उराँव समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छः सभापति देउवा
इनरुवा (सुनसरी)। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उराँव समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन्।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा आज करम पूर्वसन्ध्या तथा करम पूजा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै सभापति देउवाले उराँव समुदायको उत्थानका लागि स्थानीय र प्रदेश सरकार बढी सक्रिय भएर योजना बनाउनुपर्ने बताए। उराँव समुदायका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग उनले आग्रहसमेत गरे।
सभापति देउवाले उराँव समुदायका नागरिकको शैक्षिक गुणस्तर उकास्न स्थानीय तथा प्रदेश सरकारसहित संघीय सरकारको सहकार्य र समन्वय आवश्यक पर्ने खाँचो औँल्याए। यो समुदायको उत्थानका लागि नेपाली कांग्रेसले नेपाल उराँव संघ गठन गरेको उनले जानकारी दिए।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, राजिव कोइराला, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद, कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीलगायत व्यक्तिको सहभागिता थियो।







डिसी नेपाल







Facebook Comment