जापानिज विद्यार्थी टोली नेपालमा, नेपाली विद्यार्थीसँग ‘मेरो साथी’ अभियानमा व्यस्त

डिसी नेपाल
२२ भदौ २०७६ १५:२१

काठमाडौँ । एशिया एसोशिएसन अफ एजुकेशन एण्ड एक्सचेञ्ज (एएईई) ले नेपालमा सञ्चालन गर्दै आएको कार्यक्रक ‘मेरो साथी’को १२ औं संस्करण शुरु भएको छ। विगत पाँच वर्षदेखि संचालन हुँदै आएको यस कार्यक्रममा नेपाल र जापानका विद्यार्थीहरू सहभागी हुन्छन्।

छनोटमा परेका १० जना जापनिज युनिभर्सिटीका विद्यार्थी अभियानका लागि नेपाल आउने गर्छन्। नेपालबाट पनि त्यही संख्यामा विद्यार्थी छनोट गरिन्छ। कार्यक्रममा छनोट गरिएका विद्यार्थीहरूलाई नेपालका ग्रामीण भेगमा भ्रमण गराएर त्यहाँको कला संस्कृतिसँग परिचित गराइन्छ।

एएईईका प्रोग्राम कोर्डिनेटर क्षितिज भट्टराईले यो कार्यक्रमबाट नेपाली र जापानिज विद्यार्थीहरुबीच सिकाइ र अनुभव आदानप्रदान हुनुका साथै नेपाल र जापानबीचको सम्बन्धमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गरे। यो कार्यक्रम कुनै दातृ निकायको सहयोगमा नभई स्वयं विद्यार्थीहरूले नै  खर्च जुटाएर अभियान चल्दै आएको भट्टराईको भनाई छ।

यस पटकको यो १२ औं संस्करणमा २ हप्तासम्म जापानिज विद्यार्थी र प्राध्यापकहरूको टोली नेपालमा रहनेछ। उनीहरूले पाल्पा, पोखरा र नुवाकोटमा भ्रमण गरेर नेपाली विद्यार्थीहरूसँग सहकार्यमा विभिन्न सिकाइ अभ्यास तथा अभियानहरूमा संलग्न रहनेछन्। कार्यक्रम पाल्पा, पोखरा र नुवाकोटको ग्रामीण भेगका समुदाय तथा विद्यार्थीको माझमा गरिदैंछ। कार्यक्रममा सहभागी विद्यार्थीले स्कुल तथा गाउँमा एक अर्काको कला, संस्कृती, भेषभुषा तथा रीतिरिवाजको बारेमा जानकारी लिने र विभिन्न गतिविधिहरूमा सहभागी हुनेछन्।

जापानिज टोलीले छनोट गरेका नेपालका विद्यार्थीको अध्ययनका लागि आर्थिक एवं भौतिक सहयोग गर्न भट्टराईले जानकारी दिए।

एएईईले विभिन्न चरणहरूमा सञ्चालन गर्दै आएको यो कार्यक्रमले दुई देशबीचका विद्यार्थी तथा जनस्तरको सम्बन्ध पनि थप मैत्रीपूर्ण हुँदै आएको जापानको टोकियो केइजाइ युनिभर्सिटीका प्राध्यापक अकिनोरी सेकीले बताए। उनका अनुसार नेपालस्थित जापानिज दूतावास र दातृ संस्था जाइकाको समेत सहभागितामा यो अभियानलाई थप विस्तारित गरिनेछ।

जापानिज विद्यार्थी तर्फकी अगुवा अशुहा इसिनोडाले नेपालको भ्रमण र यहाँका विद्यार्थीहरूसँगको सहकार्यले निकै लाभदायी सिकाइ भएको बताइन्। उनले आगामी वर्षहरूमा नेपाली विद्यार्थी र आफूहरूबीचको सम्बन्ध सेतु अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *