बिहीबार अपरान्ह ४ बजेदेखि मध्यराति साढे एक बजेसम्म शितल निवासमा के भयो?

मदन कोइराला
२७ भदौ २०८२ ७:३५
2.8k
Shares

काठमाडौं। जेनजीको आन्दोलनपछि नेपाली सेनाको सुरक्षामा सैनिक मुख्यालय भद्रकालीमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल बिहीबार अपरान्ह चार बजे सरकारी निवास शितल निवास फर्किए।

शिलत निवासको मुख्य भाग आगजनी भएपछि पछाडि पट्टीको भवन सुरक्षित रहेको शितल निवास स्रोतले जनाएको छ। सरकारी निवास फर्किएपछि राष्ट्रपति पौडेलले वर्तमान विभिन्न पक्षसँग सामुहिक छलफल सुर गरे।

जसमा जेनजीको तर्फबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, काठमाडौं महागरपालिकाका प्रमुख बालेन साहका तर्फबाट वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल, प्रधानसेनापछि अशोककुमार सिग्देल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन छलफलमा सहभागी भए। जेनजीले आफ्नोतर्फबाट पूर्वप्रधानन्यायाधीश कार्कीलाई सरकारको नेतृत्व दिन प्रस्ताव गरेपछि वार्तामा कार्की आफैं सहभागी थिइन्।

सो वार्तामा कार्कीलाई सरकारको नेतृत्व दिने विषयमा सहमति भएपछि प्रक्रियाका विषयमा कुरा मिल्न सकेको छैन। जेनजीले वर्तमान संसद विघटन नगरी प्रक्रिया अगाडि नबढ्ने अडान राखेको छ।

संसद विघटनको विषयमा कुरा अड्किएपछि प्रमुख दलका शीर्ष नेतासँग फोनमा नै सम्पर्क गरिएको स्रोतले जनाएको छ। नेपाली सेनाको सुरक्षा घेरा शिवपुरीमा रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग शितलनिवासबाट फोन सम्पर्क गरी वार्ताको विषयमा जानकारी गराइएको थियो।

यसैगरी उपचाररत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भैरवनाथ गणमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि फोनमा नै छलफल भएको थियो। सो छलफलमा उनीहरुले जेनजीको माग अनुसार सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन सहमति जनाएपनि वर्तमान संसद र संविधानभित्रैबाट बनाउनु पर्ने अडान राखेका थिए।

जसमा जेनजी र बालेनका प्रतिनिधि ओमप्रकाश अर्यालले सहमति जनाएनन्। सहमतिको प्रयास गर्दागर्दै मध्यराति साढे एक बजेपछि आज विहान नौ बजे फेरि बस्ने गरी वार्ता सकिएको शितल निवास स्रोतले जनाएको छ।

संसद विघटनमा कुरा मिलेन

संसद विघटन गर्नुपर्ने जेनजी र बालेनको मागमा राष्ट्रपति पौडेल र प्रमुख दलका शीर्ष नेता सहमत भएका छैनन्। उनीहरुले यही संविधान र संसदभित्रैबाट निकास खोज्नुपर्ने अडान राखेका छन्।

राष्ट्रपति पौडेलले निवर्तमान प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवालाई आफूलाई चाँडो प्रधानमन्त्री नियुक्त गर्नुपर्ने दबाव रहेको बताएका थिए। त्यसपछि ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त कुन विधिबाट नियुक्त गर्न लाग्नु भएको हो भनेर सोधेका थिए।

राष्ट्रपति पौडेलले संवैधानिक विधिमार्फत नै गर्ने जवाफ दिएपछि ओलीले ठिकै छ भनेका थिए। कांग्रेस सभापति देउवाले पनि संवैधानिक विधिमार्फत गर्नुस् भने सहमति रहन्छ भन्ने जवाफ दिएको स्रोतले जनाएको छ। तर कुन प्रक्रिया अनुसार नियुक्त गर्ने भन्ने विषयमा कुरा नमिलेपछि अहिले नौ बजे बस्ने गरी वार्ता स्थगित भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.