दक्षिणी चीनमा म्याटमो आँधीको प्रहार, लाखौँ नागरिकलाई सुरक्षित स्थानमा सारियो

डिसी नेपाल
१९ असोज २०८२ १८:४८
56
Shares

बेइजिङ। शक्तिशाली टाइफुन म्याटमोले आइतबार चीनको दक्षिणी तटमा प्रहार गरेपछि लाखौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारी मिडियाका अनुसार यस आँधीले तटीय प्रदेशहरूमा व्यापक असर पारेको छ।

राज्य प्रसारणकर्ता सिसिटिभीका अनुसार आँधीले गुआङ्गडोङ प्रान्तमा दिउँसो २ः५० बजे (०६५० जिएमटी) अवतरण गरेको थियो । राष्ट्रिय मौसम विज्ञान केन्द्रले हावाको गति प्रतिघण्टा १५० किलोमिटर (९३ माइल) भन्दा बढी रेकर्ड गरेको जनाएको छ।

आँधी नजिकिँदै जाँदा अधिकारीहरूले हाइनान टापुका करिब एक लाख ७० हजार र गुआङ्गडोङ प्रान्तका एक लाख ५० हजारभन्दा बढी नागरिकलाई घरबाट बाहिर निकालेर सुरक्षित स्थानमा सारिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

हाइको, वेन्चाङ, झान्जियाङ र माओमिङजस्ता तटीय सहरहरूमा सार्वजनिक यातायात, निर्माण कार्य र व्यवसायहरू बन्द गरिएका छन्। त्यस्तै, गुआङ्सी क्षेत्रको दक्षिणमा पर्ने बेइहाई सहरले पनि आइतबार काम, विद्यालय र यातायात सेवा स्थगित गरेको छ।

सिसिटिभीका अनुसार आँधीका कारण माओमिङको बन्दरगाहमा समुद्रको सतह बढेको र बाढीको ‘गम्भीर जोखिम’ उत्पन्न भएको छ। मौसम विभागले अवतरणपछि आँधीको तीव्रता बिस्तारै घट्ने अनुमान गरे पनि सोमबारसम्म हाइनान, गुआङ्गडोङ र गुआङ्सीका केही भागमा तीव्र वर्षा र बलियो हावाको चेतावनी जारी गरिएको छ।

जलवायु विज्ञहरूका अनुसार चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक मुलुक भएकाले जलवायु परिवर्तनका कारण त्यहाँ चरम मौसमका घटना तीव्र र बारम्बार हुन थालेका छन्। तर चीन अहिले नवीकरणीय ऊर्जामा विश्वको अग्रणी देश बनेको छ र सन् २०६० सम्ममा कार्बन तटस्थता हासिल गर्ने लक्ष्य राखेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *