देउवाको पोस्टमा बालेनको व्यङ्ग्यात्मक कमेन्ट, मूल पोस्टमा भन्दा कमेन्टमा ४ गुणा बढी लाइक
काठमाडौं । देशैभरी सरकारी निर्देशनमा नेपालमा दर्ता नभएका सामाजिक संजाल बन्द भइसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले फेसबुकमा पोस्ट गर्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यङ्ग्य गरेका छन् ।
सरकारले बिहीबार दर्ता नभएका २६ सामाजिक संजाल बन्द गर्ने व्यवस्था गर्न यस सम्बन्धी नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणलाई पत्राचार गरेको थियो । प्राधिकरणले बिहीबारै दर्ता नभएका संजाल बन्द गर्न देशका सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसकेको छ । निर्देशनअनुसार सेवा प्रदायकले संजालहरु बन्द पनि गरेका छन् ।
तर, सामाजिक संजालहरु बन्द भइसकेको अवस्थामा शनिबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दर्ता नभएका कारण निलम्बित संजाल फेसबुकमा पोस्ट गरे । उनले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आफूले नेपाल उराव संघको स्थापना दिवस तथा करम पुजा कार्यक्रमलाई सम्बोधन गरेका तस्वीरहरु पोस्ट गरेका थिए ।
यो पोस्टमा काठमाडौंका मेयरले कमेन्ट गरेका हुन् । मेयरले लेखेका छन् ‘यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली कि विदेशी ?’ उनले अगाडि थप व्यङ्ग्य गर्दै लेखेका छन् ‘सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त ।’ सरकारको निर्देशनमा बन्द गराइएको सामाजिक संजाल सत्ताको प्रमुख साझेदार दलका प्रमुखले प्रयोग गरेपछि उनको यो व्यङ्ग्य आएको हो ।
बालेनको कमेन्ट आएपछि देउवाको पोस्टमा इंगेजमेन्ट ह्वात्तै बढेको छ । सामाजिक संजालमा २५ लाखभन्दा धेरै फलोअर भएका मेयर बालेनको कमेन्टपछि उनको कमेन्टमा लाइकको वर्ष भएको छ । शेरबहादुर देउवाले गरेको मुख्य पोस्टमा लाइकसहितका रिएक्सन ४ हजार पनि पुगेका छैनन् तर बालेनको कमेन्टमा भने लाइकसहितका रिएक्सन १६ हजारभन्दा धेरै भइसकेको छ ।







डिसी नेपाल







Facebook Comment