नेपाल चेम्बर अफ कमर्सद्वारा उपराष्ट्रपति सुआनसँग छलफल

डिसी नेपाल
८ भदौ २०८२ १९:२१
28
Shares

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुुआनसँग नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रका सहकार्यका विषयमा छलफल गरेको छ।

भियतनामका अनररी कन्सुलर एवं नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा, महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठसहितका पदाधिकारीले उपराष्ट्रपति सुुआनसँग आज भेट गरी सो विषयमा छलफल गरेका हुन्।

बैठकमा दुवै देशबीचको व्यापारिक पहुँच विस्तार, लगानीमैत्री वातावरण निर्माण, उद्योग–व्यवसाय प्रवद्र्धन तथा आपसी सहकार्यका सम्भावनाबारे छलफल भएको कमर्सले जनाएको छ। नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएका अवसरमा भएको उक्त भेटलाई चेम्बरले व्यापार, लगानी र आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने सम्भावनाका रुपमा हेरेको जनाएको छ।

उपराष्ट्रपति सुआनले नेपाल चेम्बर अफ कमर्स र भियतनामबीच द्विपक्षीय व्यापार विस्तार तथा लगानी प्रवाहलाई सहज बनाउन दुवै देशका निजी क्षेत्रबीच घनिष्ट समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे। साथै उनले नेपाल र भियतनामबीचको आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै देशका निजी क्षेत्रको सक्रियता अपरिहार्य हुनेमा जोड दिए।

चेम्बर अफ कमर्सले नेपाल–भियतनामबीच कृषि, पर्यटन, ऊर्जा, शिक्षा र सूचना प्रविधि जस्ता क्षेत्रमा सहयोग तथा साझेदारीको सम्भावना रहेको भन्दै व्यावहारिक कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.