सगरमाथा आरोहणको कथामा ‘जेरी अन टप’

डिसी नेपाल
९ भदौ २०८२ २३:२६
64
Shares

काठमाडौं । तिहारलाई लक्षित गर्दै आगामी असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जेरी अन टप’को श्रव्यदृश्य (टिजर) सार्वजनिक गरिएको छ।

आज यहाँस्थित एक चलचित्र भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका अभिनेता अनमोल केसीले आफूले देखेको सपनालाई चलचित्रमार्फत पर्दामा ल्याउन सफल भएको बताए।

उनले भने, ‘मैले पटकथा पढ्दादेखि नै देखेको एउटा सपनालाई पर्दामा ल्याएको छु। यसका लागि छायाङ्कनसहित तीन वर्ष मेहनत गरेका छौँ। यो नेपालको सौन्दर्य देखिने र पर्यटन प्रवर्द्धन गर्ने चलचित्र बनेको छ।’ उनले धेरै समयपछि आफ्नै पिता अभिनेता भुवन केसीसँग चलचित्रमा काम गरेका छन्।

‘मैले बुवा (भुवन केसी) सँग पहिला पनि छिटपुट काम गरेको थिएँ, यसपटक भने बाबु र छोराकै भूमिकामा चलचित्रमा काम गरेका छौँ। बुवाको काम गर्ने शैली, ऊर्जा र लगनशीलताले सधैँ मलाई प्रेरणा दिन्छ’, अभिनेता केसीले भने।

चलचित्रकी अभिनेत्री आँचल शर्माले आफूले श्रेया नामक पात्रको भूमिका निर्वाह गरेको जानकारी दिइन्। उनले भनिन्, ‘श्रेया निडर र एक स्वाभिमानी युवती हुन्। उनले गर्ने निर्णयले उनको क्षमतालाई प्रष्ट्याउँछ। मैले यो पात्रलाई पर्दामा देखाउन पाउँदा निकै उत्साहित छु। हिमालका विषयमा बनेको चलचित्रले युवापुस्तालाई आन्तरिक पर्यटक बन्न प्रेरित गर्ने विश्वास छ।’

अनन्या फिल्मसले निर्माण गरेको चलचित्र ‘जेरी अन टप’ मा अभिनेता केसी र अभिनेत्री शर्मासँगै जसिता गुरुङ, केदार घिमिरे, भुवन केसीलगायतका कलाकारले अभिनय गरेका छन्।

सरोज न्यौपाने निर्माता रहनुभएको उक्त चलचित्रमा हेमराज विसीको लेखन तथा सुयोग गुरुङको निर्देशन छ। उक्त चलचित्रको कथा विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण र यात्राका क्रममा हुने प्रेमकथामा केन्द्रित रहेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.