।
मेरा प्यारा बा स्नेहको सागर हुनुहुन्थ्यो। म स्कूल जाने बेलामा उहाँ आफ्ना बलिया हातहरूले सिसाकलम तिखारी दिनु हुन्थ्यो। मानौँ मेरो सुन्दर भविष्यको रेखा आफैले कोर्दै हुनुहुन्छ। ती तिखारिएका कलमहरू मेरो शैक्षिक यात्राका सारथी थिए।
म सानो बालक, घर छोड्दा रुन्थेँ। मेरो मन चंगा बिनाको धागो जस्तै अस्थिर हुन्थ्यो। बा मेरो आँसु पुछिदिनुहुन्थ्यो र एउटा सानो पुरिया खाजा बिस्कुट किनिदिनुहुन्थ्यो। त्यो बिस्कुट मेरो लागि संसारकै सबैभन्दा स्वादिष्ट र मिठो बस्तु थियो। म खाँदैखाँदै स्कूलतिर लम्कन्थेँ। मेरा पाइलाहरू साना र सुस्त भए पनि ज्ञानको गन्तव्यतिर बढिरहेका हुन्थे।
बा समयको बहावसँगै सरकारी सेवाको सिलसिलामा प्रायः जिल्ला बाहिर नै हुन थाल्नु भयो। घरमा आमा एउटा बलियो स्तम्भ बनी हाम्रो हेरविचारमा तल्लिन हुनुहुन्थ्यो। आमाको योगदान आकाशको विशालता जस्तै अथाह थियो।
उहाँको स्नेह धुपको शीतल पवन बनि हामीलाई स्पर्श गर्थ्यो ।प्रायः महिनाको एक पटक बुवा राम्रा-राम्रा कोसेली लिएर घर आउनुहुन्थ्यो। त्यो आगमन हाम्रो लागि उत्सवमय चाडपर्व बन्थे। कापी, पेन्सिल र बालक पत्रिकाहरू ज्ञानका नयाँ झ्यालहरू जस्ता लाग्थे हामीलाई। ती हाम्रा लागि अमुल्य रत्न जत्तिकै मूल्यवान पुञ्ज थिए।
केही खानेकुराहरू पनि हुन्थे। जुन हाम्रो बाल मस्तिष्कलाई आनन्दित बनाउँथे। ती कोसेलीहरू बाको स्नेह र प्यारका पेरूँगा थिए। जसले हाम्रो बाल सुलभ मनलाई आल्हादित बनाउँथे।
समय नदीको तीव्र गति जस्तै बग्दै गयो। हामी ठूला भयौँ। क्रमशः सबैको विवाह भयो। जीवनका नयाँ अध्यायहरू सुरु भए। भाइहरू पनि राम्रो अवसरको खोजीमा सपरिवार राजधानी काठमाडौँमा नै बस्न थालेँ। आखिर गाउँमा त आमा र बा मात्र।दुई एक्ला यात्री समयको किनारमा उभिए जस्तै।
समय कति छिटो बितेछ ! मेरा तीन छोरीहरूको विवाह भइसकेको थियो। उनीहरू अमेरिका बस्थे। नयाँ संसारको खोजीमा उडेको चरा बनि बाँकी सपरिवार बोकेर अमेरिकातिरै आएँ म पनि।
त्यति नै बेला एउटा अदृश्य शत्रु कोभिड-१९ को सङ्क्रमण संसारभर फैलियो। सबैतिर कोलाहल, त्रास र अनिश्चितता छायो।आखिर जे नहोस् भन्ने थियो, त्यही भयो।काठमाडौँमा बालाई सन्चो भएन। नियतिको कठोर प्रहार। उहाँलाई कोभिडले समाएछ।अस्पताल भर्ना हुनुभयो।
मेरो परिवार र ठूलो भाइको परिवार अमेरिकाबाट तुरून्त जान सम्भव थिएन। बा र आमाको हेरविचार काठमाडौंमा कान्छो भाइ र परिवारले गरिरहेका थिए। तापनि हाम्रो मन घडीको पेन्डुलम जस्तै अस्थिर थियो। चितवनबाट बहिनीले-हामी छौं, हजुरहरूले चिन्ता नमान्नु भनेर बारम्बार सम्झाई रहन्थिन्। उनको आवाज टाढाकै भएपनि भरोषाको सन्देश जस्तो लाग्थ्यो।
दुई दिन पश्चात आईसीयूमा लगियो। जीवन र मृत्युको संघर्षको अन्तिम चरण। अर्को दिन मेरा प्यारा बुवाको इहलीला समाप्त भयो। एउटा चहकिलो दियो कोभिड रूपी हुरीको निर्दयी झोक्कामा निभ्न पुग्यो।
पापी नियतिले हाम्रो खलाको मियो भाँच्यो, उखल्यो। उहाँले आफ्नो भौतिक शरीर छोड्नुभयो। हाम्रो परिवारको एउटा चम्किलो तारा सधैँको लागि आकाशबाट अस्तायो। हाम्रो सर्वस्व गयो। विशाल वृक्षहरू ढलेपछि उजाड भएको वन जस्तो हाम्रो जीवन उजाडियो। हामी टुहुरा र अनाथ हुन पुग्यौं।
परदेशमा हाम्रो मन पिजडामा थुनिएको चरा जस्तै छटपटाइरह्यो। सबैथोक यथास्थानमा छ। घर, आँगन, सम्झनाहरू तर बा मात्र कहाँ जानुभयो ? परिवारमा अपूरणीय क्षति भयो।
मानिसको देहान्त पश्चात उस्को आत्मा कहाँ जान्छ ? के पुर्वजन्मको सबै कुरा बिस्मृतिमा जान्छ ? सम्झेर एक कल फोनमा केवल एक पटक “सीता म यस्तो ठाउँमा छु, चिन्ता नगर” भनिदिनु भए पनि हामीलाई सान्त्वना मिल्थ्यो। भगवानको सृष्टि, उनकै संहार। कस्तो अचम्मको सम्बन्ध बिच्छेद हो यो ?
मेरा प्यारा बा एउटा शान्त सरोवर जस्तो हुनुहुन्थ्यो। जसको गहिराइमा ज्ञान र स्नेहका अनगिन्ती रहस्यहरू लुकेका थिए। अन्तर्मुखी स्वभावका हाम्रा बाको मौनताभित्र अथाह माया र स्नेह लुकेका हुन्थे।
जीवनको अन्तिम प्रहर। उहाँको अनुहारमा एउटा गहिरो वेदना सहितको अद्भुत मिश्रण देखिन्थ्यो। मानौँ उहाँले जीवनका धेरै रहस्यहरूलाई आत्मसात गरिसक्नुभएको छ। यो मेरो अन्तिम प्रहर हो भनेर स्पस्ट ज्ञान भै सकेको छ उहाँमा।
अस्पतालको बेडबाट नै भाइबुहारीले बारम्बार भिडियोबाट देखाइदिन्थे। हामीसँग प्रष्टसँग दोहोरो कुराकानी गरिरहनु भएको थियो। उहाँको अन्तिम उद्गार “ मेरो ठूलो परिवार” भन्दै हामीलाई हेरेर खुसी हुनु भएको थियो।
उहाँको जीवनको अभिन्न हिस्सा स्वअध्ययन थियो। एउटा प्यासीले पानी पाए जस्तै। उहाँ ज्ञानको सागरमा डुबुल्की मार्न रुचाउनुहुन्थ्यो। नयाँ कुराहरू सिक्न र जान्न उहाँ सधैँ उत्सुक। उहाँको कोठा पुस्तकहरूका खजानाले भरिएका हुन्थे। जहाँ ज्ञानका अनगिन्ती दीपहरू बलिरहेको आभाष हुन्थ्यो। उहाँका आँखा अलि धमिलो भए पनि ज्ञानको ज्योतिले सधैँ चम्किरहेको जस्तो लाग्थ्यो।
वास्तबमा बा भन्ने नाता मेहनत र पसिनाका फोहरा हुन्। बाको छातीमा सन्तान मुटु बनेर धड्किरहन्छन्। बा त्यस्तो सम्बन्ध हो जसले आफ्नो सपना सन्तानमा फलेको देख्न चाहन्छ। त्यसैले समयसँगको प्रत्येक प्रार्थनामा बाको खुसी माग्नु हरेक सन्तानको परम कर्तव्य हुन जान्छ।
ज्योतिष विद्या मेरो बाको ज्ञानको अर्को महत्त्वपूर्ण पाटो थियो। तारा र ग्रहहरूका मौन भाषा बुझ्नुहुन्थ्यो। मानौँ उहाँ र आकाशीय पिण्डहरूबीच गोप्य संवाद चलिरहन्छ। उहाँको ज्योतिष ज्ञान एउटा सुस्पस्ट नक्सा जस्तो थियो, जसले भविष्यका सम्भावित मोडहरूलाई देखाउँथ्यो। बाले आफ्नो ज्ञानलाई डर वा त्रास फैलाउन कहिल्यै प्रयोग गर्नुभएन। उहाँको भविष्यवाणी सधैँ सावधानी र आशाले भरिएको हुन्थ्यो। एउटा अनुभवी मौसमबिदले मौसमको पूर्वानुमान गरे जस्तै।
बाको उपस्थिति घरमा एउटा शान्त र स्थिर ऊर्जाको स्रोत थियो। एउटा विशाल पहाड जस्तै अटल र भरपर्दो। उहाँका पाइलाहरू दृढ हुन्थे। आवाज शान्त तर कर्तब्यपूर्ण हुन्थ्यो। बाको मौनता हजार शब्दभन्दा पनि बढी शक्तिशाली हुन्थे। बा परिबारको मेरूदण्ड, बलियो खम्बा जसले परिवारलाई अडिग राख्थ्यो।
आज बाको मुख हेर्ने दिन। उहाँको सम्झना आज झन् गाढा भएर आउँछ। मेरो मन एउटा गहिरो वेदनाले भरिन्छ। मानौँ एउटा पुरानो घाउको खाटो फेरि उप्किन खोजेको होस्।
बाको ज्ञान, स्नेह र शान्त व्यक्तित्व सधैं मेरो हृदयमा एउटा अमूल्य निधीको रूपमा जीवित रहनेछ। मेरो जीवनको आकाशमा बा सधैँ एउटा चम्किलो ध्रुवतारा बनेर रहिरहनुहुनेछ जसले मलाई सधैँ सही दिशा देखाइरहनेछ।
म साहित्यिक सिर्जना गर्थेँ। विशेषत: उहाँ मेरा कथाहरूको पहिलो पाठक र सबैभन्दा निष्पक्ष समीक्षक हुनुहुन्थ्यो। मैले अव्यक्त भावनाहरूलाई शब्दमा उतारेको देख्दा उहाँको अनुहारमा सन्तुष्टिको मधुर मुस्कान छाउँथ्यो। त्यो मुस्कान बिहानको घाममा फुलेको गुलाब जस्तै सुन्दर र मनमोहक लाग्थ्यो मलाई।
मेरा कथाहरू पढेर उहाँले दिनुभएको गहकिला सल्लाह र सुझावहरू, अँध्यारो रातमा चन्द्रमाको प्रकाश जस्तै मार्गदर्शक हुन्थे। बाका सल्लाह र सुझावहरू जीवनको अनुभवले भरिएका हुन्थे। तीनले मेरो लेखनलाई नयाँ दिशा र गहिराइ दिन्थ्यो।
अक्षरहरूसँग मेरो गहिरो नाता छ। लेख्न र पढ्नमा विशेष रुचि थियो। एउटा प्यासीले पानी खोजे जस्तै। बा भन्नुहुन्थ्यो- “गीत पनि लेख नानी! कति कथा मात्र लेख्छ्यौ? आफ्नो रचना अरू कसैको स्वरमा गीत सुन्न कति आनन्द आउँछ।” उहाँका ती उद्गारहरू मेरो लागि प्रेरणाको अमूल्य खजाना थिए।
त्यसपछि मैले गीत लेख्न थालेँ, मेरो भावनाहरूलाई लय र शब्दमा ढाल्न थालेँ। गीतसङ्ग्रह पनि प्रकाशित भयो। मेरो सपनाको एउटा सुन्दर फूल फुल्यो। केही गीतहरू रेकर्ड पनि भएका छन् तर ती गीत लेखनमा प्रेरणा दिने मेरा प्यारा बा आज हुनुहुन्न।
मलाई एउटा खालिपन सधैँ महसुस हुन्छ। मेरो गीत सङ्ग्रह बाकै करकमलबाट लोकार्पण गराउने मेरो धोको एउटा अपूर्ण सपना हुन गयो। यो धोको मेरो दिलमा जीवन पर्यन्त खट्किरहने छ।
कहिलेकाहीँ सपनामा देख्छु मेरा प्रिय बालाई तर उहाँ बोल्नुहुन्न। मौन… मौन बा। एउटा शान्त तस्वीर जस्तै। बाको स्वर सुन्न मन छ। त्यो स्नेही आवाज जुन मेरो कानमा अझै पनि गुञ्जिरहेछ।
केही बोल्नु भए पनि हुन्थ्यो। एउटा शब्द, एउटा वाक्य, मेरो अतृप्त मनलाई शान्ति मिल्थ्यो।सपना मै भए पनि अब अर्को पटक आउँदा अवश्य बोल्नुहोस् है। मेरो मन हजुरको आवाज सुन्न आतुर छ। जहाँ हुनुहुन्छ, हजुरलाई शान्ति मिलोस्, मेरो हरेक प्रार्थना सधैँ हजुरका लागि रहनेछ। अस्तु।
गोरखा बजार
हाल- अमेरिका।
(सीता अर्यालका चार कथासंङ्ग्रहहरू र एक गीतसंङ्ग्रह प्रकाशित छन्।)
















Facebook Comment