कञ्चनपुरमा विपद्जन्य घटनाबाट हालसम्म जनधनको ठूलो क्षति

डिसी नेपाल
१७ असोज २०८२ २२:१३
10.5k
Shares

कञ्चनपुर। कञ्चनपुरमा चालु आर्थिक वर्षको हालसम्म विभिन्न विपद्जन्य घटनाबाट जनधनमा ठूलो क्षति पुगेको छ। आगलागी, करेन्ट, सर्पदंश र जंगली जनावरको आक्रमण तथा बाढीजन्य विपद्ले जिल्लावासीलाई ठूलो मार परेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आगलागीबाट हालसम्म तीन घर पूर्ण रूपमा र पाँच घर आंशिक रूपमा जलेका छन्। घरभित्रका बहुमूल्य सामान, महत्त्वपूर्ण कागजात र भण्डारण गरिएको अन्न जलेर नष्ट हुँदा करिब रु २२ लाख ३२ हजार बराबरको क्षति भएको छ। सो क्रममा एक चौपायाको मृत्यु र १२ चौपाया घाइते भएका छन्।

त्यस्तै, करेन्ट लागेर तीन जनाको मृत्यु, पाँच जना घाइते र एउटा भैँसीको मृत्यु भएको छ । सर्पदंशका कारण एक जनाको ज्यान गइसकेको छभने ३१ जना घाइते भएका छन्। जंगली जनावरको आक्रमणबाट तीन जना घाइते भएका छन्। तीमध्ये दुई जना बाघको आक्रमण र एक जना हात्तीको आक्रमणमा परेका हुन्।

यसैगरी १० चौपाया मारिएका, एक चौपाया घाइते भएका र २० भन्दा बढी घर आंशिक क्षतिग्रस्त भएका छन्। यसरी जनावर आक्रमणबाट मात्र करिब रु १० लाख १० हजार बराबरको क्षति भएको छ।

यसैगरी नदीमा डुबेर दुई जनाको मृत्यु, तीन जना बेपत्ता र एक चौपायाको मृत्यु भएको छ। बाढीबाट चार घर पूर्ण क्षति र ६३ घरमा पानी पसेर सामान्य क्षति पुगेको छ। यसरी वर्षाजन्य विपद्ले करिब रु चार लाख ४५ हजार बराबरको क्षति पुर्‍याएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *