भारतको उत्तरकाशीको पहिरोमा बेपत्ता बर्दियाका तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

डिसी नेपाल
८ भदौ २०८२ २०:३५
120
Shares

सुदूरपश्चिम। भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा पुरिएर बेपत्ता भएका बर्दियाका तीन जनाको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।

पहिरोमा परी बेपत्ता भएकाको खोजी गर्दा फेला पार्न नसकेपछि आफ्नै गाउँमा फर्किएर कुशको शव बनाई अन्त्येष्टि गरिएको बर्दिया मधुवन नगरपालिका—६ बुद्धनगरका चुडामणि खड्काले जानकारी दिए।

खड्काका ३७ वर्षीय छोरा नरेन्द्र खड्का, बुहारी सरस्वती खड्का भण्डारी र दुई वर्षको नाति रोमन उक्त पहिरोमा पुरिएर बेपत्ता भएका थिए। घटनास्थल पुगेर फर्किएका खड्काले भने, ‘पहिरोमा पुरिएकाको आफ्ना सन्तानको खोजीका लागि घटनास्थलमै पुगेका थियौँ। त्यहाँ भेटिनुभएका उत्तरप्रदेशका मुख्यमन्त्री पुस्करसिंह धामी, प्रहरी अधिकृतलाई पनि खोजतलासका लागि आग्रह गर्‍यौँ, तर पत्ता लगाउन सकिएन।’

उनका अनुसार पहिरोमा पुरिएका छोरा नरेन्द्रको एक हातको अङ्ग मात्रै फेला परेपछि निजको मृत्यु भएको पहिचान गरिएको थियो। खड्काले भने, ‘छोराको हातमा ‘सुमन’ लेखिएको थियो, त्यसै आधारमा आफूले छोराको शव पहिचान गरेर हात उतै गाडेर फर्किँए। घरमा पुगेर कुशको शव बनाई तीनै जनाको अन्त्येष्टि गरेका हौँ।’

मधुवन नगरपालिका–५ की अमृता परियार पनि उक्त पहिरोमा पुरिएर बेपत्ता भएकी थिइन्। उनको अवस्था पनि अज्ञात छ। आर्थिक अवस्था कमजोर भएको खड्का परिवारका सदस्य सडकलगायत निर्माण क्षेत्रमा मजदुरी गर्न उत्तरकाशी क्षेत्रमा पुगेका थिए।

धारला क्षेत्रमा निर्माणाधीन सडक छेउको खोला किनारमा बनाइएको टहरोमा बसेका बेला अकस्मात माथिबाट ठूलो पहिरो खस्दा खड्का, उनकी श्रीमती र छोरासहित व्यक्ति पुरिएका थिए। त्यस दिन धारलासहित तीन ठाउँमा ठूलो पहिरो गएको र त्यसमा जाजरकोटका २१ जना पहिरोमा पुरिएर बेपत्ता भएका थिए।

मृतकका भाइ गुप्तराज खड्काले मजदुरी गरेर कमाई गर्ने दाजुको निधन भएपछि परिवार आर्थिक संकटमा परेको दुःखेसो सुनाए। मधुवन नगरपालिका कार्यालयले किरिया खर्च दिने भने पनि हालसम्म पाउन नसकेको उनले गुनासो गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.