लघुकथा : तेल भिसा
लौ, माथ्लाघरे ठुलेठुली नि अब जाने रे!
“एक्कासी! के भन्छे यो, कहाँ जाने?” श्रीमानले प्रश्न गरे
“अष्ट्रेलिया रे क्या छोराले बोलाएछ, अहिले सपिङ गर्न बेंसीतिर झरेछन्।” श्रीमतीले प्रतिक्रिया दिइन्।
“भैगो त, तँलाई कति चासो? ठाउँमा भएकाले बोलाउँछन्, राम्रै हो। अनि कहिले जाने भएछन्, वस्तुभाउ, खेतीबारी कसलाई जिम्मा लगाएछन्।” उनले सोधे
“वस्तु बेचेछन्, खेतबारी सबै ठेकमा दिएर जाने बन्दोबस्त मिलाएछन्।” उनले कुरा खेलिन्।
शास्त्रले भन्छ, “दश वर्षसम्म एउटै कुवाको पानी पिउने छोरा काम लाग्दैन।” उनले छचल्किएको स्वरमा थपे-“त्यहाँको नीति-नियम सबै जान्नुपर्छ, नत्र दु:ख पाइन्छ क्यार! बच्चाका नाङ्गा तस्बिर सामाजिक सञ्जाला राख्नु हुँदैन भनेर रमेशले भन्दै थियो।” उनले अनभिज्ञता देखाइन्।
हो त, “देश अनुसारको भेष” सिक्नै पर्याे त्यहाँ गएसी त्यहाँको रहनसहन, संस्कृति थोरबहुत जान्नै पर्याे।” उनी कड्किएर बोले
“विदेशा भएर त लग्यो, उनीहरूको शानै फरक छ। तिनका अगाडि आफू सधैं निम्छरो, त्यसै त ठूला हुन्थे अब झन छोइखानु हुँदैनन्।” उनले निराशा व्यक्त गरिन्।
रमेश ठ्याक्कै टुपुल्किएर हाँस्दै व्यङ्ग्य कस्यो, “तिनीहरू तेल भिसामा जान लागेका हुन् रेन्त,थाङ्ने भिसा क्या।”
लघुकथा : इतिहास
“फुर्याे-फुर्याे” भन्दै कवि कोठाभित्र छिर्याे र चुकुल लगायो।
“हैन,के फुर्याे भन्छ यो?” बुबाले बाहिरबाट चर्को स्वर गरे।
“काम छैन, जतिखेर नि त्यहीं लेख्न मात्रै जानेछ। घरमा के छ, कसो छ? मतलब छैन, खाली आफ्नै धुन छ।” भाउन्निएको स्वरमा फेरि थपे।
ऊ भने जतिखेर नि कल्पनाशील मुन्द्रामा देखिन्थ्यो। आफ्नै अन्तर्मनमा हराउँथ्यो र केही न केही लेखिरहन्थ्यो। त्यो देखेर उनी सोच्थे, “के होला यसको भविष्य, के गरी खाला कुन्नी?”
उसको साथी विपिनलाई बोलाएर सम्झाउन लगाए, “हेर कवि, यस्तो पाराले हुँदैन? इलम गर, वृद्ध बुबाआमा छन्, परिवार छ, सबैको भरोसा होस् तँ।”
उसले भन्यो, ” केही गरेनि सफल हुँदैन, खै किन हो? न भने जस्तो काम पाउँछु न त व्यवसायमा फाइदा हुन्छ, लगानी पनि डुब्यो, नगरेको होर।” उसले खिन्नता व्यक्त गर्याे।
दुबैका कुरा सुनिरहेका बुबाले कड्किँदै बोले, ” जुन काममा फाइदा हुन्छ त्यहीँ काम गर्ने हो, तेरा साथीहरू कहाँबाट कहाँ पुगिसके ? तँ भने…।”
उसले, “कालो अनुहार बनाउँदै बुबाको तिखा बचनले टाउको निहुरायो।”
विपिनले लामो सुस्केरा ताल्दै भन्यो, “बाँचुन्जेल सम्मान पाउँदैन यिनीहरू मरेपछि इतिहास बन्छन्, काका।”
लघुकथा : रजस्वला
आज ऋषिपञ्चमी, नजिकका जलाशयमा नुहाउन जानेको लस्कर देखियो।
सखारै उठेर दतिवन च्यापेर त्यहीँ हुलमा मिसिइन्। काम सकेर घरमा के फर्किएकी थिइन्? सासुआमा एकोहोरो बर्बराउन थालिन्, ” सबै नुहाएर पवित्र भएर फर्किसके, तँ जाने जाने होइन।”
“धार्मिक पुराण पल्टाएर हेर्दा १४ वर्षको वनबासमा माता सीताले ऋषिपञ्चमीको व्रत लिएको सुनिएन। द्रोपदीले पञ्चमी गरी पाप पखालेका कुरा सुनिएको छैन। विदेशमा, अरू धर्मले पनि गरेको सुनिदैन, हिन्दु धर्मले जरो गाडेको छ।” बुहारीले सहजै उत्तर दिइन्।
सासु रिसले आगो हुँदै, “विवाहित वा अविवाहितले रजस्वला हुँदा छोइछाई भएमा ऋषिपञ्चमीको दिन अरून्धतीसहित सप्तऋषि वशिष्ठ, कश्यप, अत्रि,जगदग्नि, गौतम,विश्वामित्र र भारद्वाज ऋषिको स्थापना गरी पूजा गरेमा वर्षभरिको पाप नाश हुन्छ।” सासु एकोहोरो फत्फताइन्।
बुहारी केही नरम स्वरमा, ” यदि रजस्वला भएकी स्त्रीले छोएको पाप हुने भए, आमा! सम्पूर्ण मानव जातिको अस्तित्व नै पापमय हुने थियो।” अलि गहिरिएर सोच्नुस् तँ, “स्त्रीले गर्भ धारण गर्दा त्यहीँ रज रोकिन गई भ्रुण पाठेघरमा क्रमिक रूपमा विकास हुँदै जाने हो।” अब भन्नुहोस् , ” त्यहीँ रजबाट जन्मिएको बच्चा कसरी पवित्र भयो त?”
“माउभन्दा चल्ला बाठा, आफ्ना बाउबाजेले जे बानी बसाए त्यहीँ गर्ने हो।” सासु भड्किएको स्वरमा बोलिन्।
“रज सौभाग्य हो जसले सृष्टि चलेको छ, कानो गोरूलाई औँसी न पूर्णे।” बुहारीले खिन्नता व्यक्त गरिन्।
















Facebook Comment