कास्की कारागारमा ८५ जना कैदीबन्दी फर्किए

डिसी नेपाल
२७ भदौ २०८२ १९:५१
44
Shares

गण्डकी। जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये आज साँझसम्ममा ८५ जना कारागार फर्किएका छन्।

कारागार कार्यालयका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरका अनुसार कैदीबन्दी फर्कने क्रम जारी छ। ‘कारागार विभाग र जिल्ला प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई काराबार फर्कन आह्वान गरेको छ’, उनले भने, ‘हामीले आफन्तमार्फत कैदीबन्दीलाई सम्पर्क गरेर तत्काल कारागार फर्कन भनेका छौँ।’

जेनजी प्रदर्शनकारीको आन्दोलन उग्र बन्दै गएपछि गत मंगलबार राति कारागारबाट कैदीबन्दी फरार भएका थिए। प्रदर्शनकारीले कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए।

कास्की कारागारबाट भागेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले पर्वत र बागलुङको सीमा क्षेत्र मालढुङ्गाबाट बिहीबार नियन्त्रणमा लिएको थियो। भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिन प्रहरी सक्रिय बनेको छ। कास्की, म्याग्दीलगायतका कारागारबाट कैदीबन्दी भागेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *