लघुकथा : ए प्लस

ईश्वर पोखरेल
९ भदौ २०८२ ११:४१
80
Shares

“वन डढेलो र अन्नबालीका खोस्टा जलाउँदा पनि वायु प्रदुषण हुन्छ रे। वायु प्रदुषणले हुने फोक्साको क्यान्सर, मस्तिष्काघात, इस्केमिक मुटुरोग आदिका कारणले विश्‍वका ७० लाख मानिसहरूले समयअगावै मृत्युवरण गर्छन् रे, आमा!” सुरेखाले भनी।

देवमाया दोबाटोमा मकै पोलेर बेच्छिन्। यसको आम्दानीबाटै चल्छ-उनको घरभाडा र दालचामल अनि सुरेखा र उसको भाइको पठनपाठन र ओखतीको खर्च।

वन डढेलो, अन्नबालीको खोस्टा र थोत्रा गाडीले फाल्ने धुँवा त छदैछ, मकै पोल्दा निस्किने धुँवा पनि देवमायाकै भागमा एकलौटी पर्छ।

रातमा निदाउनै नसकिने गरी लाग्ने आफ्नो सुख्खा खोकीलाई किन औषधिले छोएन भन्ने बारेमा पनि देवमाया स्पष्ट भइन्।

सोच्दासोच्दै देवमाया अब फेरि चोकतिर जाउँ कि नजाउँको अवस्थामा पुगिन्। उनको सामु बिस्तारै आफू मात्र मर्ने कि सिंगो परिवारलाई मृत्युतिर धकेल्ने भन्ने प्रश्न उभियो।

भोलिपल्ट बिहान देवमायाले सुरेखालाई भनिन्-“तिमीहरू जाउलो पकाएर खाओ र स्कुल जाओ। मलाई छोपेर राखी दिनू।”

देवमाया डेराबाट सोच्दै निस्किइन्-’छोरीको पढाइ राम्रो छ, पढे सुनेका कुरा च्याप्प समात्छे। उसले जानेका कुरा परीक्षामा उसलाई ए प्लस ल्याउन काम लाग्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *