वडाबाटै सेवा प्रदान गर्न मुख्यमन्त्री कँडेलको आग्रह

डिसी नेपाल
७ असोज २०८२ २२:४२
24
Shares

काँक्रेविहार (सुर्खेत)। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ‘जेनजी’ प्रदर्शनपछि आगजनी गरिएका वीरेन्द्रनगर नगरपालिकाका वडाअध्यक्षहरूसँग छलफल गरेका छन्।

प्रदर्शनका क्रममा नगरपालिकाका १२ वडा कार्यालयमा आगजनी र तोडफोड गरिएपछि ती वडाले हाल जिल्ला समन्वय समितिको हलबाट सेवा दिइरहेका छन्। मुख्यमन्त्री कँडेल आज जिल्ला समन्वय समितिको हलमै पुगेर सेवाग्राहीसहित वडा अध्यक्षसँग छलफल गरे। यहाँबाट असोज ५ गतेदेखि एकीकृत सेवा सञ्चालन भइरहेको छ।

मुख्यमन्त्री कँडेलले अवस्था सामान्य बन्दै गएकाले एक थान कम्प्युटर राखेर जलेकै भवनबाट भए पनि सेवा प्रवाह गर्न सुझाव दिए। उनले भने, ‘भौतिक संरचना नोक्सान भए पनि जति बचेको छ, त्यहीबाट सेवा प्रवाह गर्दा राम्रो सन्देश जान्छ। सबै वडाका कार्यालय एकै ठाउँमा राख्दा नागरिकलाई सेवा प्राप्त गर्न झन्झटिलो हुन्छ। त्यसैले जतिसक्दो छिट्टै वडामै फर्केर सेवा दिनुहोस्।’

प्रदर्शनका क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा व्यापक तोडफोड र आगजनी भएको थियो। नगरपालिकाको भवन, नक्सा शाखा, पूर्वाधार शाखालगायत महत्त्वपूर्ण इकाइमा क्षति पुगेको छ। यहाँका सात वटा वडा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

वडा नं २, ३, ४, ५, ६, १० र ११ का कार्यालय पूर्णरूपमा ध्वस्त भएका छन् भने वडा नं १, ७, ८, ९ र १२ मा आंशिक क्षति पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *