कथा : श्रीमतीको छोरा

कपिल लोहनी
१४ भदौ २०८२ ७:०२
40
Shares

अभय आजदेखि २१ वर्षको भयो। उ उसको पिता कृष्णहरिको साथमा नै बस्ने गर्दछ। पढाइमा आफ्ना बाबुबाजेजस्तै तेज छ उ। हाल उ इन्जिनियरिङको दोस्रो वर्षमा काठमाडौं कै एउटा प्रतिष्ठित कलेजमा अध्ययन गर्दैछ।

घरमा पिताले निकै लाडप्यार गर्ने गरेको भए पनि उसको पुरै स्कूले जीवन विद्यालयको होस्टेलमा बित्यो। घरमा अभय र उसका पिता गरी दुई जना मात्र परिवारका सदस्यहरू छन्, यानी उनीहरूका नातेदार निकै कम छन्।

चाडवाडमा पनि उसका पिताले उसलाई कुनै नातेदारको घरमा पनि लग्दैनन्, बरू साथीभाइ बोलाएर रमाइलो गर्दछन्। काठमाडौंमा यी बाबुछोरा फर्पिङको एउटा कुनामा घर बनाएर बसेका छन्।

स्कुलमा छँदा जब चाडबाडको बिदा हुन्थ्यो, उसका साथीहरू होस्टेलबाट घर गए पछि मामाघर जाने, काकाकाकी कहाँ जाने र दाजुभाइ, दिदीबहिनीहरूसँग खेल्ने कुरा गर्दथे, तर उ भने चुपचाप उसलाई लिन आएका आफ्ना बासँग फर्पिङको भित्री गाउँमा रहेको घरमा बस्न जाने गर्दथ्यो।

त्यहाँ न उसकी आमा थिइन्, न काकाकाकी न हजुरबुवा, हजुरआमा नै थिए। टोलछिमेकका साथीहरू र बुढापाका मात्र, बस्। उसको साथी भनेको कम्प्युटर, इन्टरनेट र भिडियो गेम तथा घरमा पालेको कुकुर मात्र, अनि टोलका केटाकेटी। यदाकदा लामो बिदाको बेला उसका पिताले उसलाई पोखरा तथा अन्य शहरमा पनि घुमाउन लग्दथे।

टोलछिमेकका मानिसहरूले बेलाबेलामा थाहा नपाए झैं उसको घरमा को को छन्, किन उनीहरू दुई जना बाउछोरा मात्र घरमा बस्छन् भनेर बुझ्ने र चियोचर्चो गर्ने गरिरहन्थे। उसको पिता धेरै नबोल्ने मानिस, त्यस्ता कुरा बारे छोराले जिज्ञासा राख्यो भने टोलछिमेकका मानिसहरू ठीक छैनन्, तिनीहरूको कुरामा नलाग्न र संगत पनि धेरै नगर्न सुझाउँथे।

उ घर आएको बेला यदाकदा उसका पिताका साथीहरू राती बस्ने गरी आउने गर्छन्। किनकी काठमाडौँको कोलाहलमा बस्ने उनीहरूलाई त्यो गाउँले परिवेशमा आएर बस्दा कुनै रिजोर्टमा पुगेको जस्तै आनन्दको अनुभूति हुने। हुन पनि यति सुन्दर ठाउँ छ यो। डाँडाको टुप्पातिरै हरियो वन भएको ठाउँमा केही दर्जन मात्र घर छन् त्यहाँ।

त्यस्मा पनि उनीहरूको घर पुरानो शैलीमा नै निकै आधुनिक पाराले बनाइएको र सबै आधुनिक सुविधा सम्पन्न। घरले चर्चेको जमीन पनि निकै ठूलो। घरपरिसरमा विभिन्न खालका फलफूलका बोटहरू, सिजनै पिच्छे फलिरहने।

बगैँचा र करेसा बारीको रेखदेखको निम्ति टोलछिमेकको एउटा विपन्न किसान आश्लाललाई राखिएको। उसैको मातहतमा दुई वटा गाई र बाख्राहरू पालिएका। घाँसको दुःख छैन। वस्तुभाउलाई खुवाउने दाना र इलाजको लागि चाहिने खर्च तथा खेतीकिसानीमा आवश्यक बिउ, मलखाद तथा यावत सामग्री किन्ने खर्च कृष्णहरिले पुर्‍याइ दिएकै छ।

खेत र बगैँचामा धेरै काम भएको बेला आश्लाल आफ्ना परिवारका अन्य सदस्यहरू लिएर हाजिर भइहाल्ने। कृष्णहरिले आफ्नो घरपरिसरमा उब्जेको अन्नपात, सागसब्जी र फलफूल तथा गाईको दुध आदि सबै आफ्नो घरको उपभोगको निम्ति पुग्ने जति छुट्टाएर तिनै किसानको परिवारको निम्ति दिने गरेका छन्।

थोरै पैसा र चाडवाडमा लत्ताकपडा पनि दिने गरेका छन्। आश्लालकी पत्नीले आएर घर सफा गरिदिने र खाना पकाइ दिने काम पनि गर्दछिन्। यस्तो सेवाको निम्ति छुट्टै रकम दिने गरेका छन्। यसरी एक विपन्न परिवारसँग मिलेर उनले आफ्नो घरलाई सानो स्वर्ग बनाएका छन्।

बेला बेलामा टोलछिमेकका र अन्य चिनाजानीका मान्छे पनि कृष्णहरिको एक्लो जीवन देखेर छक्क पर्ने गर्छन् तर उनीहरूले कृष्णहरिको विगत वा वर्तमानका पनि धेरै पाटाहरू बुझ्न सकेका छैनन्। भन्नै पर्दा निकै गम्भिर स्वभावका कृष्णहरिसँग यो सब सोध्ने कसैले आँट पनि गर्न सकेका छैनन्।

एकदिन आश्लालले निकै आँट गरेर कृष्णहरिसँग उनको बारेमा बुझ्न खोज्दा उनी निकै रिसाएर अब आइन्दा यो बारेमा कुरै नगर्न आदेश दिएका थिए। आश्लाल त्यतिबेला ज्यादै डराएको थियो।

तर एकदिन सायद उनी निकै खुशी थिए, उनले आश्लाल र उनकी पत्नी आनन्दीलाई बैठक कोठामा बोलाएर आफूसँगै सोफामा बस्न भने। पुरातन संस्कार पाएर हुर्किएका यी सोझा किसान दम्पती आफ्ना अन्नदाता र मालिकको हाराहारीमा बस्न कहाँ सक्थे र! ‘होइन बाज्या, हामी तल बस्छौँ’ भनेर संकोच मान्दै उनीहरू भुइँमा बसे।

मालिकले के भन्न बोलाएका होलान् भनेर उनीहरू निकै डराएको जस्तो गरेर बसेका। कृष्णहरिले पनि उनीहरूको मुहार पढेर हाँस्दै हल्का पाराले उनीहरूलाई नहड्बडाउन भने।

एकछिनको मौनतालाई सहज रूपमा चिर्दै कृष्णहरिले आश्लाललाई ‘तिमीलाई म र मेरो परिवार बारे जान्ने उत्सुकता जागेको छ होइन ?’ भनेर सोधे। आश्लाल झनै डराएर ‘होइन बाज्या, मैले हजुरलाई त्यस्तो कुरा सोध्नै नहुने थियो। मलाई माफ गरिदिनोस् बाज्या। हामीलाई हजुरकाँ काम पाउनु नै ठूलो कुरा छ’ भने।

हाँस्दै कृष्णहरिले ‘म तिमीहरूसँग रिसाएको छैन। मेरो आफ्ना भनेकै तिमीहरू त हौ नि। अबको बाँकी जीवन म तिमीहरू र मेरो एक मात्र छोरासँग नै व्यतित गर्न चाहन्छु। तिमीहरू त मेरो परिवार भइसक्यौ आश्लाल!’ भने। अझै कुरा नबुझेर आश्लाल दम्पतिले भुइँमा झुकेर ‘हजुर बाज्या’ मात्र भने।

‘तिमीहरू मेरा आफन्त भनेर मैले ठानिसकेपछि मेरो बारेमा तिमीहरूले सबै कुरा थाहा पाए पनि अब मलाई कुनै फिक्री छैन। बस् अब मैले सुनाउने कुरा तिमीहरू दुई बीच मात्र रहोस्, टोलछिमेक वा मेरो छोरोले पनि थाहा नपाओस्।’ यति भनेर कृष्णहरि आफ्ना विगतका कुरा सुनाउन थाले आश्लाल दम्पतिलाई।

‘मेरो जन्म ओखलढुंगाको एउटा गाउँमा भएको हो। मेरा हजुरबुवा नाम चलेका ज्योतिषी हुनुहुन्थ्यो। सम्पूर्ण शिक्षादीक्षा वाराणसीमा प्राप्त गर्नुभएका उहाँलाई गाउँघरमा मात्र नभइ काठमाडौंमा राजा र राणाका दरवारमा समेत चिना बनाउन र पूजाआजा गर्न बोलाउँथे।

उहाँले भनेका कतिपय महत्वपूर्ण कुराहरू मिल्न गएको भनेर त्यतिबेलाका शासकहरूले निकै धनसम्पत्ती र ठाउँ ठाउँमा वीरताका जमीन समेत दिएका थिए। गाउँमा छुट्टै प्रतिष्ठा थियो। उहाँकै कदमलाई पछ्याउँदै मेरा पिता पनि ठूला ज्योतिषमा गनिन पुगे। उनले पनि आफ्ना पिताजीले जस्तै निकै धेरै शिक्षा हासिल गरेका थिए।

बाबु र बाजेको वौद्धिक धरातलले गर्दा मलाई पनि पिताले गाउँको संस्कृत विद्यालय र पछि नेपाल कै सबैभन्दा राम्रोमा गनिएका काठमाडौँको बुढानिलकण्ठ स्कूलमा भर्ना गराइ दिए।

एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएपछि मलाई विज्ञान शिक्षा लिने धुकधुकी भएकोले म काठमाडौंको अमृत साइन्स क्याम्पसमा भर्ना भएँ र केही वर्षको मेहनतसँगै मैले प्रविणता प्रमाणपत्र तह पनि पार गरेँ।

सानो छँदा आमाको प्रगाढ ममतामा हुर्किएको म पछि बुढानिलकण्ठ स्कूलमा पढ्न थालेदेखि नै घरबाट धेरै जसो समय टाढा हुन थालेको थिएँ। कलेजमा पढ्दा पनि डेरामा कोठा लिएर बसेको थिएँ म। उता म काठमाडौँमा अध्ययनरत छँदा नै मेरी आमालाई विभिन्न प्रकारका रोगले सताउन थालेका थिए।

पछि म कलेजको पढाई सकेर गाउँ फर्के लगत्तै आमा निकै विरामी पर्नुभयो र हामी सबै परिवारजनको सामु घरैमा उहाँको निधन भयो। वाल्यकालको छोटो समय मात्र आमाबासँग व्यतित गरेको भएर होला मलाई आमा वा बाको अगाध माया भने लाग्दैनथ्यो।

तर पनि शैशवकालमा आमाले हुर्काउँदा प्रदान गरेको स्नेह, सुताउने बेलामा सुनाएको लोरी र विरामी पर्दा एकछिन मलाई नछोडेर स्याहारेका क्षणहरू सम्झेर म निकै भक्कानिएको थिएँ।

हाम्रो परिवारमा मेरा मातापिताको म एक मात्र सन्तान भएकोले आमाको देहान्त हुँदा रुने मान्छे पनि परिवारभित्र म र मेरा पिता मात्र थियौँ। तर पनि काकाकाकी र उनका बालबच्चा तथा छरछिमेकी सबैजनाको साथ पाएर हामीले आमाको काजकिरिया राम्ररी सकेका थियौं। उहाँको निधन पश्चात् केही समय हामी शोकमा रहे पनि दैवले सबै जीवहरूलाई दिएको बिर्संदै जाने गुणले गर्दा हामीले पनि आमालाई बिस्तारै बिर्सन थाल्यौं।

एवम् रितले मेरो उच्च शिक्षाको समय पनि आयो। त्यतिबेला इन्जिनियरिङको अध्ययनको निम्ति कि त भारत या सोभियत संघ वा अन्य मुलुकमा जानु पर्ने बाध्यता थियो। भारत र तत्कालीन सोभियत संघमा अध्ययन गर्न चाहनेले विशेष छात्रवृत्ति पाउने पनि प्रवल सम्भावना हुने गर्दथ्यो।

मेरा एक मित्र वामपन्थी विचारधारा बोकेका एक प्रभावशाली व्यक्तिको छोरा भएकाले उनले उनको र मेरो पढाइको निम्ति सोभियत संघको राजधानी मस्कोमा अध्ययन गर्ने पूर्ण छात्रवृत्ति मिलाउने पहल गरे र भाग्यले सो मिल्यो पनि।

उता घरमा मेरा पिताले म विदेशमा लामो समयसम्म अध्ययनको सिलसिलामा जानु पर्दा बिहे गरेर जानु उत्तम हुन्छ भनेर मलाई बिहे गर्न कर गरे। त्यतिबेला विदेशमा गएर गोरेनीसँग घरजम गरेर धेरै नेपाली विद्यार्थीहरू उतै बस्ने गरेकाले आफ्नो छोराले पनि त्यसो गर्ला भन्ने चिन्ता पितामा भएको हुन सक्ने कुरा मेरो मनमा आएको थियो।

हाम्रो घरसँगैको छिमेककी एकजना मेरी बालसखी निर्मला जो हाम्रो घरमा आइरहन्थी, उसैसँग मेरो बिहे गर्न पिताले कुरा चलाएछन्। मलाई त्यति छिटो बिहे गर्न मनै थिएन तर काकाकाकीहरूले पनि म विदेश गएपछि पिता झनै एक्लो हुने जस्ता मार्मिक कुरा सुनाएर मलाई बिहे गर्न मनाए।

बचपनदेखि कै साथी ती केटी शील स्वभावकी र राम्री पनि थिइ। मैले हुन्छ भनिदिएँ र छिटै हाम्रो बिहे पनि भयो। मेरा पितासँग उसको निकै हेलमेल थियो। निकै माया गर्थी उसले मेरा पितालाई। यसो भएकोले मपनि ढुक्क भएँ।

बिहे भएको एकाध दिनमा नै म सोभियत संघको राजधानी मस्कोको निम्ति रवाना भएँ। श्रीमतीसँग चिठीपत्रको आदानप्रदान भइ रहन्थ्यो। टाढा भएपछि माया पनि बढ्न थालेको थियो। मेरा पितासँग पनि बेला बेलामा चिठी मार्फत् कुराकानी भइरहन्थ्यो।

तर उता गएको करिव ५-६ महिना पछिदेखि मेरा पिता र श्रीमती दुवैको चिठीपत्र आउन छोड्यो। म निकै चिन्तामा पर्न थालेँ। विदेश गएको १३ महिनापछि अचानक नेपालबाट मेरो नाममा एक तार आयो। त्यसमा मेरा पिता निकै विरामी भएकाले तुरन्त घर आउनु भनेर लेखिएको थियो। म पनि कलेजमा थाहा दिएर हतार हतार काठमाडौँको निम्ति हिँडी हालेँ।

काठमाडौँ विमानस्थलमा गाउँको एउटा साथी मलाई लिन आएको थियो। उसले त्यहाँबाटै मलाई सुन्धारामा लगेर रात्रीबसको टिकट काटेर गाउँ तिरको यात्रामा लगिहाल्यो। मेरो निकै करबल पछि उसले बाटोमा मलाई मेरा पिताको निधन भएको र उनको अन्तिम संस्कार पनि सकिएको कुरा बतायो। बाँकी कुरा उसले घर पुगुञ्जेलसम्म पनि लुकाइ रह्यो।

बसबाट बिहानीपख उत्रेर दिउँसो घर पुग्दा गाउँका मानिसहरू मलाई देखेर निकै अचम्मित भएर हेर्न थाले। एकापसमा खासखुस पनि गर्न थाले। म छक्क परिरहेको थिएँ। कसैले के भएको भन्ने कुरा भनेन। अचम्म त के भने, मेरी श्रीमती पनि घरमा थिइन। सोध्दा कसैले केही जवाफ दिएन।

आखिर गाउँको प्रहरी थानाबाट एक प्रहरी आएर मलाई उसको हाकिमले थानामा बोलाएको छ भनेर उतै लग्यो। थानामा ती प्रहरी अधिकृतले सुनाएको कुरा मैले जीवनमा नै नसोचेको कहाली लाग्दो कुरा भएकोले म मर्नु न बाँच्नुको स्थितिमा पुगेँ।

भएको के रहेछ भने, म विदेश गए पछि मेरा पिता र मेरी श्रीमती बीच घरैमा यौन सम्बन्ध हुन थालेको रहेछ। उनको मसँग बिहे हुनु भन्दा निकै अघिदेखि यानी मेरी आमा पनि हुँदाको समयमा नै विभिन्न लालच देखाएर ललाई फकाई मेरो पिताले ती युवतीसँग गोप्य यौन सम्बन्ध राख्ने गरेको रहेछ।

उसको मसँग बिहे भएपछि र म विदेश गए पछि त उनीहरूलाई घरैमा बसेर त्यस्तो कुकृत्य गर्न निकै सहज वातावरण बनेछ। गाउँघरकाले हेर्दा विचरा बाजेको श्रीमती बितेकोले एक्ला भएका तर बुहारीको राम्रो स्याहार र रेखदेखले गर्दा आफ्नो नियमित काम गर्न पाएका भाग्यमानी ठानिएका तर भित्री रहस्य र उनको राक्षसीपनाको बारेमा त कसैलाई पनि थाहै पो थिएन रहेछ। मेरी श्रीमती भनाउँदी पनि मलाई चिठी पठाउँदा म एक्ली भएकी छु, हजुरको याद पल पलमा आइरहन्छ भनेर लेख्ने तर भित्र भित्र कति घिन लाग्दो मनकी रहिछे।

कति समयसम्म यो कुराको भन्को गाउँलेलाई पनि नभएकोमा पछि दुई जिउकी भएकी उसले बिहे गरेको १३ महिना पछि बच्चा जन्माउँदा पो सबै गाउँले चकित परेछन्।

पहिला त मेरै बच्चा उसको पेटमा होला भन्ठानेका थिए गाउँलेले। तर बिहे भएको १०, ११, १२ महिना बित्दा पनि बच्चा नभए पछि गाउँका स्वास्नीमान्छेहरूले भित्र भित्र कुरा गर्न शुरु गरेका रहेछन्।

त्यतिबेलासम्म मेरी श्रीमती भनाउँदी पनि डरले मुख देखाउन नसकेर घरको आँगनमा पनि बस्न छोडेकी रहिछ। शुरुमा त गाउँकै कुनै नाठो पल्केको पो हो कि भन्ने शंका उब्जेछ, तर बच्चा जन्मे पछि केरकार गर्दा उसले ससुराले बलात्कार गर्ने गरेको कुरा बताइछ।

गाउँलेहरूले एकदिन मेरा पितालाई लछार पछार पारेर सोधे पछि उनले यो अपराध सकारेछन् तर बलात्कार गरेको कुरा असत्य भएको र पहिलेदेखि नै त्यो कन्यासँग यस्तो सम्बन्ध रहिरहेकोमा छोरा विदेश जान लागेको मौका छोपेर उसँगै यिनको बिहे गरिदिएर आफ्नो यौनको वासना पूरा गर्ने गरेको तर आफूले गरेको पापको परिणाम स्वरुप बुहारीले पेट बोकेको कुरा बताएछन्।

गाउँलेहरूको पालो ती बुढालाई कालो मोसो दलेर गाउँघर घुमाउँदै प्रहरीको जिम्मा लगाउनको लागि लिएर जाँदा उनी गाउँलेहरूको चंगुलबाट उम्किएर भाग्दै सिधै नजिकको पहाडको भीरबाट तल फाल हालेर ठाउँको ठाउँ ठहरै भएछन्।

उता मेरो घरमा गाउँले र प्रहरी पुग्दा त्यति ठूलो कलङ्कको सामना गर्न नसकेर मेरी श्रीमतीले पनि पटुकाको पासो बनाएर गोठको अग्लो दलिनमा झुण्डिएर प्राण त्यागिछ। त्यो गाउँको इतिहासमा नै यस्तो जघन्य अपराधपूर्ण घटना र विभत्स आत्महत्या कहिल्यै भएको रहेनछ।विडम्बना भनौँ कि के भनौँ, यो सब मेरै घर परिवारमा हुन पुग्यो।

आफ्नै बाउको बदमासीको फलस्वरुप जन्मेको बच्चा भए पनि मैले त्यो बच्चालाई आफ्नै छोराको रूपमा स्विकारेँ। गाउँको सम्पत्ति सबै पञ्च भलाद्मीको रोहवरमा गाउँको हितको निम्ति छोडि दिएर म केही समय पछि त्यहाँबाट आफ्नो छोरालाई लिएर अन्तै बस्ने भनेर निस्केँ।

केही समय मधेशमा बसेर त्यहाँको जमीन बेचविखन गरेर म पश्चिम नेपालतिर गएँ। अरूले गरेको अपराध भए पनि त्यसको भागिदार आफू भएझै म भागी भागी र मुख छोपी छोपी हिँड्न वाध्य भएँ। हिजोआज ‘बाउ’ र ‘स्वास्नीमान्छ’े भन्ने शब्ददेखि नै मलाई घृणा लाग्न थालेको छ।

आखिर छोराको पढाइ र भविश्यको निम्ति भए पनि म यो फर्पिङको एउटा विकट कुनामा जग्गा किनेर बस्न थालेको हुँ। रुसबाट फर्के पछि मलाई पुनः अध्ययन गर्न विदेश जान पटक्कै मन लागेन।

त्यसैले मैले सानो तिनो व्यापारमा लाग्न थालेँ र केही सम्पत्ति पनि जोडेछु। छोरा विद्यालयको होस्टेलमा नै बस्ने भएकोले बेला बेलामा व्यापारको सिलसिलामा देशविदेश जान पनि मलाई सहज भएको थियो।

कृष्णहरिको यो सब कुरा सुने पछि आश्लाल र आनन्दी गहभरी आँशु पारेर रुन थाले। उनीहरूले कृष्णहरिको साथ कहिल्यै नछोड्ने वाचा पनि गरे। अभय कृष्णहरिकी श्रीमती निर्मलाले जन्म दिएको छोरो भए पनि वास्तवमा उ उसको भाइ थियो, यस अर्थमा।

त्यस्तै निर्मला उसैकी पत्नी भए पनि बाउको संसर्गले उनी कृष्णहरिकी सौतनी आमा पनि थिइन्। तर पनि आफ्नो भाइलाई यो सब कुराको भन्को हुन नदिएर उसले आफ्नो छोरोको रूपमा नै हुर्काएको छ। जीवनमा अनेक परिस्थितिको सामना गर्नु पर्ने हुँदो रहेछ, तर मानिसहरू साना साना समस्यामा पनि विचलित हुने गर्दछन्।

लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *