प्रेम : अनिर्वचनीयं प्रेमस्वरूपम्
“सर्वं खल्विदं श्रीराधाकृष्णमयम्॥”
“यो सबै श्रीराधाकृष्णमय हो॥”
श्रीराधाकृष्णाभ्यां नमः ॥
“कृष्णेन आराध्यत इति राधा,
कृष्णं समाराधयति सदेति राधिका”
“श्रीकृष्ण श्रीराधारानीको नित्य आराधना गर्नुहुन्छ, त्यसैले उहाँको श्रीनाम राधा हो। श्रीकृष्णको उहाँ सधैँ आराधना गर्नुहुन्छ त्यसैले श्रीराधिका नामले प्रसिद्ध हुनुहुन्छ ॥
“तत्त्वन के तत्त्व जगजीवन श्रीकृष्णचन्द्र
और कृष्ण कोहु तत्त्व वृषभानु की किशोरी हैं
कृष्ण कोहु तत्त्व वृषभानु की किशोरी हैं
कृष्ण कोहु तत्त्व मेरी राधिका किशोरी हैं…”
“श्री राधे राधे राधे बरसानेवाली राधे…”
माता श्रीराधारानी-भगवान् श्रीकृष्णका युगल चरणकमलमा स्मरण-सेवा स्वरूप समर्पण ॥
“राधेति मे जीवनम्। राधेति मे जीवनम्। राधेति मे जीवनम्।”
श्रीराधा राधा राधा ॥
“सांशा कमला शैलपुत्री तां राधिका शक्तिधात्रीं नमामः ॥”
“श्री लक्ष्मीजी अनि श्रीपार्वतीजी जसकी अंशरूपा हुनुहुन्छ, ती समस्त शक्तिहरूकी अधिष्ठात्री श्रीराधिकाजीलाई हामी प्रणाम गर्दछौँ ॥”
विशेष प्रेरणारूप : श्रीधाम वृन्दावनधामका प्रेमभक्तिसन्त श्रीप्रेमानन्दजी महाराजमा दण्डवत् नमन ॥
“तपत-काञ्चन गौराङ्गी, राधे वृन्दावनेश्वरी।
वृषभानु सुते देवी, प्रणमामि हरी प्रिये ॥”
“पगालिएको सुन झैँ कान्तियुक्त, उज्यालो चहकयुक्त वर्ण हुनु भएकी हे राधा ! श्रीधाम वृन्दावनधामकी अधिष्ठात्री हे देवी, श्रीवृन्दावनेश्वरी, राजा वृषभानुकी दिव्यकन्या-सुपुत्री हे देवी ! हे कृष्णप्रियादेवी ! म हजुरलाई कोटीकोटी साष्टाङ्ग दण्डवत् नमन गर्दछु ॥”
श्रीराधा शरणं ममः ॥
“हमें औरन की परवाह नहीं
अपनी ठकुरानी श्रीराधिकारानी…”
जय जय श्रीराधे ॥
“I wish to close my eyes & see you everyday.”
श्रीराधाकृष्णको दिव्यदर्शनले श्रीधाम वृन्दावनधाममा निधिवनजीका यी वृक्षहरूलाई प्रेमी बनायो, प्रेम गर्न सिकायो…
वातावरणमा प्रसारित श्रीराधाकृष्ण प्रेमको दिव्यदर्शनबाट निथ्रुक्क प्लावित झुकेका निधिवनजीका यी वृक्षहरू उहाँ दुईका चरणस्पर्शबाट कृतकृत्य भुईँका डाँठ टिपी ती पावन नै धरतीमा दिव्य परमानन्दी महामग्नतामा असरल्ल लेटेका चरणरजमा स्वस्फूर्त अभिव्यक्त, ती वृक्षका भावरूप पोखिन्छन्, यसै, अनायासै… ‘प्यार के कागज पे, दिल की कलम से…’… भरिएका छन् जो दिलमा जब प्रेम, यसै अनायासै पोखिईजान्छन् तब अक्सर…
ती धरती प्यारका पवित्र कागज हुन् र ती डाँठ तिनी वृक्षका दिलका प्रेमकलम, दिव्यकलम… ‘प्यार के कागज पे, दिल की कलम से…’…
“यी भुईँहरू छुन मन लाग्छ,
ती युगल चरणकमलले टेकेका धरती
मन्दमन्द सुमसुम्याउन मन लाग्छ …
दुवैका पदचाप नबिगारी,
यी चरणरज सुमसुम्याउन मन लाग्छ…”
र, र यति लेख्नासाथ मेटिदिईहाल्दछन् ! भावले देख्यो भावलाई भैहाल्यो नि ! अरूले किन देख्नु पर्यो र ?! प्रेमले देख्यो प्रेमलाई ! पुगिहाल्यो नि !!!
बोलीहरू बोल्दैनन् यहाँ, अहँ ! तर भावनाहरू अगि प्रीतको बोलीमा धेरै बत्तिसकेका हुन्छन्। बोलीहरू फुट्दैनन् यहाँ, बोली नफुटेको एक बालक झैँ ! एक जिवात्मा प्रेममा बच्चा भई दिन्छ।
किनभने प्रेम बच्पन हो। प्रेम अबोध शैशव हो। प्रेम बच्पना हो ! ‘पीटर प्यान’ हो, प्रेम बालक हो। प्रेम अबोध बालक हो। आँखाहरू जन्मजन्मान्तरका ‘दिल-ए-दास्ताँ’ का ‘बयाँ’मा हराई सकेका हुन्छन्। बोल्दा त परिचय सुरु हुन्छ। बोलीहरू सिलसिला बिथोल्छन् यहाँ ! प्यारको सिलसिला ! बिथोल्छन्।
जसरी पुरै सिङ्गो आकाशमा नाच्ने पङ्खी पिँजडामा ल्याई थुने झैँ अनन्तताको भव्य प्रसारणमा फैलने चाहतको स्वरूप भएको प्रेम, शब्दले आफ्ना सीमाको पिँजडामा जकड्याईदिन्छन्।
किनभने प्रेम त मौन थियो। मौन सीमाहीन हुन्छ। अन्तहीन ! प्रेम बोलीमा कहाँ व्यक्त हुन सक्यो र ?! भावनाका अनन्त सघनता अनन्त नै फैलावटका प्रेमसागर बोलीका तराजुमा कहाँ कहिले पो अटे होलान् र खै ?! अतः मौन नै प्रेमको स्वरूप हो। प्रेम बोलीमा व्यक्त हुँदैन। वर्णन हुन नसक्ने प्रेम अनिर्वचन हो। “अनिर्वचनीयं प्रेमस्वरूपम् ॥” ! स्वरूप प्रेमको यस्तै नै हुन्छ। प्रकृति प्रेमको नियति यस्तै नै हुने रहेछ।
प्रेम निमुखा हो, मूक हो, मौन हो।
जनावरहरू बोल्दैनन्, अबोध आयाम हुन् जनावरहरू प्रेमका विशुद्ध स्वरूप हुन्, उनीहरू प्रेमका अभिव्यक्ति नबोली इजहार गर्छन् – शरीरका भाषाबाट ! भावले ! भित्रको भाव बाहिर शररीरका भावभङ्गीले ! जसरी साह्रै मसिना बालबालिका !
बालबालिका र जनावर- यिनमा प्रेम तत्त्व अति सघन हुन्छ ! नबोली नै शारीरिक भङ्गीका माध्यमबाट ! यिनी व्यक्त हुन्छन्। जसरी ती बालक खुसीमा शरीरका अङ्गप्रत्यङ्ग-हातखुट्टा झट्कार्दै, ढाडजिउ खुसीमा नचाउँछन् ! नबोली नै हृदयको प्रेम अभिव्यक्त गर्छन् ! खुसी प्रेमको तत्त्व हो ! खुसी हुन, खुसी दिन प्रेम गरिन्छ। अर्को कुनै अभिप्राय छैन।
प्रेम खँदिलो हुन्छ, भरिलो। भरिपूर्ण हुन्छ। प्रेम परिपूर्ण हुन्छ। भित्रैबाट भरिपूर्ण ऊ परिपूर्ण ! भावले ! प्रेमभावले। प्रेमको भावले। रोमरोम नाचेर उठ्तछ यहाँ प्रेममा तब हृदयबाट सैलाब भई भावरूपमा प्रेम स्वस्फूर्त अभिव्यक्त हुन पुग्दछ, शरीरका भङ्गिमाबाट, प्रेम तब बोल्न थाल्दछ ! मौन बोल्न थाल्दछ !
सधैँ बित्यो-बिग्र्यो भन्ने महादौडलाई एकैछिनलाई भए पनि टक्क अडिएर त्यो दौड थाती राख्न केही अभ्यास चाहिने रहेछ ! यस महाप्रपञ्च बिचैमा पनि जीवन र यस अस्तित्व आफ्नो अर्थ छताछुल्ल बयाँ गरिरहेका हुन्छन्।
आफ्नो वास्तविक स्वरूप – प्रेम बोलीरहेका हुन्छन् ! कतै फूल फुलिरहेका हुन्छन्, नाचिरहेका हुन्छन् चरा गाईरहेका हुन्छन्, झरना-नदीका छङछङ आवाज हामी माझ महादेवी श्रीसरस्वतीका वीणाका दिव्य सङ्गीत बोकेर आईपुग्छन् !
सनातनको प्राचीन प्रेमध्वनि बोकी आईपुग्छन् टुप्लुक्क अघिल्तिर ! हामी हस्याङफस्याङमा हिँड्दाहिँड्दै बिचैमा टुप्लुक्क अघिल्तिर। निमिषको घटनमा मिलिक्कको चित्रण ! हो यो झिलिक्कको दृश्याङ्कन कुद्दाकुद्दै त्यहीँनेर टक्क रोक्किएर जीवनको विराट अर्थानुभूति दिन यस अस्तित्व निमुखा, मूक, मौनको दर्शन गराईदिन्छन् ! प्रेमको दर्शन गराईदिन्छन्। अनि ती दिव्य दर्शनहरूले प्रेम गर्न सिकाउँछन्, प्रेमी बनाउँछन्…
Why does your imagery feel so dear ?
Your form moves,
& my heart follows near…
जागृतियुक्त हुनसके अकस्मात् हुन सक्ने दर्शनको सम्भाव्यता कुद्दाकुद्दैको अवस्थामा पनि टक्क रोकिएर झ्याप्पै ‘क्याच’ गर्न सकिन्छ कसो ?! त्यस मौनको दर्शनमा तब आँखाहरू बोल्न थाल्छन्, अश्कका भाषा भएर ! ओठहरू बन्द हुन्छन् र नयनहरू अब बोल्न थाल्छन्।
आँसु आँखाको बोली हो, भाषा हो। हृदयको शब्द हो। प्रेमकविता हो, गीत-गजल हो। प्रेमी र प्रेमको विषय बिच मौनी पुल आँसुहरू हुन् ! दुई हृदयका बोलीचालीका भाषा प्रेमाश्रु ! बोल्दै गरेका फगत बोली ट्याप्प बन्द हुन्छन्, मुटुका भाव आँखा तिर अब बसाइँ सर्छन् र आँखा बोल्छन् भावनाहरू – अश्रुधाराका भाषा भएर…आँखाहरू तब धाराप्रवाह बोल्न थाल्छन् ! यो
हृदय तब त्यो हृदयमा जोडिन्छन्। प्रेम गरिएको विषय नवनीत छ, कोमल – आँखाहरू अब अनुभूति गर्न थाल्छन् ! आँखा र हृदयका दूरी अब मेटिन्छन्, नयन र दिल अब भेटिन्छन् ! यी दिव्यानुभूतिका सन्देश हृदयले अगि धारण गरिसक्छन्। नाजुक-मासुम-सुकोमल ! सुगन्धी पारिजात झैँ ! मुलायम रेशम झैँ…
My eyes feel your softness !
Why have my eyes begun to feel ?
Why do I see your form – so tender, so delicate, so soft,
Like a night Jasmine flower, like cotton fluff ?
प्रेम गरिएको विषय किन त्यति कमलो महशुस हुन्छ हँ ?! श्रीराधारानीजीलाई प्रेमको उच्चतम अवस्थामा कोमलताले त्रिभङ्ग श्रीकृष्ण झैँ, श्रीयशोदा मैयालाई नटखट पुकुलु श्रीबालगोपाल झैँ !
फर्किएर प्रेम हेर्नेवालालाई नै सुकोमल तुल्याई दिने ! मनमोजी चञ्चल हृदयवृति प्रेममा अगाध गाम्भीर्यताको विवश हृदयस्थितिमा तुल्याईदिने। प्रेम नै स्वयम् मा कोमल हुन्छ या प्रेम गरिएको विषय ?! या प्रेम हृदयमा घटित हुँदा प्रेमी नाजुक ?!
Why does your existence feel so soft through my eyes ?!
So soft, it makes my heart tender itself.
Your softness, in the end, softens me too.
So soothing…why is Love so soft ?!
Is Love truly soft, or has your softness made me so ?
Or has your Love for me softened me ?
Or is it my Love for you that has softened me ?…
“कृष्ण गेहे स्थिता राधा राधा गेहे स्थितो हरिः।
जीवनेन धने नित्यं राधाकृष्णगतिर्मम ॥”
“श्रीराधारानी भगवान् श्रीकृष्णको शरीरमा रहनुहुन्छ र भगवान् श्रीकृष्ण श्रीराधारानीमा विराजित हुनुहुन्छ। त्यसैले मेरो जीवन, मेरो धन, जीवनको प्रत्येक-क्षण-क्षण श्रीराधाकृष्ण, श्रीराधाकृष्णको शरणमा रहोस्, उहाँहरूकै आश्रयमा व्यतीत होस् ॥”
आत्माको नैसर्गिक स्वरूप नै प्रेम हो ! बाहिर संसार त विस्तार मात्र हो। बाहिर प्रेमको दर्शन आफ्नै दर्शन हो, आफ्नै स्वरूपको दर्शन हो। आफ्नै रूपको स्वरूप हो, आप्नै विम्बको प्रतिविम्ब हो। आफ्नो वास्तविक स्वरूप नै प्रेमको रूप हो। त्यसैले श्रीकृष्ण मै श्रीराधारानी हुनुहुन्छ श्रीराधारानी श्रीकृष्ण।
चन्द्रमाको पनि दर्प-घमण्डलाई चूर्ण-विचूर्ण गरिदिने चारैतिर मणिमाणिक्य जडित आफ्नो दिव्यातिदिव्य मणिबान्धव दर्पण(ऐना)मा आफ्नो श्रीमुख नियाल्दा श्रीराधारानीजी श्रीकृष्णको दिव्य दर्शन गर्नुहुन्थ्यो अनि श्रीकृष्णकी शक्ति-आह्लादिनी शक्ति – श्रीराधारानी ! भेद रहेन ! अभेद छ प्रेम यो भेदरहित हो।
“येयं राधा यश्च कृष्णो रसाब्धिर्देहश्चैकः क्रीडनार्थं द्विधाभूत।”
“रसको सागर जो श्रीराधारानी अनि जो श्रीकृष्ण हुनुहुन्छ, उहाँ दुवै एकै हुनुहुन्छ, दिव्य लीलाका लागि दुई रूप हुनुभएको छ ॥”
आफ्नो वास्तविक स्वरूपको अवस्थिति नै परम स्वतन्त्रता हो। स्वरूपानन्द हो। यही स्वरूपानन्द परमानन्द हो। परम स्वतन्त्रतामयी स्वरूपानन्दको परमानन्दमयी महामग्नता भरे दिव्य व्यसन त्याग्नै नचाहने प्रेम सर्वोच्च विवशता हो ! उच्चतम विवशता ! स्वतन्त्रता नामको अनन्त फैलावटवाला क्षितिजमा निर्विकल्प उडान ! प्रेम परम विवशता हो। भित्रैबाट भरिपूर्ण ऊ परिपूर्ण विवशता यस अर्थमा पनि ऊ अभिव्यक्त नभई छाड्दैन किनभने प्रेम आफैँमा एक अभिव्यक्ति हो।
भौतिक बोली भन्दा उपल्लो आफ्नै आयाममा मौनी प्रेम भावको अभिव्यक्तिबाट आफ्नै भाषा बोल्छ। प्रेम नबोली भावबाट अभिव्यक्त हुन विवश छ ! अनि विवशता यस अर्थमा पनि ऊ करुणाले भरिपूर्ण नभई बस्नै सक्दैन ! करुणा स्वरूपमा ऊ अभिव्यक्त नभई बस्नै सक्दैन।
यसरी स्वः अभिव्यक्त प्रेम जम्दैन ! प्रेम नदी हो ! बगीरहन्छ, बगीरहन्छ अनवरत ! बगिनैरहन्छ। र, किनारमा आउने सबलाई प्रेमयुक्त बनाउँदै ऊ बगीरहन्छ। बगीरहन्छ ऊ अनवरत बगीरहन्छ। प्रेम जागृत भएको स्रोतबाट ऊ बगिरहन्छ…बगिनैरहन्छ। डाँडा-पहरा अहँ केहीले पनि उसलाई रोक्न सक्दैन। चट्टानी डाँडाहरू प्रेम नदीलाई झुकाईको नमनले बाटो छाड्दिन्छन् !
यो प्रेमको अविश्वसनीय बल हो ! प्रेमले दूरी भन्दैन ! हिमालबाट समुद्भव भएकी नदी असम्भव यात्रा तय गर्दै दूरदराजको सागरमा मिल्दछिन् ! प्रेम हर असम्भवको महासम्भव समाधान हो।
पुरातन प्रेम प्राचीन हो। सनातन हो। परम्परा हो। प्रेम आदी हो, प्रेम अनादि हो, प्रेम अनन्त हो। किनभने प्रेम ईशत्व हो। पलपल अर्वाचीनको रोमहर्षक दिव्यानुभूति दिलाईदिने प्रेम प्राचीन हो; कोही नयाँलाई देखेर चिनजान पुरानो प्रीतको, अनुभूति प्रेम हो।
जन्मजन्मान्तर पुराना उल्झनमयी कडीहरू मिल्न गएका झैँ परम सुल्झनवाला पराभौतिक ‘एहसास’ प्रेम हो। धेरै पुरानो चिनजानको झैँ आफ्नोपनको दिव्यानुभूति प्रेम हो।
मुहानरूप उनै प्रेममूर्ति परमात्माबाट अनवरत बगिरहेको समय सनातनी प्रेमनदी हो। हामी आम मानवलाई समय वर्तमानमा अनुभूति हुन्छ; प्रेम ताजा हो-वर्तमान हो। प्रेमको दिव्यानुभूतिमा स्थित योगीहरू त्रिकाल मै कालातीत प्रेमको दर्शन गर्दा हुन् !
हामीलाई त झिलिक्क दर्शन वर्तमानमा, अनि ती अनायासका वियोगी बिछोडहरू फर्किएर आई वर्तमानमा, जोडिएको अनुभूत प्रेम हो। ती यसै अनायासै भएका वियोगहरू फर्किएर आई योगको दिव्यानुभूति प्रेम हो। त्यो ईशसँगको प्रेममा यस्तै हुन्छ ! जनमजनम चौरासीलाख जनमको अनवरत चक्रीय घुमाई सक्काएर मानवजनममा फेरि आइपुग्दा जनमजनम पहिले त्यो ईशसँगको प्रेम एक मिहिन बहानाले फेरि जागृत तुल्याईदिन्छ !
फेरि जागृत उस्तै तुल्याईदिन्छ ! प्रेम फर्कन्छ ! सकेसम्म जस्ताको तस्तै ! या अझै बढेर !!! नभए पनि अनेक रूपस्वरूपमा प्रेमले आफूलाई पठाउँछ प्रेमी अघिल्तिर ! प्रेमवृक्षको वृक्षारोपण हुन मात्र जरुरी हो ! प्रेम फर्कन्छ। प्रेमले आफूलाई उभ्याउँछ नै प्रेमी अघिल्तिर ! बस ! प्रेमी हुन मात्र जरुरी हो !
किनभने ईश्वरको आँचलमा घटित यो चराचर ईशतत्त्व बिहिन कसरी सम्भव होला र ?! किनभने प्रेम अविच्छिन्न सिलसिला हो। त्यो ईशसँगको प्रीतमा यस्तै हुन्छ। किनभने ईश्वर सिलसिसेवार छ, अटूट छ, लगातार छ।
प्रेम गरिएको विषय दिलको प्रेमगद्दीमा जो सजिएको छ प्रेम आफैँमा प्राप्ति हो। श्रीराधारानीजीले प्रेमको विराटता प्रस्ट्याउनु भयो; प्रेमको विषयसँगको भौतिक वियोग पनि प्रेम नै हो किनभने हृदयको पलपल धक्धक् नै उही हो ! अतः प्रेम आफैँमा प्राप्तिरूप हो। प्रेमले मनको साँघुरो चर्मचक्षुलाई विहङ्गम दृष्टिगोचरको ज्ञानचक्षु नामक विराट उचाईको फरक आयाममा उकाल्दछ र हृदयको आफ्नो स्वरूपको बोध दिलाउँदछ।
आफ्नो स्वरूपको बोध भएको हृदय प्रेमको बोध हो। यसरी प्रेमले अन्तर्निर्मित स्वरूपानन्दको बोधित हृदयमा दिव्यदृष्टि खुल्दछ। आफ्नै बोध-प्रेमको बोधबाट उच्चतर आयाममा जागेको प्रबुद्ध हृदयले आफ्नो अघिल्तिर बाहिर पनि विस्तीर्ण क्षितिजको प्रेमानुभूतिवाला विराट दर्शनमा प्रेमको दिव्यदर्शन गर्दछ। तब त भित्र पनि प्रेम बाहिर पनि प्रेम, सर्वत्र प्रेम, यत्र-तत्र प्रेम, सिङ्गो चराचरमा प्रेमको ‘दीदार’ गर्दछ – प्रेम आफैँमा प्राप्ति हो !
प्रेमको भक्तिले सर्वत्र प्रेम कै मात्र दर्शन हुन्छ ! या हृदयमा प्रेमबोध हुँदा भक्तिको अनन्यता ! “अविच्छिन्नम्”-विच्छेदरहित;
सबै प्रेममय एकाकर-प्रेमाकार, प्रेमरूप ! अनि सबै प्रेमस्वरूप भैदिए पछि द्रष्टा पनि त्यसमै घोलिन पुग्दछ ! प्रेमको प्राप्तिले प्रेमरूप भईन्छ।
“कामनारहितम्”-प्रेममा प्रेम बाहेक अन्य कामना हुँदैन। कामना नहुनाले द्वन्द्व हुँदैन। “शान्तिरूपात्परमानन्दरूपाच्च ॥”
प्रेम परमशान्ति हो, सनातन परमधाम-शान्तिधाम हो, प्रेम तीर्थ हो।
भेद रहन्न ! द्वन्द्व हराएको अवस्था प्रेम हो ! द्वन्द्वको अभाव प्रेम हो। भेद रहन्न। केहीमा पनि भेद नरहँदा भक्ति र प्रेम मै पनि भेद रहन्न; “सा त्वस्मिन् परमप्रेमरूपा ॥”
“भक्ति ईश्वरको प्रति परमप्रेमरूप हो।”
प्रेम निरोधस्वरूपा हुने हुनाले त्यस प्रेमलाई प्राप्त गरेर अन्य इच्छा-कामना नै रहन्न, शोक पनि रहन्न, द्वेष पनि रहन्न न नै अन्य कुनै विषयमा आसक्ति या उत्साह आउँछ। किनभने सर्वोच्च कुरा प्राप्त भो ! अब उत्साह केवल आउँछ-रहन्छ त त्यै प्रेममा चरम उत्साह, परम उत्साह ! अतः प्रेम तृप्ति हो, सिद्धि हो, अमृत हो, अमरता हो।
प्रेमको घटना एक सुन्दर फुलाई हो अतः प्रेमले द्रष्टा सुन्दर हुन्छ। हृदयमा प्रेमको फूल फुलेको हेर्नेवाला नै आफैँमा सुन्दर भैदिन्छ ! हृदयमा प्रेमकमल फुलेको त्यस सुन्दरको हेराईले दृश्य सुन्दर हुन्छ। तब सर्वत्र प्रेमको दर्शन हुन्छ। एक विशिष्ट उदाहरण हामीले अचेल धेरै सुन्न अहोभाग्य प्राप्त भैरहेको श्रीमद्वल्लभाचार्य विरचित श्रीमधुराष्टकम् लाई लिन सक्छौँ।
श्रीमधुराष्टकम् प्रेमको उच्चतम परिभाषा-व्याख्या-दृष्टान्त मध्येमा हो। यस दिव्य अष्टकम् मा प्रेमको दिव्य वर्णन पनि छ अनि प्रेमको अवस्थामा अवस्थित रचयिताको अवस्थाको अनुभूतियुक्त भाव पनि भेउ पाउन सकिन्छ। यहाँ प्रेमको व्यावहारात्मक सिद्धान्त पनि छ र प्रेमको अनुभूतिको दर्शन पनि छ। सिद्धान्त र व्यावहारात्मक अनुभूति दुवै एकैचोटि प्रेम मै हुन्छ किनभने प्रेम “अनुभवरूपम्”, अनुभवरूप हो।
श्रीमद् वल्लभाचार्यजी प्रेममा अवस्थित हुनाले उहाँले भगवान् श्रीकृष्णलाई मात्र मधुर देख्नुभएन, एक मात्र परम कारण, महाकारण हुनाले एक मात्र कर्ता साक्षात् परब्रह्म भगवान् श्रीकृष्णका हरेक कार्य मधुर दर्शन गर्नु भो। महाकारणदेखि त्यस महाकारणका हरेक कार्य मधुर !
ईश्वर देखि ईश्वरका हरेक लीला प्रेमले युक्त मधुर ! यो प्रेमको उच्चतम अवस्था हो। प्रेम गरिएको विषयबाट फैलिएर सर्वत्र उसै विषयको दर्शन गर्नु, सर्वत्र प्रेमकै दर्शन गर्नु ! अतः प्रेम विभु हो। विभु हुनाले प्रेम व्यापक हो, ईश्वर हो। सर्वत्र प्रेमको दर्शन हुँदा चराचर यो सिङ्गो अस्तित्व प्रेमको भावधारा हो, प्रेमधारा ! “सर्वं खल्विदं श्रीराधाकृष्णमयम् ॥” प्रेम साक्षात् ईशत्व हो, ईश्वर हो।
आफ्नो प्रेमपुस्तक “द से दुःख बडी ई से ईश्वर” भित्र प्रेमकवयित्री पायल राठौड ‘प्रीत-सङ्गीत’ शीर्षकमा एक सुन्दर प्रेमकविता लेख्छिन् :
“प्रेम करो
तब तक करो
जब तक कि
प्रेम तुम्हें ये न समझा दे
प्रेम ईश्वर है
सङ्गीत है
आकाश है
धरती है
सब कुछ है
किन्तु पीडा नहीं है।”
प्रेमको दर्शनले प्रेम गर्न सिकाउँछ, प्रेमी बनाउँछ। प्रेमको दर्शन हृदयमा प्रेमको भावले घटित हुन्छ। प्रेमको दर्शनमा समय रोक्किन्छ र दृश्य अमरत्वमा स्थित हुन्छ। हरपल नयाँ, पलपल नयाँ नवीन ! दृश्य यहाँ प्रेमको विषय हो।
प्रेममा विषय यहाँ पलपल जन्मिन्छ। अतः प्रेम समयका हरेक स्पन्दनमा तरोताजा ! प्रेमको विषयको अमरत्वको स्पर्शले द्रष्टा पनि स्वतः अमरत्वमा जोडिन्छ। प्रेमको उपस्थितियुक्त अमर दृश्यको दर्शनमा दृष्टि अमर हुन पुग्दछन्।
दृष्टि बोक्नेवाला द्रष्टालाई स्वतः अमरताको उच्च आयाममा उकालेर। दृश्यमा प्रफुल्लता, दृष्टिमा प्रफुल्लता, प्रफुल्ल द्रष्टा ! हृदयमा प्रेमको स्थितिले विषयमा प्रेमको दर्शन भो या प्रेम धारित विषयको दिव्यदर्शनले हृदयमा प्रेम घटित भो ? हृदयमा प्रेम थियो या दर्शनको विषयमा ?! या दुवैमा ?!
हृदय प्रेमको लागि जनमजनमबाट संस्कृत थियो र दर्शन भो ?! खैर जे होस् !
तब यहाँ हृदयमा प्रेमफुलाईको आनन्दमा डुबेको द्रष्टा प्रेमको विषयबाट हरतरफ उही प्रेमको विषयले युक्त प्रेमकुसुमित दृश्यमा रमन गर्दछ। अन्तहीन अमरताको फुलाई फुलेको सहस्रार प्रेमकमलको दर्शनमा जन्मजन्मान्तरको अनवरत चक्रीय दौडाई तोडेर टक्क अडिँदै अमरत्वको ठहरावमा द्रष्टा रोक्किन्छ।
गन्तव्य हाँसिल ! यात्रा पूरा !
भावले भक्ति घटित हुन्छ। भक्तिमा मधुर भाव ! भगवान् श्रीराधिकेश मधुर भावका अधिपति हुनुहुन्छ। “मधुराधिपतेरखिलं मधुरम् ॥” रससिन्धु श्रीकृष्ण प्रेमका देवता हुनुहुन्छ।
भक्ति मै प्रेम ! प्रेम भावहरूका पनि भाव हुन्। महाभाव हुन्। महाभावमा प्रेम। श्रीआद्याशक्ति, प्रेमकी देवी, महादेवी, श्रीराधारानीजी महाभावकी देवी हुनुहुन्छ, प्रेमकी देवी हुनुहुन्छ।
“कृष्णप्रेममयी राधा राधाप्रेममयो हरिः।
जीवनेन धने नित्यं राधाकृष्णगतिर्मम ॥
देवी श्रीराधारानीजी भगवान् श्रीकृष्णको प्रेमले परिपूर्ण हुनुहुन्छ अनि श्रीभगवान् श्रीदेवीजीको प्रेमले परिपूर्ण।
त्यसैले मेरो जीवन, मेरो धन, जीवनको प्रत्येक-क्षण-क्षण श्रीराधाकृष्ण, श्रीराधाकृष्णको शरणमा रहोस्, उहाँहरूकै आश्रयमा व्यतीत होस् ॥”
“कृष्णप्राणमयी राधा राधाप्राणमयो हरिः।
जीवनेन धने नित्यं राधाकृष्णगतिर्मम ॥
भगवान् श्रीकृष्णको प्राण श्रीराधारानीको हृदयमा विराजित हुनुहुन्छ अनि श्रीराधारानीजीको प्राण श्रीभगवान् का हृदयमा। त्यसैले मेरो जीवन, मेरो धन, जीवनको प्रत्येक-क्षण-क्षण श्रीराधाकृष्ण, श्रीराधाकृष्णको शरणमा रहोस्, उहाँहरूकै आश्रयमा व्यतीत होस् ॥”
“Without you, my joy is nothing, & with you, my sorrow is nothing.”
“राधेति मे जीवनम्। राधेति मे जीवनम्। राधेति मे जीवनम्।”
श्रीराधा शरणं ममः ॥
“हमें औरन की परवाह नहीं
अपनी ठकुरानी श्रीराधिकारानी…
श्री राधे राधे राधे बरसानेवाली राधे…”
भगवान् श्रीराधाकृष्ण कृपाबाट प्राप्त विभिन्न ग्रन्थ, स्तोत्र तथा स्रोतहरूमा दण्डवत् नमन :-
अथर्ववेदीय श्रीराधिका तापनी उपनिषद्, ऋग्वेदीय श्रीराधा उपनिषत्, अथर्ववेदीय श्रीराधोपनिषद्, श्रीकृष्णाष्टकम्/श्रीयुगलाष्टकम्, श्रीश्रीलरूप गोस्वामी विरचित श्रीश्रीराधाकृष्णगणोद्देश-दीपिका र श्रीनारद भक्ति सूत्र सहारा ॥
माथि उल्लिखित सहारा ग्रन्थ-स्तोत्र (एउटै ग्रन्थ-स्तोत्र पनि विभिन्न विद्वान् जनबाट विस्तारित विश्लेषण रूपमा ग्रहणको प्रयासमा) Google.com, Wikipedia, brajrasik.org, Vadicjagat.co.in, sanskritforus.com, scribd.com आदि बाट ॥
श्रीराधा राधा राधा !!! श्रीराधा राधा राधा !!! श्रीराधा राधा राधा !!!
जय श्रीराधाकृष्ण ! “सर्वं खल्विदं श्रीराधाकृष्णमयम्” !! श्रीराधा राधा राधा !!!
जय जय श्रीराधे !!! श्रीराधे !!! श्रीराधा राधा राधा !!!
















Facebook Comment