आगलागी नियन्त्रणसम्बन्धी डेमो प्रदर्शन
मुगु । डिभिजन वन कार्यालय मुगुको आयोजनामा आगलागी नियन्त्रण र सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिका लागि विशेष डेमो प्रदर्शन कार्यक्रम सम्पन्न गरिएको छ।
मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी जंगलमा आगलागी हुने जोखिम बढ्दै गएको र जंगल वा बस्तीमा आकस्मिक रूपमा आगो लागेपछि अपनाउनुपर्ने तत्कालीन उपाय, प्रयोग गर्न सकिने सामग्री, र सुरक्षाका सावधानीबारे विस्तृत जानकारी दिइएको हो।
सशस्त्र प्रहरी बल गुल्म नम्बर ४५ गुल्म मुगुको टोलीले ग्यासबाट लाग्ने आगो नियन्त्रण गर्ने व्यावहारिक अभ्यास देखाएको थियो। टोलीले सिलिन्डरमा आगो लागेपछि तुरुन्तै ग्यासको भल्भ बन्द गर्ने, फायर ब्ल्यांकेट वा कपडा प्रयोग गर्ने, हातको औँला प्रयोग गर्ने व्यवहारिक उपायहरू प्रदर्शन गरेका थिए। त्यसैगरी, गमगाढ विद्युत् वितरण केन्द्रका प्राविधिकहरूले विद्युत् सर्ट भएर लाग्ने आगो नियन्त्रणका उपाय प्रस्तुत गर्दै मुख्य स्विच बन्द गर्ने, सर्टको कारण पत्ता लगाउने र बिजुली उपकरण प्रयोग गर्दा सावधानी अपनाउनुपर्नेबारे जानकारी गराए।
कार्यक्रममा डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख बसन्ती बुढाले विगत केही वर्षयता मुगुमा बारम्बार हुने जङ्गल डढेलोका कारण वन स्रोत, वन्यजन्तु र मानवीय जीवनमा परेको क्षतिबारे जानकारी दिँदै आगलागी नियन्त्रण सबैको साझा जिम्मेवारी भएको बताइन्।
उनका अनुसार यस्तो जनचेतनामूलक डेमो प्रदर्शनले गाउँघरका बासिन्दामा सचेतना फैलाउने र आपत्कालीन अवस्थामा तुरुन्त प्रतिक्रिया गर्न सहजता पुर्याउने अपेक्षा गरिएको छ। छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले मानवीय लापरवाहीकै कारण धेरै आगलागी हुने भएकाले अब आगो लगाउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने बताए।
उनले आगलागी नियन्त्रणमा सबै निकायको सक्रिय सहयोग आवश्यक रहेको पनि उल्लेख गरे। आगलागी सम्बन्धि सूचना दिनेलाई प्रोत्साहन स्वरुप पुरस्कार दिईने नगर प्रमुख भामले बताए।
कार्यक्रममा नगर उप–प्रमुख ऐश्वर्य मल्ल, प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, सुरक्षा निकायका प्रमुखहरू, स्थानीय बासिन्दा, तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसैबीच जिल्ला प्रहरी कार्यलय मुगुले पनि आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ।
तीन महिनामा जिल्ला प्रहरी कार्यालय मुगुले गरेका क्रियाकलापका बारेमा नागरिकलाई जानकारी दिने उदेश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।







डिसी नेपाल








Facebook Comment